- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गौरीघाट । विष्णु सहस्र नाम पाठ गर्दा हामी श्रीकृष्णलाई नै अनेक रूपमा पुकारी रहेका हुन्छौं । भीष्म पितामहले पनि शरशैयामा सुतेको वेलामा यही स्तुति गरेर प्राण त्याग गरेका थिए ।
ब्रह्मा, विष्णु, महेश्वरका पनि आ आफ्नो शक्ति प्रकृति रूपमा रहेका छन् । महालक्ष्मी विष्णुका शक्तिका रूपमा, सरस्वती ब्रह्माको शक्तिका रूपमा तथा पार्वती शिवकी शक्ति रूपमा छन् । उहाँहरूको सन्तानको जन्म प्राकृतिक रूपमा हुँदैन । ईश्वरीय सत्ता एउटै भए पनि शिव पुराणमा शिवजीलाई सर्वश्रेष्ठ, देवी भागवतमा देवीलाई नै सर्वश्रेष्ठ, विष्णु पुराणमा विष्णुलाई नै सर्वश्रेष्ठको रूपमा वर्णित गरिएको छ ।
पर्वतराज हिमालयकी छोरी पार्वतीको श्री शिवजी सँग विवाह भएको थियो । धेरै समय बित्यो तर कुनै सन्तान भएको थिएन । एक स्त्रीलाई बच्चा नहुनु भौतिक रूपमा सन्तोष हुँदैन भन्नु अत्युक्ति नहोला । आफूबाट सन्तान नभएको गुनासो पार्वतीले शिवजीलाई गर्नुभयो । उहाँले हजुर जस्तो पति भएर पनि मैले सन्तान पैदा गर्न सकिन, किनभने अहिले हामीले गरेको पुण्य पछि पछिका लागि सुखको साधन बन्न जान्छ, तर पुत्रले भने यस लोकमा पनि परलोकमा पनि सुख दिने हुन्छ । त्यसमा पनि झन् सत् चरित्रवान् पुत्रले त पतिको जस्तै सुख दिन्छ, दुष्चरित्रको छ भने मनलाई दुःख दिई नै रहन्छ । उनको यस्तो गुनासो सुनेपछि श्री शिवजीले उनलाई श्री कृष्णको पूजा गरी पुण्य नाम गरेको व्रत पूर्ण रुपले गर्यो भने भगवान् श्रीकृष्ण नै तिम्रो पुत्र रूपमा अवतरित हुनुहुनेछ भनेर व्रत गर्ने सल्लाह दिनुभयो ।
पार्वतीले पनि भगवान् श्रीकृष्णको पूजा गर्न लागिन् । पूजा समापनको दिन श्री शिवजीले पनि अनेक देवगण, ऋषि, मुनि तथा ब्राह्मण आदिलाई निमन्त्रणा उत्तम भोजन तथा दक्षिणाले सबैको चित्त बुझाउनुभयो । सबैले पार्वतीको मनोकाङ्क्षा चाँडै नै पूरा होस् भनेर आशिर्वचन दिएर आ आफ्नो स्थानमा फर्केर गए ।
त्यस व्रतका पुरोहित सनतकुमारजी हुनुहुन्थ्यो । उहाँले यज्ञान्त दक्षिणामा नाशवान वस्तु नलिने तर आफ्नो अभिष्ट दक्षिणा भने लिने भनेर पार्वतीजीलाई भन्नुभयो । पार्वतीले तपाईंको अनिष्ट दक्षिणा के हो त भन्दा उहाँले मेरो अनिष्ट दक्षिणा श्री महादेव स्वयं हुनुहुन्छ भन्ने जवाफ दिनुभयो ।
आफ्नो पतिलाई दक्षिणा स्वरूप दिने कुरा सुनेर पार्वती मुर्छा पर्नु भयो । श्रीकृष्णको योगमायाको प्रभावले उनको बुद्धि मोहित भएको थियो । देव सभा बसिरहेको थियो । ब्रह्मा, विष्णु गएर शिवजीलाई सबै वृत्तान्त बताउनु भयो ।
सबैको आग्रह बमोजिम शिवजी पार्वती मुर्छा भएको ठाउंमा जानुभयो र सबै वृत्तान्त बुझेपछि भन्नुभयो, 'तिमी जस्तो त्याग मूर्तिले यस्तो जाबो कुरामा किन हात कमाएको, पुरोहितले भने अनुसार देऊ ' भन्नुभयो । उनले शिवजीको वचन मानेर पुरोहित (सनतकुमार) लाई महादेव दक्षिणाको रूपमा दिनुभयो ।
सनतकुमारले महादेवलाई लिएर प्रस्थान गर्नै लागेको वेलामा पार्वतीलाई खेद भएको देखेर नारायणले भन्नुभयो, 'हे माता, विष्णुको शरीर पनि गाई नै हो, शिवजीको देह पनि विष्णु कै हो, त्यसैले म गाई दक्षिणा रूपले दिन्छु' भनेर सनतकुमारलाई बताउनु पर्ला भन्ने सल्लाह दिनु भएपछि पार्वती प्रसन्न हुनुभयो । उनले 'एक गाईको मूल्य मेरो पतिकै जत्ति हो । म तपाईँलाई एक लाख गाई दिन्छु ' भन्नुभयो । सनतकुमारले यो प्रस्ताव मान्नुभएन ।
पार्वतीले हरे, मैले एक वर्षको तपस्या गरेँ, कष्ट सहें, पुत्र प्राप्ति त कता हो कता, भएको एउटा पति पनि गुमाउनु पय्रो भनेर चित्त दुखाइन् । यत्तिकैमा त्यहाँ उपस्थित ऋषि मुनि लगायत पार्वतीले पनि आकाशमा एउटा तेज पुञ्ज देखिन् । त्यो तेज पुञ्जको चमकले सबैको आँखा बन्द भयो तर पार्वतीले भने त्यो तेजको भित्र विद्यमान पीताम्बरधारी श्रीकृष्णको दर्शन पाइन् र हजुर जस्तै पुत्र चाहियो भनेर स्तुति गर्नुभयो । उहाँको स्तुति पछि मनोहर रूपका श्रीकृष्ण अलप हुनुभयो ।
शिव पार्वती कुटीमा एकान्तमा बसिरहनुभएको थियो । यत्तिकैमा एउटा दुब्लो, बुढो मानिसले गुनासो गरे, हे जगतका माता पिता म सात दिनको उपवासपछि भोकाएको छु, हजूरको शरणमा आएको छु भने । पार्वतीले तपाईँ के खानुहुन्छ त भनेर सोध्नुभयो । उनले भने, मैले हजुरले धेरै दान, व्रत गरेको सुनेको छु, त्यसैले मलाई पनि दूध, लड्डु, रोटी आदि खान दिनुस्, जसले मेरो पेट बढेर लामो होस् । मलाई लम्बोदर मान्नेछन् ।
पार्वतीले यति सोध्दा सोद्धै ती पुरुष बिलाए तर हे माता जसलाई तपाईँले पाउने चाहना गर्नुभएको थियो, त्यो तपाईँको घरमा आई सकेको छ, भित्र आएर हेर्नुहोस् भन्ने आकाशवाणी भयो । पार्वतीले आफ्नो हात पाउ फैलाउँदै शय्यामा सुतेको वालक श्रीकृष्णको दर्शन पाउनुभयो र आफ्नो स्तनपान गराउनु भयो । भगवान् शिवजीले पनि त्यो वालकको बल, बुद्धि, पराक्रम देखेर उनको नाम 'गणेश' राख्नुभयो ।
(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् ।)
इमेल :aamodita@gmail.com