arrow

'टीकेप्रथालाई तोड्नको लागि नेविसंघ अध्यक्षमा नीलकण्ठको उम्मेदवारी'

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७३ असार ९ बिहिबार
nilakantha-rijal.jpg.jpeg

राजनीतिक पृष्ठभूमिमा हुर्किएका तथा बिद्यार्थीका मुद्दाहरुमा लामो समयदेखि लाग्दै आएका नीलकण्ठ रिजालले नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा केन्द्रीय अध्यक्षको आकांक्षीको रूपमा आफूलाई प्रस्तुत गरेका छन्। विद्यालयमा पढ्दादेखि नै मनमनमा नेपाल विद्यार्थी संघको भावना बोकेर राजनीतिमा लाग्ने रिजालले वि सं २०४८ सालमा नै नेपाल विद्यार्थी संघ हिल्वर्ड मा. वि.क्याम्पस चितवन इकाइका सचिव, अध्यक्ष हुँदै वीरेन्द्र क्याम्पस चितवनका स्ववियू सदस्य–२०५३, स्ववियू सचिव–२०५४ समेत भईसकेका छन् । उपत्यका प्रवेशसँगै फोट्स कलेजमा अध्ययन सुरू गरेका रिजालले क्याम्पस कार्यसमितिको अध्यक्ष–२०५९, नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य २०६२ र २०६४मा हुँदै २०६४ सालमै नेपाल विद्यार्थी संघको सहमहामन्त्री समेत भईसकेका छन् । आफूलाई अहिलेको नेविसंघ महाधिवेशनमा अध्यक्षका आकांक्षी मध्ये सबैभन्दा कान्छो दाबी गर्ने रिजालले आफूले ६८ जिल्ला भ्रमण गर्दा धेरै साथीहरूको रोजाईमा आफू परेकोले अध्यक्षमा उम्मेदवारी दिन लागेको दाबी गरे । उनी आफ्नो जीत सुनिश्चित रहेको भन्दै नयाँ र ताजा एजेण्डा बोक्नेलाई साथीहरूले मनपराउने कुरामा आफू जानकार रहेको भन्दै आफू नेतृत्वमा पुगेपछि नेविसंघले नयाँ विकासको फड्को मार्ने दाबी उनले गरे। अध्ययनशील भनेर चिनिने रिजालसँग अबको महाधिवेशनको सेरोफेरोमा रहेर हामाकुराका सुदर्शन अर्यालले गरेको कुराकानीको सम्पादित अंश:

नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा अध्यक्षको पदमा तपाईको दाबी किन ? के कुर्सीको लागि हो या त केही भिजन बोकेर अध्यक्षको लागि दाबी गरिरहनुभएको हो?

मेरो लागि पद मात्रै ठूलो कुरा त होईन तर अहिलेको हाम्रो नियती नै के रहेको छ भने केही गर्नको लागि र आफ्नो भिजन राख्नको लागि आफैं नेतृत्वमा पुग्नैपर्ने अवस्थालाई केन्द्रीत गर्दै मैले अध्यक्ष पदको लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेको हो । म उमेरले युवा शक्तिको जोश बोकर हिँड्ने उमेरको छु । अर्थात अरू भन्दा कलिलो छु । मैले बोकेका एजेण्डाहरू अरूको भन्दा फरक छन् । मैले लिएका बाटोहरू अरूको भन्दा फरक छन् । मलाई माया गर्ने साथीहरू अरूको भन्दा बढी छन् । त्यसैले कुनै पनि नेतृत्वलाई सफल उर्जा दिनको लागि कुनै पनि नेताले टीका लगाएर दिएको नेतृत्व होईन विद्यार्थीको मन जितेर आएको नेतृत्व आवश्यक छ भन्ने सोचर म कुनै पनि नेताको घर धाएको छैन जति म विद्यार्थीको घर धाएको छु । फेरि मैले भनेको सानो उमेरले मेरो कमजोरी देखाउने ठाउँ पनि धेरै भेटिएला । तर म आफू आफैंमा अपरिपक्व भने छैन यो सबैलाई ज्ञान हुनु जरूरी छ । सोच र भिजन बोकेर हिँड्ने म कुनै पनि राजनीतिक दल कुनै नेताको पछि लागेर होइन संगठनलाई सैद्धान्तिक रूपमा अगाडि बढाउनको लागि मैले अध्यक्षको रूपमा आफूलाई अगाडि सारेको हुँ ।

तपाईँले यसो भनिरहँदा तपाईँलाई नै यो पक्षको भनेर भन्नेहरू पनि त प्रसस्तै भेटिन्छन् नि ?

