जनकपुर साहित्य महोत्सव: सोच र संस्कार बदल्ने एक मानक


प्रकाशित

काठमाडौं । धार्मिक एवम पौराणिक भूमी हो जनकपुर । मैथिली भाषा साहित्यको उर्वर भूमी पनि हो जनकपुर । कुनै समय बौद्धिक एवम् राजनीतिक जागरणको केन्द्र थियो जनकपुर । किनकी जनकपुर राजनीतिक बहस गर्ने थलो मात्र नभइ वौद्धिक नेता उत्पादन गर्ने स्थल पनि हो । त्यसैले यहाँको परिचयमा विविधता छ । सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, पुरातात्विक, शैक्षिक सबै हिसाबले जनकपुर इतिहासको हिस्सेदार हो ।

तर पछिल्लो राजनीतिक परिवर्तन अर्थात राजनीतिक संक्रमणका कारण जनकपुरले त्यो छवि गुमाउँदै गएको अनुभुत गराउँछ । आम मानिसहरुमा जनकपुरलाई हेर्ने दृष्टिकोण भिन्नता पाइन्छ । जनकपुरप्रति सकरात्मक भन्दा नकरात्मक दृष्टिकोणबाट हेर्ने जमात धेरै छ । त्यो जमातलाई चिर्न र नयाँ सन्देश प्रवाह गर्न स्थानीय मनिष झाको समूह यतिबेला क्रियाशिल छ ।

मनिषले हाँसीखेली हुर्केको र बुझेको जनकपुरलाई उनी परिमार्जनसहित मौलिक जीवनशैली र मानसकितालाई स्थापित गराउन चाहन्छन् । उनी भन्छन्, ‘जनकपुर अष्टावक्र, कार्गी, याज्ञवक्लव्य, जनक राजाको भूमि हो । जहाँ शास्त्रार्थको वहस हुन्थ्यो, मन्थन् हुन्थ्यो । यसले समाजलाई संस्कार सिकाउँथ्यो, सामाजिक दर्शनको जन्म गराउँथ्यो साथै जीवनशैली र मानसिकतालाई पथप्रदर्शन गर्दथ्यो । हो त्यही संस्कारलाई जीवन्त राख्ने हाम्रो अभियान हो’ उनले भने ।

हुनपनि सामाजिक र धार्मिक इतिहास साथै खेलकुद, शिक्षा, संस्कृतिका लागि जनकपुर अब्बल छ । बौद्धिक योगदानको हिस्सेदार यहाँ कुनै समय तराई मधेसका २० जिल्लाका मानिसहरु पढ्न जान्थे । नयाँ विश्वविद्यालय अवधारण ल्याएर सुरेशराज आचार्यले नयाँ योगदान दिएको जनकपुर शैक्षिक केन्द्र नै थियो ।

नेपाली क्रिकेट टोलीका पहिलो कप्तान उत्तम कर्माचार्य देखि देशको पहिलो राष्ट्रपति दिएको जनकपुरले कालान्तरमा छवि विगार्दै गएको अनुभुत गराउँछ । मनिष भन्छन्, ‘जनकपुरलाई मान्छेले सम्झने भनेको गोली चलिरहेको, टायर बालिरहेको, मधेसीले पहाडीलाई हेपेको, सडक भत्किएको भन्ने छ’ तर हामी त्यसमा परिवर्तन चाहन्छौं, ईमेज सुधार्न चाहन्छौं ।’

पछिल्ला केही बर्षहरु आम मानिसले बुझेजस्तो पनि छैन जनकपुर । विस्तारै परिवर्तन आउँदैछ । नेपालको ठूलो उपमहानगरपालिका, सुविधा सम्पन्न विमानस्थल, नेपालको पहिलो रेल्वे स्टेसन साथै धेरै पोखरी भएको शहर जनकपुर पुरानो धारमा फर्किदैछ । यसका लागि साहित्यिक महोत्सव एउटा मानक बन्नेमा मनिष ढुक्क छन् ।

