पश्चिम पहाडी जिल्ला रोल्पामा जन्मिएर नेपाली काँग्रेसको संघर्षपूर्ण राजनीति गरेका एक कर्मठ विद्यार्थी नेता हुन् मनोजमणि आचार्य । विद्यालय तहमा पढ्दा अहिलेका नेकपा माओबादी केन्द्रका पूर्व महासचिव कृष्णबहादुर महराका शिष्य समेत रहेका आचार्य अन्य साथीहरू कम्युनिष्ट विचारधारामा रूमलिँदै जाँदा विद्यालय पढ्दै प्रजातन्त्रबादीहरूको लागि एक्लो बृहस्पति बनेर उभिएका थिए । अहिलेका उपराष्ट्रपति समेत रहेका नन्दकिशोर पुन पासाङ, नेत्र विक्रम चन्द विप्लव पढेकै स्कूलमा उनीहरु भन्दा केही व्याज पछि विद्यालय शिक्षा सकेका हुन् । यस्ता कम्युनिष्ट हस्तीहरू विरूद्ध एक्लै संघर्ष गरेको अनुभव समेत रहेको छ । कम्युष्टिहरूको एकाधिकार रहेको कम्युनिष्ट गढ रोल्पाबाट माध्यामिक तहमा नै पढ्दा देखि नेपाल विद्यार्थी संघको केन्द्रीय राजनीतिमा छिरेका हुन् । आचार्यसग अहिले नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, महामन्त्री हुँदै केन्द्रीय उपाध्यक्ष समेत बनिसकेको अनुभव रहेको छ । वि. सं २०४६ सालदेखि प्रत्यक्ष रूपमा विद्यार्थी राजनीतिमा प्रवेश गरेको बताउने आचार्य कम्युनिष्ट गढमा समेत नेपाल विद्यार्थी संघको मजबुद उपस्थिति देखाउन कम्पर कसेर लाग्दै आएका ब्यक्ति हुन् । साउन २३ देखि २५ काडमाडौमा हुने नेविसंघ महाधिवेशनमा अध्यक्षको प्रत्यासी रहेको बताएका छन् । तल्लो तहका विद्यार्थीहरूको माग र आग्रहको बीच आफूले उम्मेदवारी दिने तयारी गरेको बताउने आचार्यसँग हाम्राकुराका लागि सुदर्शन अर्यालले गरेको कुराकानीको सम्पादित अंश ;
लामो समय हुन नसकेको नेपाल विद्यार्थी संघको महाधिवेशन अब त हुनेछ भन्दै हिड्नुभएको छ ? अब महाधिवेशन हुन्छ भनेर भन्ने आधार के के हुन् ?
हो, पठक पटक भएको महाधिवेशनको स्थगनले नेपाल विद्यार्थी संघको महाधिवेशन अब हुन्छ भनेर भन्दा पनि आधार खोज्ने दिन आएको छ । यो आफैंमा दुःखको कुरा हो । नेपाली काँग्रेसको सबैभन्दा महत्वपूर्ण र सबैभन्दा सक्रिय भातृसंस्थाको रूपमा रहेको नेपाल विद्यार्थी संघ आज पटकपटक महाधिवेशनको मिति तोक्दै सार्दै आउनु परेको छ । तर अब महाधिवेशन हुने केही आधारहरू मैले बुँदाबद्ध रूपमा भन्नुपर्दा एउटा नेपाली काँग्रेसको महाधिवेशन पछिको पहिलो केन्द्रीय समिति बैठकले ६ महिना भित्र सबै भातृ संस्थाहरूको बाँकी निर्वाचन गरिसक्नुपर्ने भनेर स्पष्टसँग निर्णय गरेको छ । यदी त्यसो हुन नसकेको खण्डमा स्वतः भातृसंस्थाहरू अबैधानिक हुने भएकोले पनि यो क्रियाशील संस्थालाई निष्कृय बनाएर लैजान कसैलाई चाहाना छैन, त्यसैले यो महाधिवेशन हुन्छ । अर्का तर्फ समय धेरै बदलिईसकेको यो अवस्थामा नेपाल विद्यार्थी संघको महाधिवेशन किन हुँदैन भनेर नेविसंघको केन्द्र, जिल्ला, क्याम्पस, विदेश स्थित जनसम्पर्क निर्देशनालय तथा अन्य पार्टीहरुमा बिद्याथी संघ र संगठनको लगातार भएको अधिवेशनले समेत हामीलाई दबाब आईरहेको यो समयमा यो भन्दा अगाडि महाधिवेशन नगराउन सक्रिय रहेकाहरू पनि महाधिवेशन गराउनै पर्ने पक्षमा रहेकोले यो निर्वाचन हुनेमा ढुक्क हुन सकिन्छ ।
यो निर्वाचनमा तपाईँको आकांक्षा कुन पदमा हो ?