म कसले के भने भनेर त्यको पछि हिँड्दिन । नेपाल विद्यार्थी संघ नेपाली काँग्रेसको भातृसंस्था भएको नाताले मैले पार्टीका केही नेताहरूसँग भेट्दैमा, उनीहरूसँग केही सल्लाह र सुझाव, आशीर्वाद लिँदैमा मलाई यो फलानो गुटको भयो भनेर कसैले भन्छ भने म त्यसको प्रतिउत्तर दिन चाहन्न तर  म के भन्छु भने मेरो गुट भनेकै मेरा विद्यार्थी साथीहरू हुन् मेरो पक्ष भनेकै विद्यार्थी साथीहरू हुन् । मैले आफूलाई नेतृत्वमा पुर्याउनको लागि कसैले नीलकण्ठ रिजालको वर्ण कालो रैछ । अग्लाई यस्तो रैछ, भन्ने गर्दैमा मैले सोही विशेषता सुधार गर्ने हैन । मैले आफू सहमहामन्त्री हुँदाको बखत केही बैचारिक परिवर्तनको बाटो खोलेको थिएँ । त्यसैले म आफ्नो एजेण्डा र बैचारिक बाटोबाट आफूलाई सुन्दर बनाउने पक्षमा छु न कि आफ्नो देखावटी सुन्दरता र कुनैपनि नेताको टीके नेतृत्व ।

आफूलाई बैचारिक रूपले सुन्दर र बलियो रहेको कुरा त बताउनु नै भयो । आफूलाई अध्यक्षको रूपमा जिताउनको लागि कस्ता चुनावी एजेण्डाहरू बोक्नु भएको छ ?

मैले नेपाल विद्यार्थी संघको ११ हौं महाधिवेशन नै भएकोले ११ वटै चुनावी एजेण्डाहरू आम मतदाता सामु प्रस्तुत गर्ने तयारी गरेको छु । जस अन्तर्गत् मैले निशुल्क शिक्षा, बैज्ञानिक शिक्षा, रोजगारमूलक शिक्षा, शैक्षिक क्षेत्रमा व्यापारीकरण र राजनीतिकरणको अन्त्य गर्नु मेरो पहिलो चुनावी एजेण्डा रहेको छ । त्यसैगरी मैले संविधानमा नै सरकारी कर्मचारी, प्राध्यापक लगायत सरकारी तलब र भत्ता खाने कर्मचारीका छोराछोरीलाई सरकारी स्कूल र क्याम्पसमा नै अनिवार्य पढाउनु पर्ने व्यवस्थाको लागि पहल गर्ने, विद्यार्थीलाई सडक, हवाई र स्वास्थ्य सेवामा समेत ५० प्रतिशत छुटको सुविधा लगायतमा माग गरेको छु । मेरो चुनावी घोषणापत्रको तेस्रै नम्बरमा परेको विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखी ऋण दिने व्यवस्थाको कुरा त अहिले लागू नै भईसकेको छ । मैले बोकेका एजेण्डाहरू र मैले लिएका लक्ष्यहरू कतिपय त पूरा पनि भईसकेको छ । तर पनि अबको दिनमा मैले अध्यक्षको जिम्मेवारी पाएको खण्डमा बाँकी काम पूरा गर्नको लागि मैले गम्भीरतापूर्वक पहल गर्नेछु ।

अहिले आफूले विजयको कुरा गरिरहँदा तपाईँ आफूले विजय हाँसिल गर्ने आधारहरू के के हुन् ?

मैले तपाईँसँग कुरा गरिरहँदा मैले नेविसंघ प्रति देखाएको लगाव, मैले नेविसंघमा रहेर गरेको कामको मुल्याङ्कन र लामो समयसम्म आफ्ना अग्रजहरूसँग बसेर गरेको नेविसंघको सक्रिय राजनीति नै मेरो जीतको सबैभन्दा ठुलो आधार हो जस्तो मलाई लागिरहेको छ । त्यसैगरी एउटै संगठनका साथीहरूलाई एउटै बास्केटभित्र राखेर उनीहरूलाई एकीकृत गर्नसक्ने र उनीहरूसबैलाई कसैलाई काखा र कसैलाई पाखा नगर्ने प्रवृत्ति नै मेरो जीतको मूल आधार हो भन्ने मैले ठानेको छु । त्यस्तैगरी अहिले विद्यामान रहेको लामोसमयसम्म पनि संगठनको निर्वाचन हुन नसक्दा कयौं उर्जावान् शक्तिहरू त्यसै खेर गईरहेको अवस्था हो । यसको लागि मैले संगठन सुधारको लागि पनि नयाँ एजेण्डा र भिजन बोकेर हिँडेको छु । त्यो पनि मेरो जीतको लागि अर्का आधार हो । त्यस्तैगरी महाधिवेशन भन्ने वित्तिकै निर्वाचनलाई नै बुझ्ने प्रवृत्ति छ । यसलाई सुधार गरेर महाधिवेशनले नयाँ नयाँ र प्रगतीशील योजनाहरू ल्याउनुपर्छ भन्ने एजेण्डा मेरो हो । त्यस्तैगरी दुईदुई वर्षमा हुने महाधिवेशन नहुँदा नेविसंघ नै निष्कृय बनेको छ । यदी दुई वर्षमा महाधिवेशन हुन नसकेको खण्डमा स्वतः अबैधानिक हुने कुरा विधानमा नै उल्लेख गर्नुपर्छ भन्नेकुरा मैले बोकेर हिँडेको छु । मेरो दोस्रो एजेण्डा भनेको एउटै व्यक्ति एउटै पदमा वर्षैसम्म बसिरहेका छन् । यो प्रवृत्तिको पनि औषधि खोज्नुपर्ने मैले देखेको छु । काँग्रेसमा नेविसंघमा हेर्ने हो भने एउटा पुस्ताले अर्का पुस्तालाई पेल्ने र हेप्ने प्रवृत्ति मैले देखिरहेको छु । यो प्रवृत्ति अन्त्य गर्नुपर्ने मैले देखेको छु । यो रोक्नुपर्ने मैले देखेको छु । जसको लागि ‘वन मेन वन पोष्ट’को व्यवस्था गर्न म लागि  पर्नेछु ।

