काठमाडौं। नैनसिंह महर नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष हुन्। भागेश्वर गाउँ विकास समिति ९ डडेल्धुरामा जन्मिएका महर वि. सं. २०४६ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन्। विद्यालयमा पढ्दादेखि नै राजनीति सुरु गरेका महर विद्यालय तहमा पढ्दाखेरी नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका थिए। पछि विस्तारै नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष हुँदै नेपाल विद्यार्थी संघको पूर्व उपाध्यक्ष समेत बनिसकेका उनी अहिले अध्यक्षका प्रत्यासी हुन्। लामो समयदेखि कार्यबाहक चलाएर वि. सं २०५५-५६ सालतिर डडेल्धुरा जिल्ला अध्यक्ष बनेका उनी लोकतन्त्रप्राप्तिको लागि भएको शाही शासन विरूद्धको २०६२-६३को आन्दोलनमा झण्डै तीन महिनासम्म जेलमा पुगेका थिए। पत्रकारितामा समेत राम्रो दख्खल रोखेका उनी डडेल्धुराको पत्रकार महासंघका संस्थापक अध्यक्ष समेत बने। उनी केन्द्रीय सदस्य, संगठन विभागप्रमुख हुँदै २०६४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष समेत बने। लेखन क्षेत्रमा समेत राम्रै दख्खल राख्ने महरले राम्रो लेखनीको सम्मान स्वरूप कन्स्ट्रक्टिभ स्टुडेन्ट अवार्ड, बेलायती एक संस्थाद्वारा स्टुडेण्ट लिडर अवार्ड २०१० बाट समेत सम्मानित भएका थिए। शिक्षाका चुनौतीहरूको विषयमा लेख लेखेर लेखन क्षेत्रमा समेत आफ्नो निख्खरता प्रस्तुत गरेका महरले नेपाली काँग्रेसका भातृ संगठन नामक अर्को पुस्तक र नेपाली काँग्रेसको महाधिवेशन ताका ‘अबको काँग्रेस’ नामक पुस्तक पनि प्रकाशित गरेका छन्। उनले प्रजातन्त्रलाई तल्लो तहसम्म प्रचारप्रसार गर्ने उद्देश्यले ‘स्कूल अफ डेमोक्रेसी’ नामक अभियानको सञ्चालन पनि भईरहेको छ। त्यसको पनि महर केन्द्रीय अध्यक्ष हुन्। उनै महरसँग आगामी साउन २३, २४ र २५ मा हुन लागिरहेको नेपाल विद्यार्थी संघको केन्द्रीय महाधिवेशनको विषयमा केन्द्रीत रहेर हाम्रा कुराका सुदर्शन अर्यालले गरेको कुराकानीको सम्पादित अंशः–
प्रश्नः नेपाल विद्यार्थी संघको निर्वाचन अब हुने पक्का भएको हो?
जवाफः हो, नेपाली काँग्रेस जस्तो ऐतिहासिक र पुरानो पार्टीको सबैभन्दा सशक्त संगठनको लामो समयसम्म निर्वाचन हुन नसक्दा नेपाली काँग्रेस, नेपाल विद्यार्थी संघ र सम्पूर्ण प्रजातान्त्रिक जनहरुको मनमा समेत नैराश्यता छाएको छ। यसैलाई हामीले मनन् गर्दै पटकपटक निर्वाचनको लागि तयारी गर्यौं। तर, कहिले सार्क शिखर सम्मेलन त कहिले के–के बहाना गरेर नेपाल विद्यार्थी संघको निर्वाचन हुन नदिने काम भएकै हो। नेपाली काँग्रेस अहिले व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो दल भएर पनि एउटा कुनामा संकुचित बनेर बसिरहनु परेको छ। देशमा कालोबजारीयाको विगविगी छ र भ्रष्टाचारको अखडा बनेको छ अहिलेको सरकार। तर यही सरकारले गरेका हरेक भाषणलाई सकारात्मक कदम भन्दै जनतामा भ्रम छरिरहेको बेलामा हामीले जनतासम्म पुगेर सरकारको नराम्रा कदमहरूको भण्डाफोर गर्नुपर्ने बेलामा हामीमा नै निर्वाचनको अभाव र ज्यादै पुराना नेतृत्वको कारण उत्साह मरिसकेकोले सबैले अब यो संस्थालाई बचाउनको लागि र माउ पार्टीलाई प्रभावकारी र लोकप्रिय बनाई राख्नको लागि हामीले यसको निर्वाचन गर्नैपर्छ भनेर आजै मात्रै बसेको केन्द्रीय समितिको बैठकले आउँदो साउनको २३, २४ र २५ गतेको लागि निर्वाचनको मिति तोकेको छ।
प्रश्नः पटकपटक निर्वाचन गर्ने भनेर त मिति तोकेकै हो, तर अब चाहिँ पक्का हुन्छ भन्न सकिने आधार के–के छन्?
