arrow

नयाँ शक्ति पुरानो सिसीको ‘डेट-एक्सपायर’ औषधी

मार्क्सवाद ‘हार्डकोर’ विज्ञान हो भने चाहिँ यो राजनीतिशास्त्र हुन सक्तैन

logo
धर्मेन्द्र नेम्बाङ,
प्रकाशित २०७३ जेठ ३० आइतबार
Dharmendra_Nembang.jpg.jpeg
वास्तवमा नयाँ शक्तिलाई अत्यन्त नयाँ भनेर प्रचारप्रसार गरिरहेको पाइन्छ । तर म यसलाई पुरानो सिसीमा डेट एक्सपायर औषधी मान्छु । किनभने सम्बन्धितहरुले खालि प्रचार गरे जस्तो यो नयाँ छैन । त्यतातिरको सम्भावना पनि छैन ।
 
बाबुराम भट्टराईको पुरानै उखान
डा. भट्टराई पुराना कुराहरुलाई नयाँ भनेर जबर्जस्ती रट्ने व्यक्ति हुन् । माओवादी हिंसात्मक युद्धका बेला उनले नयाँ शक्ति, नयाँ विचार जस्ता शब्दहरु भनेर नै प्रचार गर्थे । तर उनीहरुले भने जस्तो त्यो विचार नयाँ नभई ज्यादै पुरानो थियो । उनीहरुको साधन, माध्यम, सिद्धान्त, दर्शन सबै पुरानो थियो ।
 
त्यसकारण त्यो फगत प्रचारले काम गर्न सकेन अन्ततः त्यही सिद्ध भयो कि ती कुराहरु पुराना हुन् । त्यसैर उनीहरु शान्ति सम्झौतामा आए ।  जतिबेला बहुदलीय लोकतन्त्रको संसदीय अभ्यासको विरुद्धमा जङ्गल गएका थिए । शहर आउँदा त्यही मूल्यमा आइपुगे ताकि त्यो युद्धयात्राको पुष्टि हुन सकेन ।
 
विश्वव्यापी कतिपय ठाउँमा अभ्यास भैसकेका कतिपय ठाउँमा अभ्यास हुन खोजिरहेका विचार हाम्रो देशको लागि नयाँ हुने कुरा हुँदैन । त्यो विदेशबाट फोटोकपी गरेर ल्याएको मोडेललाई नयाँ भनिएको थियो । अन्ततः त्यही सिद्ध भयो कि युद्धबाट आएको शक्तिहरुले सञ्चालन गरेको राज्यसत्ताले कुनै नयाँ कुरो दिन सकेन, केवल गफको चाङ बाहेक ।
 
त्यसकारण बाबुराम भट्टराईले हालसालै रटिरहेको नयाँ शक्ति भन्ने राष्ट्रिय गान पनि त्यस्तै पुरानो रुट हो । त्यहाँ नयाँको कुनै विशेषता, लक्षण र रुप देखिँदैन । यो केवल मान्छेलाई फसाउने शब्दजाल मात्रै हो ।
 
बाबुराम जो जिवनभर एकदलीय अधिनायकवादी राज्यसत्ता निर्माणको झण्डा उचालेर हिँडेको आज त्यो झण्डा छोड्नसाथ उनलाई नयाँ लाग्न भने सक्छ । तर यो उनको सापेक्षिक नयाँपन मात्रै हो । सिङ्गो नेपाली समाज यो विश्वजनिन परिस्थितिको लागि यो नयाँ हुने कुरो त रहेन ।
 
पुरानै दर्शन
नामको नयाँ शक्तिले दर्शनको कुरा गरिरहेका छन । दर्शनको कुरो गर्नु राम्रो कुरो हो । अझ राम्रो त नयाँ दर्शन निर्माणको कुरा गर्नु । तर यो बाटोमा उनीहरु सर्वथा असफल छन् । किनभने उनीहरुकै लेखअनुसार उनीहरु माक्र्सवादकै छत्रछायाँमा हुर्किन चाहन्छन् । मार्क्सवादकै ऐतिहासिक भौतिकवाद, द्वन्द्वात्मक भौतिकवादलाई अनुसरण, अनुकरण गर्न चाहन्छन् । या त्यही विचारको फोटोकपि बाँड्न चाहन्छन् ।
 