अरू ले त मैले यसो गरेँ, उसो गरेँ भनेर धेरैले भन्ने गरेका छन्, तपाईँको दबाबमा पनि मुलुकको शैक्षिक व्यवस्था र प्रणालीमा कुनै सुधार आएको घटना छ ?

यस्तो घटनाको कुरा गर्दा त मैले अघि भने १० प्रतिशत छात्रबृद्धिको कुरा त । तर कतिपय अवस्थामा के हुन्छ भने नेतृत्व आवश्यक हुन्छ । आफूले भिजन र एजेण्डा बोकेर जाँदा पनि हामीले आफू नेतृत्वमा नपुगेकै कारणले आफूले नेतृत्व नगरेकै कारणले आफ्ना एजेण्डाहरू स्थापित गराउन नसकिकरहेको यथार्थ हामीले भोगिरहेका छौं । त्यसैले मैले यदी आफू नेतृत्वमा पुगेँभने कुनैपनि सरकारी शिक्षकले या त सरकारी कर्मचारीले आफ्ना छोराछोरीलाई नेपालकै विद्यालयमा पठाउनुपर्ने व्यवस्था संविधानमा नै गर्न पनि मैले माग गरिरहेको छु ।

अबको नेविसंघ कस्तो बनाउने लक्ष्य लिनु भएको छ तपाईँले ?

मेरो कल्पनाको नेविसंघ भनेको टीकेप्रथाको अन्त्य सहितको नेविसंघ हो । मेरो परिकल्पनाको नेविसंघ अनुशासित र भद्र नेविसंघ हो । किनभने अहिलेको नेविसंघ भनेको कसैको वाहवाहीमा लगाईदियो भने त्यतै जान्छ भन्ने सोचाई अहिले सबैमा रहेको छ । तर, म एउटा यस्तो अनुशासित नेविसंघ बनाउन चाहन्छु कि जहाँ नेतृत्व जित्नको लागि नेताहरूको घर धाउन नपरोस् । जहाँ नेतृत्व जित्नको लागि विद्यार्थीको हक र हितको एजेण्डा बोकेर अघि बढ्न सकियोस् । कसैले महंगी र भ्रष्टाचारको अन्त्य चाहिरहेको छ भने उसले सबैभन्दा पहिले नेपाल विद्यार्थी संघलाई सम्झियोस्  र नेविसंघले पनि यस्ता एजेण्डालाई आफ्नो मूल एजेण्डा बनाउन सकोस् । मेरो कल्पनाको नेविसंघ यही हो र मैले नेतृत्व पाएको खण्डमा यसलाई पूरा पनि गरेर देखाउँछु । त्यसैगरी समयमा नै निर्वाचन हुने, अधिवेशन हुने र सबैले सबैलाई सम्मान गर्नसक्ने स्थिति सहितको नेविसंघ मेरो परिकल्पनाको नेविसंघ हो । नीलकण्ठ रिजाल कुनैपनि गुटले बोकेर आएको नेतृत्वको आकांक्षी होईन त्यसैले मात्रै मतदाताको मायाँ खोजिरहेको मैले मतदाताको माया पाउनेमा त ढुक्क छु । बैचारिक रुपमा दह्रो तथा लोकतान्त्रिक मुल्य मान्यताको अनुशरण गर्न सक्ने तथा बिद्याथी हक हितको लागि जुटेर लाग्न सक्ने बनाउने मेरो सोच छ । बिद्यार्थी कस्तो हुनु पर्छ भन्नेबारेमा मैले पुस्तक नै लेखिसकेको छु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