arrow

आङबोलाई हटाएपछि तीन मन्त्रीको राजीनामा, प्रदेश १ सरकार संकटमा 

अविश्वासको प्रस्ताव दर्ता हुँदै

logo
विवेक मिश्र,
प्रकाशित २०७७ पुष १२ आइतबार
133471750_225785492446583_9.jpg

विराटनगर । प्रदेश नम्बर १ सरकार संकटमा परेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहका मुख्यमन्त्री शेरधन राईले शनिबार प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोलाई अविश्वासको प्रस्ताव आउने झ्वाँकमा हटाएपछि सरकार संकटमा आएको हो । 

राईले आङ्बोलाई बर्खास्त गरेको भोलिपल्ट तीन जना प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टीका मन्त्रीले राजीनामा दिएपछि राई नेतृत्वको सरकार संकटमा परेको हो । आइतबार बिहान ८ बजे सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय कुमार विश्वासले राजीनामा दिएका हुन् । 

जसरी केन्द्रमा प्रचण्ड–नेपाल समूहबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निश्चित भएपछि ओलीले संसद विघटन गरेका थिए त्यसरी नै प्रदेश १ मा ओली पक्षका मुख्यमन्त्री राईविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको सुइँको पाएपछि त्यही झ्वाँकमा राईले शनिबार अर्थमन्त्री आङ्बोलाई हटाएका थिए । 

आङ्बो यसअघि बादल समूहमा भए पनि प्रचण्ड–नेपाल पक्षमा पुगेका थिए । आङ्बोलाई हटाएपछि अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि नै तीन मन्त्रीले आइतबार सामूहिक राजीनामा दिएका हुन् । 

योसँगै मुख्यमन्त्री राईका दिनगन्ती शुरु भएका छन् । 

कुल ९३ सीट रहेको प्रदेश १ मा नेकपाका ६७ सांसद रहेका छन् । तर पार्टी विभाजनपछि ओली समूह पक्षका मात्रै २२ जना सांसद भएका छन् । प्रचण्ड–माधव पक्षमा ४० भन्दा बढी निश्चित रहेको र केही भने अझै पनि कता जाने भन्ने दोधारमा रहेका छन् । 

मन्त्री पदबाट बर्खास्त भएका आङबोले आफ्ना पक्षका मन्त्रीहरुले आइतबार सामूहिक राजीनामा दिने निर्णय गरेको तर मुख्यमन्त्रीले आफैं पदबाट हटाएर अविश्वासको प्रस्ताव दर्ता गराउन मार्ग प्रशस्त गरिदिएको बताए । 

अविश्वास प्रस्ताव दर्ता गराउन प्रचण्ड–नेपाल पक्षधर प्रदेशसभा सदस्यहरु विराटनगरमा भेला हुन थालेका छन् । आङबोले आइतबार मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने तयारी भइसकेको बताए ।

प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये नेकपाका ६७, नेपाली कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना छन् । नेकपाका ६७ सदस्यमध्ये पूर्व एमालेका ५१ र पूर्वमाओवादीका १६ जना छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