यसरी मार्क्सको दलाल भएर या नेपाललाई मार्क्सवादी औपनिवेशीकरण बनाउने अभियान चलाएर नयाँ दर्शन निर्माण हुन सक्तैन । त्यसमाथि उनीहरुको पाँच ‘स’ हेर्दा नेपालमा विभिन्न पार्टीले बोकेको नारा जस्तो लाग्छ । कतिपय त विभिन्न पार्टीले विभिन्न कालखण्डमा बोकेर पनि छोडेको पुरानो नारा जस्तो लाग्छ । बहुदलीय लोकतन्त्र संसदीय व्यवस्थाको कालखण्डमा कतिपय युरोपेली मुलुकले प्रयोग गरिसकेको जस्तो लाग्छ । यस्तो दर्शनको रटान, बजारबाट ल्याएर आएको सस्तो मोडेलले विकल्प दिन सक्तैन ।
 
हुन त मार्क्सवाद एउटा विज्ञान हो भन्ने उनीहरुको तर्क छ । ठीकै छ मार्क्सवाद विज्ञान त होला । तर कुन विज्ञान हो रसायनिक, भौतिक, या कस्तो विज्ञान हो भन्न सक्नु पर्छ । राजनीतिशास्त्र नै आफैमा विज्ञान मान्नेहरु पनि छन् । ज्योतिषशास्त्र, भविष्यवाणीलाई विज्ञान मान्नेहरु पनि छन् ।  त्यसकारण मार्क्सवाद विज्ञान हो भन्ने उखान टुक्काको म दम देख्तिन ।
 
फेरि मार्क्सवाद ‘हार्डकोर’ विज्ञान हो भने चाहिँ यो राजनीतिशास्त्र हुन सक्तैन । विज्ञानको लिमिटेसन्स, सापेक्षताहरुको आफनै ठाउँ छ । तर साँचो के हो भने माक्र्स, लेनिन, माओको नाउँमा पार्टी खोलेर प्रत्येक दिन नेपाली जनताहरुलाई ती नामहरु रटाइरहनु भनेको चाहिँ यो देशलाई विचारको उपनिवेश बनाउनु नै हो । सम्पूर्ण देशलाई टुहुरा बनाउनु हो । पहिला त उनीहरु आफै टुहुरा कहलिनु या घोषित हुनु हो ।
 
 
बहुलताविरोधी पहिचान
नेपालको संविधान २०७२ बन्दै गर्दा सबैभन्दा बेशी बहुलतावादको विरोध डा. भट्टराईले गरेका थिए । हुन त तत्कालीन एकीकृत माओवादी पार्टी नै बहुलताको विरोधमा थियो तर यसको प्रत्यक्ष नेतृत्व बाबुरामले अग्रसरता लिएका थिए ।
 
बहुलतावाद नेपाली समाजको यथार्थ वनावट हो भनिरहन जरुरी छैन । नेपाल बहुजाति, बहुधर्म, बहुसंस्कृतिको, बहुआस्था, बहुविचार, बहुपहिचानको बहुलतावादी(बहुरङ्गीन) देश हो भन्ने कुरोमा दुइमत छैन । यत्रो बहुलतालाई नदेख्नु, यो धरातलीय यथार्थलाई देख्न नसक्नु उनको दृष्टिदोष हो । यो उनको मात्रै हैन मार्क्सवाद दर्शनकै खोट पनि हो । जसले आदिवासी जनजाति, दलित, मधेश, महिला, अल्पसङ्ख्यक, पिछडा वर्ग, पिछडिएको भूगोल आदिलाई निषेध गर्छ ।
 
त्यसैर डा. भट्टराईले माक्र्सवादलाई साभार गरेरै बहुलतावादको विरोध गरेका थिए । बहुलतावाद चाहिँ बस्तुकै बहुलता त हुँदै हो, समाज, प्रतिष्पर्धा, अस्तित्व, पहिचान, पद्धति, प्रणाली पनि हो । बहुलतासँगै स्वतन्त्रता, समानता, अनेकनता, भातृत्व, हार्दिकता, सौन्दर्य पनि जोडिएर आउँछ । यो माक्र्सवादको पदार्थगत एकताको विपरीत छ अथवा त्यससँग भने मेल खाँदैन ।
 
यसरी नेपाली धरातलीय यथार्थ, मानव जीवनको आधारभूत तत्वभन्दा फरक अडान राखेर एकलतावादको पक्षपोषणले कालान्तरमा एक जाति, एक भाषा, एक पार्टीको पक्षपोषण गर्ने पार्टीको रुपमा नयाँ शक्ति विकसित हुँदैन भन्न सकिने ठाउँ छैन । त्यसो हो भने चाहिँ यो हिंसात्मक युद्धको धङगधङ्गी हो भन्न सकिन्छ ।
 
राष्ट्रियताको गलत व्याख्या
हुन त लोकतन्त्रवादीहरु परराष्टको सम्बन्धमा त्यति धेरै बहस गर्दैनन् । यसलाई त्यति आवश्यक पनि ठान्दैनन् । र यो सम्बन्धमा दिलले काम गर्छन् । मानवीय संवेदनाले काम गर्छन् । यसैलाई उनीहरुको कमजोर पराराष्ट्र नीति भन्न मिल्दैन । बरु यसलाई बुद्धको अहिंसावादी पराराष्ट्र नीतिको अख्तियारी गर्छ भन्न सकिन्छ ।
 
