- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । श्रीकृष्णसहित ब्राम्हण भेष गरेका पुरुषले जरासन्धलाई अनेक ज्ञान दिए । उनीहरुले यो नाशवान शरीर नाश भएपनि उत्तम पुरुषहरू याचकको इच्छा अनुसार दान गरेर कहिल्यै नाश नहुने बस्तु प्राप्त गर्दछन् भन्ने जस्ता उपदेश दिन थाले । जरासन्धलाई उनीहरूको हाव भाव, शरीर, बोली आदि देखेर 'यिनीहरू व्राम्हण होइनन्, भेष बदलेर आएका हुन् 'भन्ने मनमा पक्का भयो र' क्षत्रिय भएपनि मसँग डराएर ब्राम्हण भेष लिएर आएका रहेछन्, यिनीहरूले जे मांगे पनि दिन्छु' भन्ने मनमा अठोट गय्रो ।
जरासन्ध मांगेको कुरा दिने निर्णयमा पुगे । श्रीकृष्णले उनलाई 'हामी अरुकुनै विषय मांग्दैनौं तिमीसँग युद्ध गर्न आएका हौ, युद्ध गर्ने बचन देऊ' भन्नु भएपछि उनी युद्धकालागि तयार भए । उनले सोची सकेको थिए, कृष्णसँग के लड्नु अर्जुन त झनै बच्चा नै हो, मेरो जोडा मिल्ने भीम नै हुन् भनेर भीमसँग लड्ने तयारी गरेर गदा युद्ध शुरु गरे ।
दुवै बीच २७ दिनसम्म घमासान युद्ध भयो । एक आपसमा हाना हान भयो । श्रीकृष्णलाई जरासन्धको बारेमा सबै थाहा थियो । त्यसैले एउटा सिन्कोलाई माथिबाट चिर्नुभयो र बायांको दायांतर्फ र दायांको बायांतर्फ फाल्नुभयो । भीमसेनले उसको कटिप्रदेशबाट चिरे र कृष्णको इशारा अनुसार फालिदिए र २८औं दिनमा जरासन्धले मृत्यु वरण गरे । जरासन्ध मरेपछि हाहाकार भयो । श्रीकृष्णले उनको छोरा सहदेवलाई राजा बनाए ।
जरासन्धले २० हजार ८ सय राजाहरूलाई विनाकारण बन्दी बनाइरहेको थियो । श्रीकृष्णले उनीहरूलाई छोडिदिनु भयो । उनीहरू मैला थैला थिए तर उनीहरुले श्रीकृष्णको गलामा कौस्तुभ मणि लगायतको चतुर्भुज रूपको दर्शन पाए र खुशीले गदगद भएर अनेक प्रकारले स्तुतिगर्न थाले ।
उनीहरुले गरेको स्तुति ' कृष्णाय वासुदेवाय हरये परमात्मने । प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः ।' श्रीकृष्णले उनीहरूको स्तुति सुनेपछि उनीहरूलाई भन्नुभयो, 'तिमीहरूले मलाई गरेको स्तुतिले म खुशी भए । तिमीहरूले जे भन्यौ त्यो ठीक छ । म प्रति निश्चल भक्ति भइरहोस्, शरीर भएपछि शरीरसँग सम्बन्धित सबै नाता गोता आदि सबै नाशवान् छन् । शरीर रोगको जन्मस्थल हो । कालको गति बलवान छ । तिमीहरूले विषय भोग गरेपनि सन्तान उत्पत्ति गर्नका लागि मात्र गर्नु, भोगको लालसाले नगर्नु, संसारमा परि आउने दुःख सुख सबैलाई बराबर सम्झेर काम गर्नु, आत्म चिन्तनमा मन लगाउनु, ब्रम्ह प्राप्त गर्नु' आदि अनमोल ज्ञान दिनुभयो ।
श्रीकृष्णले उनीहरूलाई स्नान गराएर नयां नयां बस्त्रहरु लगाइदिनु भन्नुभयो र त्यसरी सबै राजाहरूलाई आ आफ्नो स्थानमा फिर्ता पठाएर आफू अर्जुन र भीमसँगै इन्द्रप्रस्थ फर्कनुभयो ।
(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् ।) इमेल :aamodita@gmail.com