arrow

शिवपुरी पर्वतः योगी महात्माहरुको तपोभूमी

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७७ पुष १६ बिहिबार
shivapuris.JPG

गौरीघाट । श्री शिवपुरी पर्वत काठमाडौंको उत्तरतर्फ समुद्र सतहबाट लगभग २७०० मिटरको उचाईमा रहेको छ । यस पर्वतमा बेला मौकामा साधु महात्माहरू तपस्याका लागि आउनु हुन्छ । दक्षिण भारतको केरला प्रान्तमा सन् १८२६ मा भौतिक देह लिएर १०० वर्षको उमेरमा नेपाल प्रवेश गर्नुभएका श्री गोविन्दानन्द भारती यसै स्थानमा कुटी बनाएर बस्नुभएको थियो । त्यसपछि नै उहांलाई स्थानीय बासिन्दाहरुले शिवपुरीबाबाको नामबाट बोलाउन थाले र विश्वभर उहांलाई यसै नामले चिनेका छन् । श्रीबाबाको शुरुको बसाईपछि नेपालकालागि तत्कालिन वेलायती रेजिडेण्ट (राजदूत)विल्किन्सन आफ्नो कार्यकाल रहुञ्जेल प्रत्येक आइतवार घोडामा चढेर भेट गर्न जान्थे । यस्तो तपस्थलीमा एक विदेशी पुरुष महात्माको सान्निध्यमा रहन मन पराउंथे भने त्यही ठाउंमा काठमाडौंका ठूला बडा घरानाका मानिसहरू हातमा बन्दुक लिएर, आफ्ना आठपहरिया तथा अनुचरहरूका साथमा शिकार खेल्न जाने गर्दथे भनी श्रीबाबाका सेवक माधव बाजे भन्नुहुन्थ्यो ।

यस पंक्तिकारले पनि २०२१ सालको जेठ महिनामा करीव ३ हप्ता त्यहां गएर पिता माधव बाजेका साथ बस्ने सौभाग्य पाएको थियो । त्यस वखतमा श्रीबाबाले तपस्या गर्नुभएको कुटीको भग्नावशेषमा स्याउला, पातहरूले छाइएको छानामुनि रात बिताइएको थियो । स्थानीय गाउँका वासिन्दाहरू आफ्नो गाई, भैंसी तथा भेंडाहरू पानी नजिकै भएको फराकिलो ठाउँमा राख्ने गर्दथे । दिन निक्लेपछि पवित्र बनस्पतिमा चर्नजाने र साँझ गोठ फर्केर आएका गाई भैंसीको दूध अतिनै स्वादिलो र वाक्लो हुन्थ्यो । शिवपुरीबाबा त्यहां बस्नुहुंदा गलेश्वरबाबा लगायत अन्य महात्माहरु पनि आउनुभएको चर्चा सुनेको थिएं ।

शिवपुरीको चुचुरोबाट त्यस बखतमा दक्षिणतर्फ काठमाडौं उपत्यका तथा उत्तरतर्फ हिमाल, नुवाकोटका केही भाग तथा लिखु उपत्यका राम्रोसंग देख्न सकिन्थ्यो । मध्यान्ह १२ वजेको समयमा काठमाडौंको टुंडिखेलमा पड्काईएको तोपको धुंवा देख्न र आवाज सुन्न सकिन्थ्यो, जुन प्रथा हाल रोकिएको छ ।

हाल निकुञ्जको अधिनमा रहेको त्यो पवित्र स्थल संरक्षण भइरहेको छ । तैपनि चुरोटको खाली बट्टा, कुखराको भुत्ला, चाउचाउ, खैनीका खोल, मादक पदार्थका खाली सिसिहरु देख्दा पवित्र भावना लिएर यात्रागर्नेहरूको मन खिन्न हुनु स्वाभाविकै हुन्छ । यस ठाउँलाई हिन्दू तथा बौद्धधर्माबलम्बीहरू उत्तिकै आस्थाले आ आफ्नो परम्परा अनुसार पूज्ने गर्दछन् ।

यसै पर्वतको दक्षिण पश्चिम भागभा श्री शतरुद्रेश्वर महादेवको ठूलो प्राकृतिक शीला छ जस्मां हामी साना साना शिवलिंगको दर्शनगर्न सक्छौं । त्यहां गोकर्ण, बुढानीलकण्ठ लगायत काठमाडौंबाट समेत श्रद्धालुहरू गएर खासगरी साउन महिनामा रुद्रीगर्ने परम्परा अहिलेसम्म छदैछ ।
शिवपुरीको पूर्वी उत्तरतर्फ वाग्द्वार रहेकोछ । यो एक प्रशिद्ध तीर्थस्थल हो जहांबाट बाग्मती नदी प्रकट भएर काठमाडौं उपत्यकामा रहेको गोकर्णेश्वर महादेव, गुह्येश्वरी शक्तिपीठ तथा श्री पशुपतिनाथको मन्दिरलाई बायां दायां पार्दै वगेकी छिन् ।

प्रत्येक वर्षको चैत मसान्तमा यस क्षेत्रमा जाग्राम बसेर, महादीप बालेर भोलिपल्ट वैशाख संक्रान्तिको दिन वाग्द्वारको स्नानपछि सपनतीर्थ आदि तीर्थ घुम्ने चलन आजसम्म चलिराखेकै छ । यस पर्व मनाउन जांदा भने धेरैजसो यात्रुहरुले मादक पदार्थ प्रयोगगर्दा रहेछन् ।

बाग्मती श्री शिवजीले प्रसन्न भएर हांस्नुहुंदा निस्केको जल हो भन्ने बुढापाकाहरूको विश्वास रहेकोछ । बाग्मतीको जलपान गर्नाले, स्नान गर्नाले मानिसको बुद्धिमा विकास आउने, स्मरण शक्ति बढ्ने आदि कुराहरू प्रति वुढापाकाहरू विश्वास गर्दछन् । श्रीपशुपतिनाथ परिसरमा रहेको वासुकी गुफामा तपस्यारत श्री श्यामचैतन्य बाबा आफ्नो जीवनको झण्डै उत्तराद्र्धसम्म बाग्मतीकै पानी प्रयोग गर्नुहुन्थ्यो ।

वाग्द्वारको मुहान नजिक श्रीनारायणगिरी, रामानन्द नामभएका महात्मा पनि बस्नुभएको थियो । ढुंगाको छानो र ढुंगाकै पर्खालभएको बेग्लाबेग्लै कुटीमा उहाँहरु बस्नुभएको थियो । त्यहां एउटा धर्मशाला पनि रहेछ जसमा जुल्फे नाम गरेका लामा आफ्नो धर्मपत्नी सँगै बस्दथे ।

श्रीनारायणगिरी त्यस ठाउँ छोडेर भारतको उत्तराञ्चलकोे पाण्डुकेश्वरमा करीव ४ वर्षअघि तथा श्रीरामानन्दले करीव ४५ वर्ष अघि आफ्नो देह विसर्जन गर्नुभएको थियो । हाल त्यही क्षेत्रमा श्री टोड्के बाबा, ओम बाबा आदि बस्नुभएकोछ । (क्रमश...)

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् ।) इमेल :aamodita@gmail.com



नयाँ