म नेविसंघमा लागेदेखि विद्यालय अध्यक्ष, जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै महामन्त्री, केन्द्रीय उपाध्यक्ष समेत भईसकेकोले अब मेरो विकल्प छैन अध्यक्ष भन्दा अर्का पदमा उम्मेदवारी दिने, मेरो आकांक्षा पनि सोही पदमा हो ।
तपाईले यसो भनिरहँदा, नेपाल विद्यार्थी संघ भित्रका झण्डै आधा दर्जन आकांक्षीबाट तपाईँ एक्लो उम्मेदवार बन्ने सम्भावना तपाईले चाहिँ कत्तिको देख्नु भएको छ ?
म समग्र नेपाल विद्यार्थी संघको सबै पक्ष र सबै उम्मेदवारको बीचमा ‘अम्रेला’ बन्न सक्छु , म मा त्यो क्षमता रहेको छ । किन भने राजनीतिमा अन्य पार्टी र अन्य संगठनहरूसँगको संघर्ष आवश्यक छ र नेतामा त्यो क्षमता आवश्यक पनि रहेको छ । म एउटा रोल्पामा जन्मिएर सानै उमेरदेखि कम्युनिष्टहरूसँग मुकाविला गर्दै आएको हुनाले अब पनि नेपाल विद्यार्थी संघलाई एउटा एकीकृत संगठन बनाउन सबै पक्षलाई मिलाएर जानसक्ने सवल नेतृत्व गर्ने क्षता म मा छ । प्रजातान्त्रिक व्यवस्थामा अरूको पनि आकांक्षा र उम्मेदवारी स्वभाविक रहेको भएपनि मैले यो संगठनलाई एकीकृत बनाएर नेतृत्व दिन भने म सक्षम छु । मैले यसलाई एकताको महाधिवेशन बनाऔं भनेर पनि पहल गर्नेछु । तर विधानले दिएको व्यवस्था अनुसार साथीहरूले मतदान गर्न पाउने र उम्मेदवारी दिन पाउने व्यवस्थाप्रति पनि कसैले इच्छा जाहेर गर्छ भने त्यो पनि नराम्रो कुरा होईन । हाम्रो पुस्ताको ब्यक्तिले अध्यक्ष मात्र ताक्ने हो र बाँकी रहेका तमाम पदहरुमा युवा पुस्ताबाट ल्याउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । यस अर्थमा धेरै नै युवा पुस्ता नेबिसंघको केन्द्रीय समितिमा आउन सक्नेछन् ।
तपाईँ अध्यक्षको प्रत्याशित बनिरहँदा तपाईँको जित्ने आधार चाहिँ के–के छन् ।
केही कारणहरू छन् जसले मनोजमणिको नेतृत्व नेविसंघले खोजिरहेको छ । पहिलो कुरा छ त म सानैदेखि अन्यपार्टीहरूसँग राजनीति गरेर कम्युनिष्ट गढमा समेत काँग्रेसी विरूवा उमार्न सकिन्छ भनेर मैले पुष्टि गरिसकेको छु । त्यसैले अन्य संगठनलाई पनि समान रूपमा लिएर अघि बढ्नको लागि म सक्षम छु भन्नेमा सबै साथीहरू परिचित छन् । यसले पनि साथीहरूले मेरो नेतृत्व खोजीरहेका छन् । दोस्रो कुरा मैले नेतृत्व पाएको खण्डमा सबैसाथीहरूलाई भेदभाव नगरी सबैलाई समान र क्षमता अनुसारको पदमा मिलाएर एकीकृत संगठनकबो रूपमा विकास गर्न सक्षम छु भन्ने विषय पनि सबैले जानेका छन् र मलाई नेतृत्वको लागि आग्रह पनि गरिरहेका छन् । त्यसैले पनि यो पटकको नेतृत्व मलाई नै लिन आग्रह धेरै साथीहरूबाट भएको छ र अर्का कुरा भन्ने हो भने अहिले भर्खरै संशोधन भएको शिक्षा ऐन तथा विधेयकहरू आए पनि अझै यावत समस्याहरू जस्ताका तस्तै रहेका छन् । शिक्षा क्षेत्रको आमूल परिवर्तनको लागि मेरा एजेण्डा लगायतका विषयमा पनि मेरो दूर दृष्टिको कारणले नै मैले यो निर्वाचन जित्छु भन्ने अपेक्षा राखेको छु ।
अब म नेतृत्वमा पुगेँ भने यो गर्छु भन्ने कुनै योजना छ तपाईँसँग जसले तपाईँलाई अरूभन्दा भिन्न राखोस् ?
