arrow

भीष्म पितामहले युधिष्ठिरलाई किन दिए मासु नखान सुझाव ?

के हो त अहिंसा ?

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७७ फागुन ६ बिहिबार
yodhisthir.jpg

 गौरीघाट । श्रीमद्भागवत गीतामा भगवान् श्री कृष्णले अर्जुनलाई २६ वटा दैवी  गुणहरूका बारेमा बताउनु भएको थियो । त्यसमध्ये एक गुण अहिंसा हो ।  साधारण भाषामा हिंसा भन्नाले अरूलाई मार्नु हो । तर हामीले कसैलाई कडा बचन बोल्यौँ भने, वा जानाजान चोट पुर्‍यायौँ भने त्यो पनि हिंसा नै हो ।

संसारमा जन्मेर आएका प्राणीहरूलाई आहार, निद्रा नचाहिने शायद कोही पनि नहोला । मनुष्यलाई पनि आहार, निद्रा चाहिन्छ नै तर ऊ आफ्नो जीवनको स्वादका लागि अनेक प्राणीहरूको जीवन लीला समाप्त गरेर आफ्नो इच्छा पूरा गर्दछ ।
 
हामीहरू साधरणतया आहारलाई दुई नाम दिने गर्दछौँ । एक हो शाकाहारी, अर्को मांसाहारी । साधु, महात्माहरू तथा आध्यात्मिक क्षेत्रका गुरुहरू शाकाहारी तथा सात्त्विक खाना रुचाउने र सोही अनुसार खाने सल्लाह दिनुहुन्छ ।  श्री शिवपुरी बाबा पनि आफ्नो अनुयायीहरूलाई सात्त्विक, शाकाहारी खाना खाने सल्लाह दिनुहुन्थ्यो ।


 कसैले प्रश्न पनि गर्दथे, हजुरले किन शाकाहारी खाना खाने सल्लाह दिनुभएको हो ? यसमा उहाँको जवाफ थियो, 'शाकाहारी खाना हलुका हुन्छ, चाँडै पच्दछ र परमात्मा चिन्तनका लागि यसले मद्दत पुग्दछ । मांसाहारी नत्यागीकन परमात्माको मार्गमा जान कठिन हुन्छ ।'

हिंसक प्रवृत्ति भएका मानिसहरूको सङ्गत तथा जिब्रोको स्वादले गर्दा नै मानिसले प्राणीहरूको हिंसा गर्दछन् । यस्ता व्यक्तिहरूलाई किन हिंसा गरेको भनेर प्रश्न गर्ने हो भने उनीहरूको जवाफ हुन्छ, हामीले यसरी जनावर मारेर नखाने हो भने हामी बस्ने पृथ्वीमा अटाउने ठाउँ नै हुन्न ।

 के त आकाशमा उड्ने काग आदि पक्षीहरूलाई मानिसले खाएर आएका छन् त? के तिनीहरूले आकाश ढाकेका छन्? देवी देवताको मूर्तिमा लगेर जन्मे देखिनै घाँटीमा डोरीले बाँधिएका निर्दोष प्राणीहरूलाई बलि दिइएको देखिन्छ । हुँदा हुँदा त वैज्ञानिक चमत्कारले सृजित वायु यान जस्ता यन्त्रहरूमा पनि बलि दिइएको कुरा पढ्न पाइन्छ, देख्न पाइन्छ ।

भीष्म पितामहले युधिष्ठिरलाई 'जो मनुष्य न आफू मासु खान्छ, न पशुको हिंसा गर्दछ, न ऊ अरूलाई मासु खान प्रेरित गर्दछ, ऊ सबैको प्रियपात्र बन्न जान्छ । जसले ४ महिना मात्र पनि मासु खान छोड्दछ भने उसलाई कीर्ति, आयु, यश र बल लगायतका चार कल्याणकारी वस्तु प्राप्त गर्दछ'भन्ने उपदेश दिंनु भएको हामी पढ्न पाउँछौँ । अस्तु ।

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् ।) इमेल :aamodita@gmail.com



नयाँ