arrow

सानैमा बुवा र हजुरबुवाबाट बलात्कृत तारा भन्छिन्: तारा अहिले खतरा भएर निस्केकी छे

ऐनामा बालिका बलात्कार र हत्याका पीडितहरुको आवाज 

logo
प्रकाशित २०७७ माघ १५ बिहिबार
Aaina-tv-show.jpg

काठमाडौं। काभ्रेकी तारा कलिलै छँदा उनको जीवनमा कल्पनै गर्न नसक्ने घट्ना भयो। ९ वर्षकै उमेरमा उनी आफ्नै हजुरबुवाबाट बलात्कृत भइन् । कुरा यतिमा रोकिएन, हजुरबुवापछि उनका आफ्नै बाबुले पनि पटकपटक बलात्कार गरे । असैह्य पीडामा रहेकी ताराले घटनाबारे आमालाई सुनाइन् । तर, आफ्नै बाबु र हजुरबुवाबाट बलात्कारमा परेको कुरा उनकी आमाले पनि विश्वास गरिनन् । 

यसपछि ताराले मृत्युको बाटो रोज्न खोजिन्, तर मृत्युले उनलाई स्वीकार गरेन ।  मृत्युको हार भयो र जीवनको जित भयो । 
आज तारा उनीजस्तै बलात्कारमा परेका र आफ्ना लागि बोल्न नसक्ने अरु थुप्रै बालिकाको आवाज बनेकी छिन् । 

कार्यक्रम ऐनामा प्रस्तोता विश्वप्रकाश शर्मासँग कुरा गर्दै उनी भन्छिन्, ‘मलाई सधैं म किन बाँचे, यस्तो सहेर पनि किन बाँचे भन्ने लागिरहन्थ्यो। तर, मैले अहिले जवाफ पाएँ कि उहाँहरुजस्तै बहिनीहरुका लागि म बाँचेको रहेछु।’

ती कहाली लाग्दा दिन सम्झिँदा तारालाई अहिले पनि असैह्य पीडा हुन्छ । तर उनको पीडालाई अहिले संघर्षले जितेको छ । आफ्नो न्यायका लागि आफ्नै परिवारसँग लडिरेहकी तारा भन्छिन्, ‘तारा अहिले एकदम खतरा भएर निस्केकी छे । म सबैलाई भन्न चाहन्छु: तारा पहिलेको ताराजस्तो छैन । एकदम स्ट्रङ छे, बोल्ड छे । आफ्नो लागि मात्रै नभएर अरुको लागि पनि बोलिरहेकी छे, लडिरहेकी छे।’

उनी बालिकाका बुवाआमालाई आफ्ना छोरीका कुरा सुनिदिन आग्रह गर्छिन् । साथै, अन्यायमा परेका बालिकाहरुलाई आफ्नो न्यायका लागि सँगसँगै लड्न आग्रह पनि गर्छिन् । उनको आग्रह छ, ‘बालिकाहरु जो आफ्नो लागि बोल्न सक्नुहुन्न, उहाँका आमाबुवाहरुले, प्लिज, आफ्नो छोरीको कुरा सुनिदिनुहोस् । हजुरको सानो सहयोग र मायाका लागि ऊ सधैं तड्पिरहेकी हुन्छे । जो बोल्नसक्नुहुन्छ, उहाँहरु आउनुहोस् । हामी छौं साथमा, सँगै लड्ने छौं र अवश्य हामीले न्याय पाउने छौं।’

‘चुडिएका कोपिला’ शीर्षकमा ऐनाले सुरुवाती दुई अंकमा बालिका बलात्कार तथा हत्या सम्बन्धि दर्जन पीडितहरुको आवाज समेटेको छ ।

कार्यक्रमको पहिलो अंकमा झन्डै तीन वर्षअघि बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले अहिलेसम्म अपराधी पत्ता नलागेकोमा आक्रोश पोखिन् । 

‘हामीलाई चाहिएको त अपराधी हो नि। अहिलेसम्म अपराधी किन पत्ता लागेन?’ उनको प्रश्न छ । 

६ वर्षकै उमेरमा बलात्कारपछि हत्या गरिएकी कपिलवस्तु चन्द्रौटाकी सीता अधिकारीकी आमा बसन्ता अधिकारीले बालिका बलात्कारका अपराधीलाई कडा कानुनी सजायको व्यवस्था गर्न माग गरिन् । 

महोत्तरीको औरहीमा बलात्कारपछि हत्या गरिएकी ८ महिने छोरी सोनाली चौधरीका बुवा सन्तोष चौधरीले पनि कडाभन्दा कडा कानुनी सजायको प्रबन्ध गर्न राज्यसँग माग गरे । अहिलेको कानुनी व्यवस्था कमजोर भएको उनको बुझाइ छ । 

सन्तोष भन्छन्, ‘यो देशमा यस्तो कानुन बनोस्, उसलाई जिउँदै रहेर थाहा होस् कि मैले कस्तो कुकर्म गरेको छु ।’ होराइजन मल्टिमिडियाले उत्पादन गरेको कार्यक्रम ऐनाका दुवै श्रृंखला युट्युबमा पनि हेर्न सकिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