अहिले विश्व बहुध्रुवमा हिँडिरहेको छ । युद्धकालीन समयहरुबाट पनि पार पाउँदै अगाडि बढिरहेको छ ।  देशको सन्दर्भमा पनि त्यही हो । मुलुकको सार्वभौमिकतालाई ध्यान दिँदै छिमेकी मुलुकहरुसँग व्यापार व्यवसाय गर्ने हो । तर कम्युनिष्ट पार्टीहरु परराष्ट्रको मामलामा अलि बेशी छद्मभेषी हुन्छन् ।
 
मानौं उनीहरु कुनै देशलाई वर्ग दुष्मन किटान गर्न बल गर्छन् । जस्तै उनीहरुको कुनै पार्टी वर्ग सत्रु हुन्छ भने कुनै मित्रु । कुनै जाति, संस्कृति पनि वर्ग सत्रु र मित्रु हुन्छ । त्यही मेसोमा बाबुराम भट्टराई भारतपरस्त रहेको चर्चा बजारमा छरिएको छ । उनको आलेखहरुमा पनि त्यही देखिन्छ । त्यसको अर्थ के लाग्छ भने नयाँ शक्तिका लागि चीन दुष्मन देश भयो ।
 
अहिले केपी ओलीले महेन्द्रको पुरानो दरवारिया पहाडे राष्ट्रवाद बोकेर हिंडेको छ । यसलाई निकै ठूलो स्टन्ट बनाइएको छ ।  अब उनको लागि भारत शत्रु भयो । जुनकि प्रचण्डले पनि एकचोटि यस्तै कुरा उचालेको थियो । उनीहरुले आफूलाई माक्र्सवादी सिद्ध गर्न पनि यति गर्नुपर्छ । अलि ठूलो नरसंहार मच्चाउनु पर्छ । बहुलता, मानवीय संवेदना, हृदयलाई निषेध गर्ने क्रान्तिकारीपन देखाउनु पर्छ । उनीहरुको पराराष्ट्रको व्याख्या पनि यसैमा केन्द्रित देखिन्छ ।
 
लोकतन्त्रवादीहरुको ग्रामरमा कोही शत्रु रहेन, विधिको शासन मान्ने भएकोले यहाँ कानुनले शासन गर्ने गर्छ । प्राथमिकतामा कोही पर्यो भने पनि नपरेको अर्को पनि प्रतिष्पर्धी मित्र शक्ति नै रहन्छ । उनको विरुद्धमा खनिहाल्नु भन्ने छैन ।
 
तर राष्ट्रियताको सन्दर्भ भनेको आम नेपाली जनताको अवधारण हो । यो कुनै भेग र जाति, पार्टी विशेषको मनमौजी व्याख्या होइन । केपीको जस्तो मनपरी व्याख्या रह्यो भने त्यो महेन्द्रपथीय दरवारीय राष्ट्रवाद हुन्छ । आजको परिवर्तित राष्ट्रियताको सन्दर्भ भनेको विदेशभरि छरिएर रहेका नेपालीहरु हुन् । यसैलाई एउटा देशको पोल्टामा लगेर टुङ्ग्याउनु उचित हुँदैन ।
 
नयाँ शक्ति त पुरानै सिसी बोतलको डेट एक्सपायर औषधि हो भन्नेमा कुनै शङ्का छैन । यस्तो मोडेलले देश विकास हुन सक्तैन । नेपाली मौलिकता बोक्न सक्तैन । यो नेपाली जनतामाथिको अर्को दलगत भार मात्रै हो । या कुण्ठित भूतपूर्वहरुको कुण्ठा व्यक्त गर्ने ठाउँ । यसले नेपाली राजनीतिशास्त्रमा, अर्थशास्त्रमा, समाजमा कुनै आयाम दिन सक्छ जस्तो मलाई लाग्दैन । 
 
बरु बाबुरामले प्रधानमन्त्री भएकाबखतको कर्तुतहरुको उत्तर भने दिनुपर्ने हुन्छ । जस्तो नेपालको एयरपोर्टलाई भारतको जिम्मा किन लगाइँदै थियो ? विप्पा सम्झौता किन गरियो ? कानुनले अपराधी ठहराएका व्यक्तिहरुलाई किन छुटकारा दिइयो ? संविधान सभा १ किन विघटन गरियो । यो प्रश्नको कठघराबाट नयाँ शक्ति उम्किन पनि सक्तैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