जवाफः हो मैले माथि नै भने झै यावत कारणहरूले हामीले ६ पटकसम्म नेपाल विद्यार्थी संगठनको निर्वाचन गर्न सकेनौं। त्यसमा केही हदसम्म राजनीतिक स्वार्थ पनि लुकेको थियो। तर, अब कसैले पनि राजनीतिक स्वार्थको नाममा नेपाल विद्यार्थी संघको निर्वाचन सार्न नहुने पक्षमा सबै केन्द्रीय समितिका साथीहरु पुगिसकेका छन्, पहिलो कुरा। पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक क्रियाकलापलाई स्वस्थ बनाईराख्नको लागि भातृसंगठनहरूको निर्वाचन समयमा नै गर्ने भन्ने थियो। त्यसैले पनि सभापतिज्यू यस कमिटमेन्टबाट ब्याक हुनसक्नुहुन्न। जसले गर्दा निर्वाचन गराउनै पर्ने दबाब र यसलाई सार्न नहुने पक्षमा पनि सभापतिज्यू रहेकोले पार्टीको पनि यसमा दह्रो सहयोग रहन्छ यो पनि अर्का निर्वाचन नसर्ने आधार हो। पार्टीको महाधिवेशन पछि बसेको पहिलो केन्द्रीय समितिको बैठकले ६ महिनाभित्र भातृसंस्थाहरूको निर्वाचन गराउने निर्णय गरेकोले पनि यो निर्वाचन हुन्छ भन्न सकिने आधार सिर्जना भएको छ। यस भन्दा अगाडिको नेतृत्वको नियती नै के थियो भने आफ्ना नजिकको व्यक्तिले नेपाल विद्यार्थी संगठनको नेतृत्व दिन सक्दैन भन्ने भएर निर्वाचनको लागि खासै चासो नदिइएको थियो। तर यो अवस्था अहिले छैन यही हो महाधिवेशन हुने आधार।
अनि, अर्को महत्वपूर्ण कुरा त के भने अहिले विद्यालय तहमा नै राजनीति गर्ने परिपाटीले विद्यालयका विद्यार्थीहरूमा नै गम्भीर असर पुर्याईरहेको छ । कतिपय साथीहरू आफ्नो राजनीतिक भविष्यलाई जोडेर यस्ता कुरा गर्न डराईरहनुभएको छ । तर विद्यार्थीको हितमा छैनभने डराउनु मुर्खता हो । म नेपाल विद्यार्थी संगठनको अध्यक्ष बनेको खण्डमा मैले अहिले त कक्षा १२ सम्म माध्यमिक तह भएको छ । यो तहका विद्यार्थीलाई राजनीतिक संगठनको सदस्यता लिन नपाउने र क्याम्पसमा कमिटी गठन गर्न पनि नपाउने व्यवस्था गराउनको लागि अन्य विद्यार्थी संगठनसँग पनि प्रस्ताव गर्नेछु । यसो गरेको खण्डमा शिक्षकहरूमा पनि खुलेहाम पार्टीको झण्डा बोकेर हिड्ने परिपाटी क्रमशः घट्दै जानेछ भन्ने मलाई लागेको छ ।
प्रश्नः निर्वाचनको मिति तय भएसँगै नेतृत्वको पनि कुरा आउँछ। तपाईँको अबको उम्मेदवारी केमा रहन्छ?