मैले चार वटा अध्यक्षहरूको ‘अम्रेला’मा बसेर काम गरिसकेको छु । यसको लागि मैले आन्दोलनको समय होस् या त सहज समयमा पनि मैले नेतृत्व लिनको लागि आफ्ना अग्रजहरूबाट राम्रोसँग सिकेको छु । अर्का कुरा मैले यो अहिलेको शिक्षा विधेयक पारित भएसँगै यसका सुधारका पक्षमा काम गर्ने र राम्रा कुराको कार्यान्वयनका लागि सहयोग गर्ने काम र राष्ट्रिय राजनीतिमा अहिले संविधान निर्माण भएको छ । तर संघीयता लगायतका विषयले संविधान कार्यान्वयनको लागि समस्या सिर्जना गराएको छ । यसमा विद्यार्थिको तर्फबाट मैले अतुलनीय योगदान पु¥याउने छु । त्यस्तै अहिले नेपाली काँग्रेसलाई जनताले पहिलो पार्टी बनाए । अब नेपाली काँग्रेसलाई बहुमतको पार्टी बनाउने र स्थानीय निर्वाचनमा नेपाली काँग्रेसलाई कसरी अब्बल र पहिलो पार्टी बनाउँदै त्यसैको अभिमत मार्फत् विद्यार्थीको मागलाई पूरा गर्ने दिशातर्फ जाने मेरो एजेण्डा हुनेछ । अर्का कुरा म जोड्न चाहन्छु, हामी अहिले बढी राजनीतिमा घोत्लियौं । तर हामीले सामाजिक र साँस्कृतिक विषयलाई, सीमानासँग जोडिएका विषयलाई र नेपालको स्वाधिनता र स्वाभिमानसँग जोडिएको विषय पनि टड्कारो आवश्यकता बनिरहेको छ । यस्ता विषयमा विद्यार्थीहरू केन्द्रीत भईदिए हुन्थ्यो । अहिले महंगी बढीरहेको बेलामा विद्यार्थीहरू के हेरेर बसिरहेका छन् ? लगायतका जनताका सीधा अपेक्षाका विषयहरूमा पनि काम गरेर नेपाल विद्यार्थी संघ मात्रै होईन कि समग्र नेपाली काँग्रेसको समेत हितको लागि काम गर्ने अठोटका साथ म निर्वाचनमा होमिन लागेको छु ।
यो भन्दा अगाडिका अभ्यासहरूलाई हेर्दा दुई कार्यकाल पार्टी नेतृत्वले नै नेतृत्व चयन गरेर पठाउँदा मतदाताहरूमा भने निराशा छाएको देखिन्छ, अहिले पनि यस्तै नियति दोहोरिने त होईन ?
यो कहिलेकाहीँ देखिएको कुरा हो र यो आम मतदाता माथिको अन्याय हो भन्ने मैले बुझेको छु । अहिलेको अवस्था नेपाल विद्यार्थी संघ, नेपाली काँग्रेस र समग्र प्रजातान्त्रिक नागरिक प्रति ज्यादै संवेदनशील समय बनेर आएको छ । नेपाली काँग्रेस संसद्को सबैभन्दा ठूलो दल भएपनि संसद्मा एउटा कुनामा सीमित बनेर बस्नु परेको छ । यस्तो अवस्थामा सदन र सडक दुबै तिर संघर्ष गर्नुपर्ने बेलामा सडकको लागि विद्यार्थी आन्दोलनको विकल्प छैन । तर, यसको लागि नेपाली काँग्रेसमा तदर्थबाद लाद्न खोजियो भने यसले जागरूक र ताजा नेतृत्व आउन सक्दैन । यसले गर्दा सशक्त सडक संघर्षको काम अगाडि बढाउन सक्दैन । अर्का तर्फ हामी लामो समयदेखि स्थानीय निकाय गर्न नसकेर अब भने पक्कै स्थानीय निर्वाचन गराउने पक्षमा पुगेका छौं । त्यसलगत्तै विभिन्न निर्वाचन गर्ने कुरा पनि आईरहेको छ । यस्तो अवस्थामा पनि नेपाली काँग्रेसले पुरानै शैली अपनाएर आफ्ना मान्छेलाई नेतृत्व दिने व्यवहार गर्छ भने सशक्त नेविसंघ बन्न सक्दैन । त्यसैले यो पटक त्यस्तो हुँदैन र हुनु हुँदैन पनि ।
तपाईँहरू आफैं युवा नेतृत्व आवश्यक छ भन्नुहुन्छ, बिद्यार्थी राजनीति गरेको पनि ३० वर्ष भईसक्यो अब पनि तपाईँहरू बिद्याथीको नेतृत्वको दावी गरिरहुन भएको छ ?
