- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
‘यति भनेर उनी मौन भइन्। मैले पनि केही भनिनँ। हामीसंग एक अर्कालाई भन्न अब केही बाँकी थिएन । एक अर्कासँग भएका सम्पूर्ण ज्ञान, अनुभव र तिक्तता साटिसकेका थियौँ । म जारालाई प्रतिवाद गर्न नसक्ने भएँ । उनको तर्क गर्न सक्ने क्षमताको अगाडि मैले आत्मसमर्पण गरिसकेको थिएँ । समर्पण गर्नु मेरो स्वभाव थिएन । खास गरी आफ्नै श्रीमतीसंग । फेरि पनि गरें ।
त्यसका पछाडि कारण थियो । म ‘एक्लो’ हुन चाहन्थे । जारा र आयशाबाट एक्लै । कोलाहल र अशान्तिबाट एक्लै । दिनानुदिनको जिम्मेवारीबाट एक्लै । जाराको दिनहुँको कचकचबाट एक्लै । सबै कुराबाट दिक्क लागिसकेको थियो । केही कुराको खोजीमा थिएँ । यस्तो ठाउँको खोजी, जहाँ ‘उन्मादपूर्ण’ तरीकाले बाँच्न सकूँ । जाराको प्रस्तावमा मैले अवसर देखें । आफ्नो आत्म–अन्वेषणको अवसर ।
सोचेँ, ‘मानिसले मेरो बारेमा थाहा पाए के भन्ने हुन् ?’
भन्लान्, कस्तो पागल हो यो ? कहिले सम्पूर्ण परिवारसँगै बस्ने लालसा राख्छ । कहिले त्यही परिवारबाट एकान्त खोज्छ ! कहिले भीड र समाज रोज्छ । कहिले भने निर्वासन ।
मेरो द्वैधताका बारेमा म बाहेक अरू कोही जानकार भएका भए निकै आश्चर्यचकित पर्थे होलान् ! एकछिनमै पुनः आफैँलाई प्रश्न गरेँ, तर आश्चर्य पर्नु पर्ने के कारण छ ? के हामी सबै द्वैधतामा बाँच्दैनौँ ?’
‘‘द्वैधता हामी सबैको अभिन्न अंग हो । शायद मानिसको चारु चरित्र । मानिसले चाहेर द्वैधतालाई अँगालेको हुँदैन । यो जीवनसँगै जन्मन्छ । मृत्युसँगै सकिन्छ । फरक यति हो– कसैले यसलाई बोध गर्छ । कसैले गर्दैन ।”
यहि ‘बोध’ मेरो जीवनको मूल समस्या भएको थियो । ‘बोध’ले आफैसँग बाँच्नुको अर्थ खोज्न बाध्य बनाएको थियो । अस्तित्वको प्रश्नले म भित्र कहिलेदेखि जरो गाड्यो, मलाई पत्तो छैन । तर यस प्रश्नले मेरो व्यक्तित्वलाई धेरै हदसम्म परिष्कृत गरेको थियो । फेरि पनि जीवनका दिनानुदिनका कुराहरूमा अल्झेर यो प्रश्नलाई मैले कतै आफैँभित्र दमन गरिदिएको थिएँ ।
आधुनिक विश्वमा यस्ता प्रश्नहरूमा ध्यान दिने फुर्सद कसैलाई हुँदैन पनि । किनभने बाँच्नुको अर्थको खोजीमा लागेको मानिसलाई वर्तमान समाजले ‘लक्ष्यहीन’ घोषित गर्छ । अर्थात् उद्देश्यहीन । आवारा । लफंगा । त्यो पनि यस्तो समयमा जब समुदाय, समाज र राष्ट्रहरू अन्धाधुन्द एक लक्ष्यको पछि लागेका छन्– ‘शक्ति सञ्चय’ । म एक्लै लक्ष्यहीन भएर कसरी बाँच्न सक्थे ?
मान्छे भन्छन्– ‘आजको युग ‘व्यक्तिवादी’ युग हो । व्यक्तिलाई आफूखुशी जिउने र बाँच्ने अधिकार छ । तर यो सम्पूर्ण सत्य होइन । किनभने मानिसलाई विकल्पहरूको खोजीमा लाग्ने छूट छैन । उपलब्ध गराइएका विकल्पहरू मध्ये रोज्न छूट मात्र छ । पिँजडामा कैद गरिएको सुगा जस्तो । उड्न त सक्छ । तर पिँजडाभित्र । आखिर पिँजडाको सुगा बिस्तारै कुँजिने त हो नि।’
‘के आज मानव सभ्यता उड्नै नसक्ने गरी कुँजिएको छैन ? मानवता आज स्वतन्त्रता खोज्दै छ । वर्तमान युगका ती विचारधाराहरूसंग जसले स्वतन्त्रताको नाममा मानवताको स्वप्न हरण गरे । तर कस्तो विवश र लाचार छ– वर्तमान सभ्यता ! ऊ आफैंले बनाएको मापदण्डलाई भेद्न सक्दैन । आवश्यक ज्ञान र चेतनाको अभावमा । त्यो चेतना अब नयाँ युगले जन्माउँछ । त्यो जन्मने बेलाको प्रसव वेदनामा समयले फेरि बलि माग्ने छ । सामान्य मनुष्यको । तिनको स्वप्नको। फेरि धर्ती रक्तरंजित हुनेछिन् । शताब्दी पश्चात् फेरि यो प्रक्रिया दोहोरिने छ । निरन्तरको प्रक्रिया । मानिसको जीवन । सभ्यताको जीवन । क्रान्ति । परिवर्तन। लाश । रगत। आहुति। निरन्तर... निरन्तर... । पृथ्वी एक वधशाला हो । मनुष्य बलिको निम्ति तयार पारिएको नैवेद्य । यहाँ जताततै कालको ताण्डव मात्र देखिन्छ ... ।’
(शर्माको हालै प्रकाशित कृती 'प्रवास' बाट लिइएको अंश)