जवाफः निर्वाचनमा नेतृत्व त आवश्यक कुरा हो नै, तर पनि नेतृत्व भन्दा पहिले संगठनको अवस्था हेर्नुपर्ने हुन्छ। हाम्रा पूर्खाले तत्कालीन समयमा वि. सं २०२७ सालमा स्थापना गर्दाको बखत जस्तो कार्य योजना र रणनीति थियो नेपाल विद्यार्थी संगठनको अहिले आएर परिवर्तन भएको छ। हामी त्यतिबेला प्रजातन्त्रको लागि लड्न विद्यार्थी एकताको माध्यम खोजेका थियौं। अहिले त्यतिबेलाको एजेण्डाले त काम गरेन नि। हो यो परिवर्तन अहिलेको लागि टड्कारो आवश्यकताको रुपमा अगाडि आएको छ। विद्यार्थी संगठनको एजेण्डा परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको अवस्थामा नयाँ भिजन र एजेण्डा बोकेर अबको निर्वाचनमा संगठनको अध्यक्षको पदमा उम्मेदवारी दिने तयारी गरेको छु।
प्रश्नः तपाईले भन्नुभयो अबको विद्यार्थी राजनीतिको एजेण्डा बदलिनुपर्छ भनेर, त्यो भनेको के हो?
जवाफः हामी यसअघि विद्यार्थी हक हितको कुरा गरेर प्रजातन्त्रको लागि लड्यौं। अब भनेको हामी विद्यार्थी हक हित र शिक्षा क्षेत्रको विकासको लागि लड्नु पर्ने बेला भएको छ। हामीले गणतन्त्र ल्याईसकेपछि हामी राजनीतिको भाषा बोलेरै फेरि पनि हिँडिरहनु छैन। अब भनेको सुदूर पश्चिमाञ्चलको एउटा गरिब परिवारको विद्यार्थीले महंगो शुल्क तिरेर काठमाडौंको टिचिङ अस्पतालमा जानु नपरोस्। पुल्चोक इन्जिनियरिङ क्याम्पस जस्ता क्याम्पस सातवटै प्रदेशमा अत्यावश्यक नै भईसक्यो नि, हो यसको लागि हामीले अब आफ्नो एजेण्डा केन्द्रीत गर्नुपर्छ। निशुल्क शिक्षाको कुरा, हामीले अहिले पाउने विद्यार्थी छात्रबृत्ति नेताका छोराछोरीले मात्रै पाउने अनि विद्यार्थी संगठनहरू चाहिँ मकदर्शक बनेर बस्ने? अनि त्यही छात्रबृत्तिमा पढेका विद्यार्थीहरू अमेरिका जान भनेर खुट्टा उचालेर बसिरहेका हुन्छन्। अनि कहिले हुन्छ देशको विकास? अर्को कुरा हामीले देख्छौं बिद्यार्थी जब बढी अंक ल्याउँछ। उसलाई इन्जिनियर र डाक्टर पढाउनको लागि नै सबैको ध्यान केन्द्रित हुन्छ। के नेपालमा राम्रा सिडियोको आवश्यकता छैन? राजनीति गर्नलाई विद्वान राजनीतिज्ञको आवश्यकता छैन? हो यही अव्यवस्थालाई हटाउनको लागि मैले आफ्नो एजेण्डा प्रस्तुत गरेको छु।
प्रश्नः यो निर्वाचनमा गुटबन्दीको कत्तिको सम्भावना देख्नुभएको छ? प्रतिस्पर्धी त हुन्छन् नै होला?
जवाफः स्वभाविक रूपमा पनि गुटबन्दी र प्रतिस्पर्धा हुन्छ नै। प्रजातन्त्रमा नेतृत्व छान्न पाईन्छ नेतृत्व छानेपछि नेतृत्वको आकांक्षा धेरैमा हुन्छ र गुटबन्दी सिर्जना हुन्छ। तर, मैले त के भन्ने गरेको छु भने गुटबन्दीको सुरूवात परिवारबाट नै हुने गरेको छ। कान्छोलाई आमाले माया गर्ने जेठोलाई बाबुले माया गर्ने र पैसा कमाउनेलाई सबैले माया गर्ने परिपाटी त सबैमा देखिने कुरा हो। तर मैले के मनन गरेको छु भने निर्वाचन भन्दा पहिले जस्तो गुट उपगुट सिर्जना भएपनि निर्वाचनबाट मैले निर्वाचित भएपछि भने मैले आफूलाई मत दिने र नदिनेको बीचमा कुनै पनि भेदभाव भने गर्ने छैन।
प्रश्नः तपाईँलाई नै सहयोग गर्नुपर्ने आधार चाहिँ के छन् त?