‘५२ कुटी ७२ कुन्डको शहर जनकपुरको सबै परिचय बुझ्दा मन तरङ्गित गराउँछ, केही गरौं गरौं भन्ने सोच पलाउँछ,’ मनिष उत्साहित हुँदै भन्छन्, ‘जनकपुरमा साहित्यिक महोत्सव मात्र होइन, मधेसका अन्य जिल्लामा भिन्न अवधारणासहितको अभियान हामीले शुरु गरिसकेका छौं ।’

१४-१५ औं शताब्दीतिर हेटौंडाका मानिक सेन राजाले १४ सय विघा जग्गा दान दिएर वा चन्द्रकिशोर दास र चर्तुरभुज गिरिले पुनःनिर्माण गरेको जनकपुरलाई नमूनाका रुपमा स्थापित गराउने अभियानमा साहित्यिक महोत्सवको तयारीमा जुटेको नव मिथिला फाउन्डेसन पनि हिस्सेदार बनेको छ ।

जनकपुरप्रति केही समय अघिको सोचाइ
–एकताका चर्चित कुटुम्ब ब्यान्ड आफ्नो प्रस्तुतिका लागि जनकपुर जाने भएछ । तर ब्यान्डका सदस्यहरुले तयारीको क्रममा भनेछन्–‘जनकपुरमा जिन्स पाइन्ट लगाउन पाइँदैन रे, जुत्ता लाउन पाइँदैन रे, चप्पल लाउनुपर्छ रे, कटन पाइन्ट लाउनुपर्छ रे ।’

–केही बर्षअघिको मधेस आन्दोलनका कारण धेरै ब्यापारी पीडित थिए । तत्कालीन उद्योग वाणिज्य संघका अध्यक्ष सुरज बैद्यको टोली जनकपुर जाने भएछ । टोलीसँग अध्यक्ष वैद्यका नाताले मामा पर्ने शेर्पा थरका एक ब्यक्ति पनि सँगै यात्रामा रहेछन् । तर बर्दिवास पुगेपछि शेर्पाले जनकपुर नजाने निधो गरेछन् । कारण रहेछ, ‘त्यहाँ पहाडीलाई कुटपिट गर्छन, अभद्र व्यवहार गर्छन् । पहाडियालाई लखेट्छन् ।’

–काठमाडौं बत्तीसपुतलीका राजेश्वर जोशी साइकल यात्री हुन् । उनी एक समय साइकल यात्रामा जनकपुर जान निस्किएछन् । यात्रा गर्नलाग्दा उनकी आमाले जानलाई रोकिछन्  । ‘त्यहाँ तँलाई ज्यूँदै जलाइदिन्छन, नजानु’ भनेपछि जोशी अलमलमा परेछन् ।

तर यी सबै दृष्टान्तहरुको जिम्मेवारी लिएर आफूले काम गरेको अनुभव मनिषसँग छ । माथिका पात्रहरुले जे सोचे, ति सबै परिवर्तन गराउन सफल भएकोमा उनी गमक्क छन् । उनले सुनाए, ‘यी कुराहरु उहाँहरुबाट सुनेपछि ढुक्क बनाउन र सोच बदल्न सफल भएको छु,’ उनले भने, ‘कुटुम्ब ब्यान्ड यतिबेला जनकपुरलाई पहिलो घर भन्न रुचाउँछ, शेर्पा मामा हाम्रो सम्मान पाएर खुशीले रुँदै फर्किनुभएको छ अनि बत्तीसपुतलीका जोशी दाई बर्षेनी जनकपुर पुग्न थाल्नुभएको छ ।’

