arrow

ठूला तपस्वी, महात्मालाई नमिलेको मुक्ति यसरी पाए कंसले

कंसलाई बसुदेवको अर्ती (भाग दुई)

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७७ मंसिर ११ बिहिबार
shreekrishna-yamuna.jpg

गौरीघाट ।  वसुदेवजीले कंसलाई साम, दान, दण्ड, भेद आदि नीतियुक्त कुराहरूले सम्झाउनु भयो । उहांले भन्नुभयो,' तिमीलाई त उसको अष्टम गर्भको बच्चासंग पो डर हो, किनभने बुद्धिमान मानिसले जसरी भएपनि आफ्नो ज्यान बचाउन खोज्नु नै पर्छ ।' उहांले देवकीको प्राणरक्षार्थ पनि आफ्नो सन्तान दिने बचन दिनुभयो ।

'विधाताको विधानबाट पार पाउन जो कोहीलाई पनि मुश्किल नै पर्छ । कहिले मृत्यु सन्मुख हुन्छ तर पनि टरेर जान्छ, कहिले मृत्यु टाढा भएको भएपनि नजिक आईपुग्छ । यो कसैको हातको कुरा होइन । श्री शिवपुरीबाबा आज्ञा हुन्थ्यो', 'मानिसको सबैभन्दा नजिकको मित्र नै काल हो, त्यसैले मृत्यु जहिले पनि सन्मुख हुन्छ भनेर स्वधर्म पालना गरेर परमात्माको दर्शन पाउने अठोट लिनुपर्छ ।'

वसुदेवको कुरा सुनेपछि कंसले देवकीलाई मार्ने कुरा छोडिदिए तर दुवै जनालाई हतकडी लगाएर जेलमा थुने । समय वित्दै गयो । देवकीको गर्भबाट प्रतिवर्ष एक एक सन्तान हुंदै गयो । वसुदेवलाई आफ्नो प्रतिज्ञाबाट तल झर्न पर्ला भन्ने डर थियो । त्यसैले प्रत्येक बच्चा कंसको हातमा दिंदै गए । उनको यो स्थिति देख्दा कंसको मनमा दया आयो । उनी खुशी भएर वसुदेवजीलाई यी वालकहरू लैजानुस् किनभने मलाई त डर भनेको नै देवकीको आठौं गर्भको बच्चा हो । वसुदेवजीले बच्चा त लिए तर कंसको मन आफ्नो वशमा नरहने कुरा उनले बुझिसकेका थिए । 

यत्तिकैमा नारद ऋषि आईपुगे । उनले कंसलाई 'व्रजमा रहने सबै यदुवंशी, स्त्री, ईष्टमित्र आदि सवै देवताको अंश लिएर आएका हुन् । तिम्रो सेवामा लागेका पनि देवताहरू नै हुन् । यिनीहरू रुपमात्र वदलिएर आएका हुन्' भनेर बताए । कंसलाई विश्वास भईहाल्यो । अव देवकीको आठौं गर्भमा विष्णु भगवान्नै प्रकट हुनुहुने विश्वास भयो । देवकी, वसुदेव जेलमा नै राखे । 

श्रीकृष्ण भगवान् गर्भमा प्रवेश गर्नुभएपछि देवकीको मुहार उज्यालो हुंदै गयो । वन्दीगृहमा समेत् त्यो प्रभाले उज्यालो हुंदै गयो । देवकीको मुख कान्ती देखेर कंसलाई पनि प्रभाव पर्न गयो । उसको मनमा भने भगवान् नै गर्भमा प्रवेश गरेको कुरा पक्का हुंदै गयो किनभने अघिल्ला गर्भ रहंदा यस्तो कान्ति उसले अनुभूति गरेको थिएन । अव उनले सोच्न थाले,' देवकीलाई मार्ने हो भने मेरो कीर्ति, लक्ष्मी र आयु यी तीनै यशहरूमा कलंक लाग्न जान्छ ।' यस्तो सद्विचार उसको मनमा उव्जन गयो ।
 
कृष्ण भगवान् गर्भमा प्रवेश गर्नु भएको कारणले नै उनलाई यो सद्विचार उत्पन्न भएको हो । जसको शरीर भित्र भगवान्को वास रहेको छ त्यस पुरुषको दर्शनले नै यस्तो राम्रो विचार आउनु स्वाभाविकै हो तर पनि नी भगवान् प्रति वैरभाव लिएर उनको जन्मको प्रतिक्षा गर्न लागे । उनी खांदा, सुत्दा, हिंड्दा, बस्दा, जहिले पनि श्रीकृष्णको चिन्तन मै लागेर समय विताउंदै गए ।

उनको नजरमा सारा जगतनै कृष्णमय हुन गयो । आखिरमा कृष्णको अवतार भयो । यसरी उसले व्देष भावले नै भएपनि श्रीकृष्णको चिन्तन गर्दा गर्दै उहांको सन्मुखमा, उहांकै हातबाट उनको ज्यान गयो र उनले सारुप्य मुक्ति पाए, जुन ठूला ठूला तपस्वी महात्मालाई मिल्न पनि कठिन छ । (अस्तु)

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् ।) इमेल :aamodita@gmail.com 

यो पनि पढनुस्:



नयाँ