गत जेष्ठ ३० गते देशका सम्पूर्ण राष्ट्रिय दैनिक पत्रिका, टेलिभिजन, रेडियो, चलचित्र गृहमा एउटै विज्ञापन थियो। सायद बजारमा नयाँ ब्राण्डको मदिरा या सौन्दर्य सामग्री या कुनै मोबाइल कम्पनिको नयाँ मोडल बजारमा आएको झै झल्को दिने विज्ञापन झै त्यो दिन विज्ञापन आएको थियो। तर त्यो दिन न मदिरा न सौन्दर्य सामग्री न त कुनै मोबाइल कम्पनीको विज्ञापन थियो। उपभोग्य सामग्री जस्तै करोडै खर्च गरेर प्रचार प्रसार गरिएको थियो। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ पार्टी नयाँ शक्ति नेपालको घोषणा सभाको उनि सञ्चार माध्यममा यसरि छाइरहेका थिए कि बाबुराम भन्ने व्यक्ति वा पात्र नेपाली राजनीतिक इतिहासका लागि वा नेपाली राजनीतिक क्षेत्रका लागि विल्कुलै नयाँ व्यक्ति हुन उनलाई नेपाली जनताले राजनीतिक व्यक्तिका रुपमा यस अगाडि कसैले चिनेकै थिएनन्। उनले प्रचार प्रसार गरेका प्रत्येक सञ्चार सामग्रीमा शान्ति र समृद्धिका पाँच वटा स का आधार देखाइरहेका थिए। उनले देखाएका पाँच वटा स लाई आम जनमानसको दिमागमा रहेको एउटै श ले धुमिल बनाइरहेको थियो। त्यो हो शंकाको श।
शंकाका आधारहरु
विना कारण कसैमाथि शंका गर्नु ठिक होइन र गर्नु हुदैन पनि तर केहि यस्ता व्यक्तिहरु हुन्छन् जसलाई शंका नगरु भन्दा पनि उसका विगतका क्रियाकलाप र गतिविधिले गर्दा शंका उब्जाइरहन्छ। त्यस्तै एक व्यक्ति हुन डा. बाबुराम भट्टराई उनलाई शंका गर्नुपर्ने थुप्रै आधारहरु छन्।
पहिलो आधार, २० वर्ष अगाडि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदा बुझाई मार्क्सवाद, माओवाद, लेलिनवादलाई आधार सिद्धान्त बनाई अब देश निकास र विकासको उपयुक्त मार्ग भनेको सशस्त्र युद्ध हो भनि कथाकथित जनयुद्धको विध्वंशात्मक युद्धको बाटो रोजे जुन अन्य राजनीतिक दल वा सरकारले गलत हो भनिरहेका थिए। आज आएर उनै बाबुराम यो देशका लागि माक्र्सवाद, माओवाद वा कम्यूनिष्ट शासन पद्धतिको औचित्य समाप्त भएको घोषणा गरेका छन्। कुन आधारमा हिजो सहि भनिएको बाटो आज आएर गलत हो भनि औचित्य पुष्टी गर्न सकिरहेका छैनन्।
दोस्रो आधार, बाबुराम भट्टराई नेपाली राजनिति वृत्तका निम्ति उनले भने जसरी नयाँ अनुहार होइनन्। उनि यस भन्दा अगाडी यो देशको अर्थमन्त्री र प्रधानमन्त्री जस्तो गरिमामय पद समालिसकेका व्यक्ति हुन। उनले प्रधानमन्त्रि हुँदा उनले गरेका सम्पूर्ण क्रियाकलाप सर्वविदितै छ। उनले सस्तो लोकप्रियताका निम्ति आफू नेपालमा निर्मित मुस्ताङ्ग गाडि चढेर अगाडि पछाडि करोडौ पर्ने गाडिका लावा लस्कर लगाएकै हुन्। परिवार र नातावाद भन्दा माथि उठन नसकि लोकसेवा, खानेपानी, जस्ता ठाउँमा बाहिरी आलोचना नसुनि आफन्तलाई ठूलै जागिर खुवाइदिएकै हुन्। अन्तमा जननिर्वाचित संविधान सभालाई अरु दलको कुरै नसुनि विघठन गरेकै हुन्। अब पनि मौका पाउँदा यस्ता हर्कत गर्दैनन भन्ने आधार के?
तेस्रो आधार डा. बाबुराम भट्टराई जहिले पनि मानविय संवेदना माथि राजनिति गर्ने मानसिकता बोकेका व्यक्ति मानिन्छन्। हिजो तथाकथित जनयुद्ध सुरु गर्दा गरिबि र अशिक्षा माथि राजनिति सुरु गरे त्यसपछि पछाडि परेका जातजातिलाई जातिय राज्य दिने झुठो आस्वासन दिएर उनिहरुको संवेदना माथि राजनीति गरे। त्यसपछि मधेश आन्दोलन र अहिले आएर बेरोजगारी र जनमानसको असन्तुष्टि माथि राजननीति गरिरहेका छन्। त्यसैले उनिमाथि शंका गर्ने यस्ता थुप्रै आधारहरु छन्। के उनी यि आरोपहरुलाई चिर्दै माथि उठ्न सक्छन?
प्रचन्ड पथबाट छुट्टिएर बाबुराम पथको झझल्को
पटक पटक माओवादीको प्रथम व्यक्ति हुन खोजे पनि प्रचण्डको चतुर शैलिका कारण धेरै पटक माछो माछो भ्यागुतो भएपछि माओवादीसँगको सम्बन्ध विच्छेद गरि राज्यले अवकाश दिएका केहि कर्मचारी, जवानी विदेशमा खर्चिएर देश फर्किएका व्यक्ति, केहि कलाकार, केहि पूर्व माओवादी जम्मा गरेर ठूलै तामझामका साथ करोडौ खर्च गरेर देशै भरिका कार्यकर्ता गाडिमा राखेर राजधानी उतारि रातो टोपि, रातो ज्याकेट, रातै झण्डा बोक्न लगाई रेडियो, टेलिभिजन, पत्रपत्रिकामा आफू एकलौटि छाएर प्रचण्डपथकै शैलिका नयाँ पार्टिको घोषणा गरे र आफू प्रथम व्यक्ति बन्ने सपना पूरा गर्दै नयाँ बाबुराम पथको निर्माणको झझल्को देखाए। के यो नेतृत्वलाई देवत्वकरण गर्ने प्रचण्ड शैली भएन?
अन्त्यमा बाबुराम भट्टराई जबसम्म गर्भमै टुहुरोको पिडा बोकेर आएको व्यक्ति, जवानीमै विधुवाको पिडा बोकिरहेका नारीहरु, बुर्जुवा शिक्षाको संज्ञा दिदै पढाइ छोडन बाध्य बनाई आफ्नो पक्ष लगाएर अहिले खाडीमा भेडा चढाउन विवश बनाइएका जवानहरुका अगाडि उभिएर माफि माग्नु हुन्न, जबसम्म म हिजो हिडेको बाटो गलत थियो, देश वर्षा पछि धकेलिनुमा मेरो पनि हात छ भनेर आत्मा आलोचना गर्नुहुन्न तबसम्म तपाईलाई अझ म जस्ता यूवाले विश्वास गर्ने आधारहरु कमजोर नै हुन्छन। द्धन्दका वेलाका घटनाको विषयमा सत्य निरुपण तथा मेलमिलाप आयोगले दिएको फैसला मान्छु भनेपनि हिजोका पाप पखाल्न नयाँ शक्ति नामको पुच्छर समातेर बैतर्णी तर्न कठिन होला।