जवाफः तपाईँले सोधेको सीधा प्रश्नको सीधा नै उत्तर दिँदा त मैले संगठन विस्तारको क्रममा ७३ जिल्ला घुमेर सबैको समस्या र सुझाव संकलन गरेर अगाडि बढेको छु। म २०४६ सालको आन्दोलनदेखि नै राजनीतिमा होमिएको छु। राजनीतिको लागि धेरै त्याग गरेको छु। यी मेरा व्यक्तित्व बनाउने महत्वपूर्ण घटना र मत माग्ने आधारहरू भए जसले म संगठनप्रतिको एउटा इमान्दार कार्यकर्ता हुँ भन्न सक्ने स्थिती बनेको छ। तर सबैले हेर्नसक्ने भनेको भिजनको कुरा हो। कसले कत्तिको भिजन राख्छ र काममा देखाउन पनि कति सक्छ भन्ने कुरा सबैले हेर्नुपर्छ।
प्रश्नः तपाईँले चाहिँ बोलेको कुरा कति पूरा गर्नुभएको छ त?
जवाफः हो मैले बोलेका धेरै कुराहरु व्यवहारमा समेत लागू भईसकेका छन्। अहिले भर्खरै लागू भएको ग्रेडिङ प्रणालीको कुरा मैले लिखित रूपमा पहिलो पल्ट प्रस्ताव गरेका कुराहरू हुन्। जुन अहिले लागू भएको छ। मैले कुनैपनि मुलुकमा फेल भएको भनेर वार्षिक १२ जनाको आत्महत्या गर्ने परिपाटी भएन भनेर यसको अन्त्य गर्नको लागि मैले माग गरेको कुरा पूरा भएको छ। त्यस्तै, सेमेस्टरको कुरा पनि मैले लिखित माग गरेर प्रस्तुत गरेको त्यो पनि दस्तावेज भेट्नु हुन्छ। यसलाई पनि विस्तारै प्रभावकारी बनाउनुपर्ने देखेको छु। त्यस्तै गरी १२ कक्षासम्मलाई माध्यमिक तहको बनाउने लगायतका विषयहरू छन्। यी सबै कुराले गर्दा मैले चाहेको र आँटेका कुराहरु ढिलाचाँडो पूरा गराएरै छाडेको देख्नै सक्नुहुने छ नि।
प्रश्नः २८ वर्षे उमेर तोकिएको कुरा चाहिँ के हो नि?
जवाफः यस्तो कुरा जायज होइन। हामी विपी कोइरालाका अनुयायी पनि भएको हुनाले विपीले भनेको मानिस जीवन पर्यन्त सिकिरहेको हुन्छ भन्ने कुरालाई आत्मसाथ गर्नुपर्छ। मानिसले जब सिक्न छाड्छ या त ऊ मर्छ होइन भने उसले मर्ने अघिल्लो दिनसम्म पनि सिकिरहेकै हुन्छ। त्यसैले म त के भन्छु भने २८ वर्षे प्रावधानको कुरा जायज छैन। अमेरिकाको राष्ट्रपतिमा भएको ज्ञान नेपालको राष्ट्रपतिमा नहोला। तर, नेपालको एउटा किसानसँग भएको ज्ञान अमेरिकाको राष्ट्रपतिमा पनि त नहुन सक्छ नि। अनि अब तैले सिक्ने कुरा सिध्यियो अब तैले रिटायर्ड लिनुपर्छ भन्ने पनि कुरा हुन्छ? हो संगठनको निर्वाचन दुई दुई वर्षमा हुने व्यवस्था गरियोस् त्यो भयो भने २८ पनि होईन २५-२६ वर्ष पछि कसैले पनि नेतृत्वको लोभ गर्दैन। अहिले यही विषयमा कुरा नमिलेर स्ववियू निर्वाचन समेत हुन सकिरहेको छैन। त्यसैले यो २८ वर्षे सिस्टम जायज छैन। उमेरको हदवन्दी काम छैन।
प्रश्नः अब एउटा कुरा तपाईँले भनेजस्तो आफ्नो एजेण्डा प्रस्तुत गर्न कति सहज होला? गुट मिलाउँदैमा आधा कार्यकाल सकिन्छ।
जवाफः छैन, अब त्यस्तो समस्या हुँदैन किनभने अब हामी क्यालेण्डर बनाएर यति बेलामा यो काम जसरी पनि गरिसक्ने भनेर अघि बढ्छौं। एक महिना भित्रैमा हामी सबै सांगठनिक विषयलाई टुङ्ग्याएर आफ्ना एजेण्डाहरू कार्यान्वयन गर्नेतर्फ अगाडि बढ्ने भएकोले अब तपाईँहरूले पहिलेको जस्तो समस्या देख्नुहुने छैन।