arrow

काठमाडौँका सडक बालबालिकामध्ये आधा जनजाति मात्रै

logo
जीवन भण्डारी,
प्रकाशित २०७३ जेठ २३ आइतबार
Kathmandu_Avion_01.JPG.jpeg
काठमाडौँ। सडकबाट उद्धार गरिएका सडक बालबालिकामध्ये आधा बालबालिका आदिवासी, जनजाति समुदायका भएको पाइएको छ। 
 
महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयअन्तर्गतको केन्द्रीय बालकल्याण समितिले गत वैशाख २७ गते देखि अहिलेसम्म गरेको उद्धारका क्रममा सबैभन्दा धेरै आदिवासी, जनजाति समुदायका बालबालिका भेटिएका हुन्। 
 
सडक बालबालिका उद्धार टोलीद्वारा स्थलगत रुपमा अहिलेसम्म ११५ जनाको उद्धार गरिएको बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले जानकारी दिए। उहाँले उनीहरुमध्ये ४८.४ प्रतिशत अर्थात् ९१ जना बालबालिका आदिवासी, जनजाति समुदायको भएको बताए। 
 
सडकमा आदिवासी जनजाति समुदायका बालबालिका धेरै भेटिनुको मुख्य कारण गरिबी र अशिक्षा नै मुख्य रहेको बताउनुहुन्छ केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्ली गिरी । उनले गरिबी र अशिक्षाकै कारण बालबालिकाले घरमा उपयुक्त माया नपाएपछि घर छाडेर हिँड्ने गरेको आफूहरुले अहिलेसम्मको अध्ययनबाट निष्कर्ष निकालेको बताए। 
 
बालबालिकाका लागि कार्यरत गैरसरकारी संस्थाको महासङ्घका अध्यक्ष भानुभक्त ढकालले भने काठमाडौँ उपत्यका र यस वरिपरि आदिवासी जनजाति समुदायको बस्ती नै बढी भएकाले सडक बालबालिकाका रुपमा उनीहरुका बालबालिका बढी भएको हुनसक्ने बताए । आदिवासी, जनजाति समुदायमा मादक पदार्थ धेरै खाने भएकाले घर झगडा बढी भई बाबुआमा छुटिृने र अर्को विवाह गर्ने कारणले यस्तो भएको हुनसक्ने ढकालको अनुमान छ। 
 
आदिवासी, जनजाति पछि बाहुन, क्षेत्री समुदायका बालबालिका सडकबाट धेरै उद्धार गरिएको छ । उहाँका अनुसार ५५ जना अर्थात् २९.३ प्रतिशत बालबालिका बाहुन, क्षेत्री समुदायका भेटिएका छन्। आदिवासी, जनजाति समुदायको तुलनामा बाहुन, क्षेत्री समुदायको घरपरिवार बढी शिक्षित र धनी हुने भएकाले उनीहरुको सङ्ख्या कम भएको हुनसक्ने उहाँहरुको बुझाइ छ। 
 
बालअधिकारकर्मी इन्दु तुलाधरलाई समानता नहुनु र अवसरको पहुँच नहुनु नै आदिवासी जनजाति सडक बालबालिका धेरै हुनुको मुख्य कारण हो भन्ने लागेको छ । “समानताको सूचकाङ्कमा उनीहरु पछाडि छन्, उनीहरुमा असमानता, गरिबी, अशिक्षा छ भने विभिन्न सेवा, सुविधा, सूचना र अवसरबाट समेत उनीहरु टाढा छन्”– उनले भने। उनीहरुको चेतनास्तर बढाउनका लागि गरिने प्रयासको तरिका र भाषाशैली पनि आदिवासी जनजातिमैत्री नभएको उहाँको अनुभव छ। 
 
नेपालमा प्रजातन्त्र पुनःस्थापना भएपछि मात्रै बालअधिकारका क्षेत्रमा गैरसरकारी क्षेत्रबाट प्रयास भएको पाइन्छ । सडक बालबालिकाका क्षेत्रमा मात्रै काम गर्न भन्दै काठमाडौँ उपत्यकामा खुलेका संस्थाको सङ्ख्या अहिले झन्डै एक हजार २०० रहेको सडक बालबालिकाका लागि कार्यरत संस्थाको साझा समूहका पूर्वमहासचिव जिएम श्रेष्ठ बताउनुहुन्छ । उहाँकाअनुसार दर्ता भएका धेरै भए पनि सक्रिय भएर लाग्ने भने ४० जति छन्। 
 
सडक बालबालिकाका क्षेत्रमा काम गर्ने संस्थाको सङ्ख्या पर्याप्त हुँदाहँुदै र काम गर्न थालेको २५ वर्ष नाघिसक्दा पनि सडक बालकालिका समस्याकै रुपमा रहेका छन् । अहिले उद्धार भएकासहित काठमाडौँ उपत्यकामा मात्रै झन्डै ३५० को हाराहारीमा सडकमै देखिने बालबालिका रहेको विभिन्न अध्ययनले देखाएको उनले बताए। 
 
केन्द्रीय बालकल्याण समितिले थालेको सडक बालबालिका उद्धार तथा संरक्षण कार्यक्रममार्फत चाँडै नै काठमाडौँलाई सडक बालबालिकामुक्त बनाइने समितिका अध्यक्ष गिरीको भनाइ छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