सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री सरकारप्रति आपत्ति नरहेको तर स्थानीय निकायको निर्वाचन घोषणामा हतारो गरेको बताएका छन् । कार्यकर्ता प्रशिक्षणका लागि सुर्खेत पुगेका दाहालले प्रेस सेन्टर नेपाल सुर्खेतले वीरेन्द्रनगरमा गरेको पत्रकार भेटघाटमा केपी ओलीकै नेतृत्वमा राष्ट्रिय सरकार बनेपनि आफुलाई कुनै आपत्ति नहुने बताए । यद्यपि, सरकारले केही काममा हतारो गरेको उनको गुनासो छ ।
दाहालले भने, ‘सरकारले निर्वाचन मंसिरमा गर्ने भनको छ तर अलि राम्रो तयारी नगरीकन निर्वाचनको घोषणा गरेको हामीलाई लाइराछ ।’ दाहाले निर्वाचन गर्नका लागि राष्ट्रिय सहमति आवश्यक पर्ने बताउँदै भने, ‘पहिलो कुरा त निर्वाचन गर्नको लागि राष्ट्रिय सहमति चाहिन्छ ।’ राष्ट्रिय सहमति नभई हुँदैन ।
सरकार परिवर्तनको चर्चा परिचर्चा छ भन्ने संचारकर्मीको जिज्ञासाको जवाफमा दाहाले भने, ‘हाम्रो अहिले इन्ट्रेस्ट भनेको एउटा सरकार गिराउने र अर्को बनाउने तिर होइन राष्ट्रिय समझदारी बनाउने राष्ट्रिय सहमति बनाउने र त्यो अनुसार जाने कुरामा छ ।’ हाँस्दै,, यो भद्र सहमतिको कुरा यति धेरै चर्चामा आयो, यो चर्चा परिचर्चा हुनु पर्ने कुरा होइन क्या ! त्यो चाँही टाइम आएपछि भद्रसहमति हुनेमा को ‘भद्र रहन्छन्’ को ‘भद्र रहँदैनन्’ त्यो नेपाली जनताले पनि देख्ने कुरा हो । दाहाल यसो भन्दै गर्दा नारायणकाजी श्रेष्ठ भने चिउँडोमा हात बटार्दै सोच मग्न थिए ।
दाहालले भद्र सहमतिका लाइन टुंग्याउँदै भने, ‘मैले के भनेको छु भने, म चैँ त भद्र छँदैछु, प्रधानमन्त्री केपी ओली पनि भद्रै हुनु हुन्छ भन्ने ठान्या छुँ ।’ आन्दोलनरत संघीय गठबन्धको समस्याबारे बोल्दै दाहालले माओवादीको ध्यान संविधान कार्यान्वयन, मधेस समस्याको समाधान र विकास निर्माणमा केन्द्रित रहेको समेत सुनाए ।