arrow

‘डबल डिग्री’ गरेका बामदेव र सुर्दशनको कालिज फार्म: आत्मनिर्भरको नमूना

logo
प्रकाशित २०७७ पुष ४ शनिबार
kalizfinal.jpg

काठमाडौं । उच्च शिक्षा अर्थात विश्वविद्यालयको पढाइ सकेपछि नेपाली युवाहरु जागिरकै लागि भौतारिन्छन् । नेपालमा जागिर नमिले खाडी अर्थात यूरोप अमेरिका भासिन्छन् । यो नेपालीहरुको नियती र बाध्यता हो । क्याम्पसे जीवनमा राजनीतिमा होमिएका युवाहरुको ठूलो संख्या पनि विदेश पलायन भएको छ । नेपालमा संभावना नदेख्नेहरुले परदेशको भूमि रोजेका छन् ।

तर धादिङका दुई शिक्षित युवाले कालिज पालनमार्फत आत्मनिर्भर बनेर उदाहरणीय बनेका छन् । नीलकण्ठ नगरपालिकाको वडा नम्बर ७ निबुवास्वाँरा हिटीमा उनीहरुले व्यवसायिक कालिज पालन सुरु गरेका हुन ।  

बौद्ध दर्शन र राजनीति शास्त्रमा स्नाकोत्तर(मास्टर डिग्री), कानून विषयमा स्नातक गरेका बामदेव अधिकारी र नेपाली सेनाबाट अवकाश सुर्दशन कोइरालाले सुभारम्भ कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर करिब एक करोडको लगानीमा सुरु गरेको कालिज फार्मले राम्रो आम्दानी दिन थालेको छ ।

डेढ वर्ष अघि दुई सय ५० कालिजबाट व्यवसाय सुरु गरेका उनीहरुले एक वर्षमै कालिजको संख्या बढाएर १५ सय पुर्‍याएका छन् । यो बर्ष एक हजार वटा कालिज उत्पादन गरेर ३५ लाख रुपैंयाँ हात पारेका छन् । कालिजको मासू प्रतिकेजी ३५ सय रुपैंयाँमा विक्री हुनेगर्छ ।

नेपाली सेनाको पेन्सन पकाएर आएका सुर्दशन कोइराला दिनहुँ कालिज फार्ममा ब्यस्त हुन्छन ।काठमाडौंको पद्मकन्या क्याम्पसमा प्रध्यापन गरिरहेका बामदेव अधिकारी भने नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय छन् । जिपी कोइराला फाउन्डेसन धादिङका अध्यक्ष समेत रहेका उनी बचेको समय कालिज फार्ममै विताउने गरेको बताउँछन् ।

अधिकार भन्छन्, ‘विदेश नै जानुपर्ने, जागिरकै लागि भनेर शैक्षिक प्रमाणपत्र बोकेर रोजगारदाताकहाँ धाउनुपर्ने बाध्यताको अन्त्यका लागि कृषि पेशा रोजेका हौं, यो काम रमाइलो पनि रहेछ,’ उनले भने, ‘अहिले आम मानिसले हामीलाई हेर्ने देष्टिकोण नै परिवर्तन गरेका छन् ।’ उनले अनुभव सुनाउँदै भने, ‘पहिले बेरोजगार भएर भौतारिंदा र अहिले आत्म स्वाभिमान भएर बाँच्दा मजा नै बेग्लै हुने रहेछ 
 ।’

उनीहरुले दश रोपनी क्षेत्रफलको जग्गालाई दायाँबायाँ र आकासतर्फसमेत तारजालीले ढाकेर जंगलमै कालिज पालन गरेका छन् । पालिएको कालिज भागेर नजिकको वनमा जाने र जंगली कालिजसँग मिसिएर हराउने हुँदा चारैतिर तारजालीले घेरिएको हो ।

सरकारले कालिज पालनलाई व्यवसायिक मात्र नभएर कृषि पर्यटनकै रुपमा लिएपनि यस व्यवसायलाई गर्नुपर्ने प्रोत्साहन भने गर्न नसकेको उनीहरुको गुनासो छ । तर उनीहरुले कालिजको संख्या थप्दै पेशालाई अझै बृहत रुपमा विस्तार गरिरहेको सुनाउँछन् ।

कालिजको बजार सडक छेउका होटल, डाँडाकाँडामा खुलेका भब्य रिर्सोर्ट, काठमाडौंमा होटल तथा देशभरका स्टार होटलहरु हुन । कालिज सुत्केरी महिला र युरिक एसिड भएका बिरामीले खानका लागि राम्रो मानिन्छ । कालिज पालेको करिब छ महिनापछि मासुको लागि बिक्री वितरण गर्न योग्य ठहरिन्छ ।

वन जंगलमा कालिज हुने भएपनि यसलाई मारेर खान भने कानुनले प्रतिबन्ध लगाएको छ । कानुनले कालिज मारेको पाइएमा वन्यजन्तु चोरी शिकारी ऐनअनुसार कारबाहीको व्यवस्था गरिएको छ । वन ऐनले अहिले कालिज पालनको लागि छुट दिइएपनि जिउँदो कालिज बिक्री वितरण गर्न भने अझै रोक लगाएको छ ।

स्वादिलो र प्रोटिनयुक्त हुने कालिजको मासुको माग ब्यापक हुने गरेको छ । देशका विभिन्न स्थानमा कालिज पालन ब्यावसाय क्रमश फस्टाउँदै गएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