यसमा सबै दोष भनेको समयमा निर्वाचन हुन नसक्नु हो । हामीले कति वर्ष भयो स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नगरेको ? कति वर्ष भयो भातृ संस्थाको निर्वाचन नगरेको ? अनि हामी चाहिँ, हामी मात्रै नभनौं यो पिरियडका विद्यार्थी नेताहरूलाई पार्टीमा पनि स्थान थोरै छ, अनि नेबिसंघमा पनि नभएपछि अहिले भएको निर्वाचनमा पनि उमेर हद भनेर यी पिरियडका मान्छेको राजनीति कहाँ पुग्छ ? यो केही पनि नहुँदा पनि नेविसंका साथीहरू काम गरिरहेका छन् क्याम्पसमा उनीहरूलाई पनि त्यसै जता जान्छौ जाउ भन्ने ? त्यसैले यदि आवधिक निर्वाचन समयमा नै गरिन्छ भने उमेरको हदबन्दीले पनि खासै असर गर्दैन । र लागू गर्न सकिन्छ ।
अबको नेपाल बिद्यार्थी संघको बाटो प्रजातन्त्रिक व्यवस्थाको स्थायित्वको लागि अगाडि बढ्छ या त विद्यार्थीहरूको हक र हितको लागि ?
नेपाल विद्यार्थी संघको इतिहास नै प्रजातन्त्र प्राप्तिको लागि यावत आन्दोलनहरूमा अग्र मोर्चामा उभिएर आएको छ । अहिलेको लोकतन्त्र प्राप्तिसम्मलाई हेर्ने हो भने पार्टीको भन्दा बढी आन्दोलन र स्वतन्त्रता संग्रममा विद्यार्थी आन्दोलनको भूमिका बढी रहेको छ । अर्का कुरा के हुन्छ भने सामाजिक व्यवस्थाहरू प्रजातान्त्रिक नभएसम्म हामीले त्यहाँ अन्य विषयलाई सुधार गर्छौ भनेर नभन्दा पनि हुन्छ । जस्तो कि उत्तर कोरियाको राजनीतिक अवस्था र त्यहाँ विद्यार्थीहरूको अधिकारको कुराको विषयमा हामीले केही परिकल्पना गर्न सक्छौं ? त्यसैले हामी अहिलेसम्म लड्यौ प्रजातन्त्रको लागि तर, अब हामी लड्छौं प्रजातन्त्रको रक्षा गर्दै शैक्षिक बिकासको लागि । एउटा कुरा के हुन्छ भने मुहान सग्लो भयो भने मात्रै तल पानी खाने बटुवाले सग्लो पानी खान पाउने हो । त्यसैले हामीले पहिले राज्य व्यवस्थालाई सही बाटोमा ल्याएर शैक्षिक एजेण्डा पूरा गर्ने लक्ष्यमा हामी केन्द्रित हुनेछौ ।
अहिले ४१ जिल्ला बाहेकका जिल्लाहरूमा विवादित छन् पुन अधिवेशन गर्नु पर्छ भन्ने पनि कुरा उठिरहेको छ। यस विषयमा तपाईको मत के हो ?
यो एउटा विधि र विधान भन्दा पनि आफ्नो स्वार्थमा केन्द्रीत भएर नेतृत्व अघि बढ्दाको फल हो । विधि र विधानलाई छलेर केही जिल्लामा केन्द्रले नै नेतृत्व छनोट गरे पनि प्रष्टताको विषयमा केही शंका उपशंकाहरू बाहिर जाहेर भएको पक्कै छ। ४१ जिल्लामा मात्रै तथ्यपूर्ण ढङ्गले अधिवेशन गरेर केन्द्रीय प्रतिनिधि निर्वाचित भएको हो र अन्य जिल्लाको नेतृत्व स्वीकार्य छैन भनेर भन्ने मत प्रति म सहमत छैन। किनभने यो नेतृत्व चयन भैसकेको छ र अब हामीले फेरि नयाँ नेतृत्व चयन गर्दा समय पनि धेरै विताउनुपर्ने पक्का छ । तर सबैठाउँमा फेयर इलेक्सन भयो भनेरै भन्न सकिने अवस्था पनि छैन । त्यसैले तपाईँले मेरा मत सोध्नु भएको हो मेरो पनि कतिपय जिल्लामा सहमति नहुदाँ नहुदै पनि महाधिवेशन हुने अवस्थामा आलोचनात्मक समर्थनको पक्षमा म छु । ६४ जिल्लाका विषयमा पनि मेरा कतिपय मतहरू मिलेका छैनन्। तर म अधिवेशन सुनिश्चित गर्ने सवालमा ६४ जिल्लालाई टेकेर बाँकी रहेका ११ जिल्लाहरूको पनि अधिवेशन सकेर अघिबढ्नुपर्छ भन्नेमा मेरो मत रहेको छ।