तराई-मधेसप्रतिको सोच बदल्न मानक मानिएको जनकपुरमा साहित्य महोत्सव मात्र होइन मनिषकै अगुवाइमा भइरहेको सिरहामा संगीत महोत्सव, बारामा हात्ती महोत्सव, निजगढमा चुरे सम्मेलन सोच र संस्कार बदल्न सहयोग पुर्याउने हिस्सेदार हुन् । गतिलो माध्यमहरु हुन् । जसका कारण धेरै मानिस जनकपुर आउन्, तराई मधेस घुमुन् ।

पृथक साहित्य महोत्सव 

यही फागुनको १९ देखि २२ सम्म जनकपुर साहित्य महोत्सव चल्दैछ । महोत्सवले सबैलाई समेट्न नसक्ला । महोत्सवप्रति धेरै व्यक्तिहरुले अपनत्व महशुस गर्न नपाउलान् तर जनकपुरप्रतिको आम बुझाइमा परिवर्तन ल्याउन गतिलो माध्यम बन्नेमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत पनि विश्वस्त छन् ।

मुख्यमन्त्री आफैं महोत्सवमा पाहुनाहरुलाई निम्त्याइरहेका छन् । ‘गतबर्ष मुख्यमन्त्री ज्यूलाई महोत्सवको अवधारणा र यसले ल्याउन सक्ने परिवर्तनका बारेमा बुझाउनै कठिन भयो, यसबर्ष उहाँ महोत्सव सफल बनाउन स्वयं कस्सिनुभएको छ, हामी उत्साहित छौं,’ महोत्सवका संयोजक समेत रहेका मनिषले सुनाए ।

गतबर्षको महोत्सव बुकवर्म फाउन्डेसनले आयोजना गरेको थियो । यसबर्ष नव मिथिला फाउन्डेसनले जिम्मेवारी लिएको छ । गतबर्ष १२ सत्रमा महोत्सव सकिएको थियो यसबर्ष १८ सत्र चल्दैछ । जसको प्रत्येक सत्रमा प्रदेश २ बाट कोही न कोही प्रतिनिधि हुनेछन् । फरक स्थानमा कार्यक्रम हुँदैछ ।  एउटा सत्र विवाह मन्डपमा हुन्छ भने उदघाटन जानकी मन्दिरमा हुनेछ । कवि गोष्टी गंगासागरमा भयो भने सन्ध्याकालिन सत्र गोपाल धर्मशाला हुनेछन् । अन्य सत्र सोही अनुसार छनौट गरिएको छ ।

भौगोलिक हिसाबले अथिति छनोट गरिएको छ । नेपाल, भारत, बंगलादेशदेखि इलाम र सुर्खेतसम्मका प्रतिनिधिहरु मन्चमा बसेर अनुभव साट्नेछन् । कुरा बाँड्नेछन् । यसले अर्थतन्त्र र साहित्यलाई, संस्कार र अर्थतन्त्र सँगसँगै समेट्ने मनिषको बुझाइ छ । नव मिथिला फाउन्डेसन, बुकहिल पब्लिकेसन र सानो पाइला महोत्सवका आयोजकका रुपमा छन् । 

महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, सभ्यता, राजनीतिलगायतका विषयमा बहस र मन्थन हुनेछ । जनकपुर क्षेत्रको उत्थान, साहित्य, सभ्यता र संस्कृतिको प्रचारका निम्ति महोत्सवले दूतका रुपमा काम गर्नेमा मनिष विश्वस्त छन् ।

साहित्य महोत्सवका निर्देशक दिलभूषण पाठकले महोत्सवले साहित्य, पर्यटनका साथै सारा नेपालीलाई जोड्न मद्दत गर्नेमा आशावादी छन् । ‘सामाजिक मूल्य-मान्यता र नैतिकता हराउँदै गइरहेका बेला यो साहित्य महोत्सवले सबै वर्गका पाठक र आम जनमानसलाई विभिन्न बहसमा सहभागी गराएर जनकपुर एकताको सूत्रमा जोड्नेछ र देशको पठन संस्कृतिमा योगदान दिनेछ ', उनले भने ।


प्रतिक्रिया :

नयाँ