arrow

त्यसैले हाँसौ मजाले

logo
युवराज गौतम
प्रकाशित २०७७ चैत ७ शनिबार
yauaraj.jpg

विश्वव्यापी कोरोना भाइरसको संक्रमणले धेरैको मन कुँडिएको छ । कतिपयको घर परिवारमा शोक परेको छ । तर पनि महामारीको त्रास न्यून हुँदै गइरहेको बेला कतिपयको ओठमा हाँसो देखिए पनि मन हाँस्न सकेको छैन । तर हाँस्नु जीवनका लागि अति लाभदायक छ । कहींकतै बाटोमा हिंडदै गरेको मान्छे मनमा कुरा खेलाउँदै एक्लै हाँस्यो भने त्यसलाई हेरिरहेको अर्को मानिस स्वयम हाँस्न थाल्छ । खित्का छोडेर हाँसिरहेका मान्छेहरुको हुलमा अर्को  अपरिचित मान्छे मिसियो भने उ पनि उसैगरेर हाँस्न थाल्छ । सुरमा ताल मात्र मिल्नु पर्छ हाँस्नुको कुनै सीमा नै हुँदैन सायद । त्यसैले जहाँ गएपनि एउटा न एउटा मान्छे हाँसिरहेकै भेटिन्छ । हाँस्नलाई सिक्नु पर्दैन, जन्मदै सिकेर आइन्छ ।

कतिपय मान्छेहरु कसैको हाँसो देखेर त्यसको चर्चा गर्छन । हाँस्दा कसैको गालामा डिम्पल बस्यो भने त झनै प्रसंसा हुन थाल्छ ।  साच्चिनै हाँस्नु एउटा सामान्य जिवन शैली नै हो । भर्खर जन्मेको बच्चा पनि हासिरहेको हुन्छ । सयमा विसजना मानिस रोएको भेटिए भने अस्सी जना मान्छे हासेको भेटिन्छन । तर हाँस्नुको कारण मात्र फरक हुन्छ । कोही कुनै कारणले कोही विनाकारणले हाँस्छ । त्यसैले त हँसाइको चर्चा हुन्छ ।

जीवन जिउने एउटा उत्कृष्ट शैली हो हासो । सबै पिरहरुलाई भुलेर हास्न सक्नु नै जीवनको सार्थकता हो । हाँस्य कलाकार गणेश इशाराको शब्दपिच्छे हाँसो भेटिन्छ । उनी पलपलमा हाँस्न सक्छन । ‘हाँस्दा आत्मसन्तुष्टी मिल्छ,’ उनले हाँस्नुको कारण बताए । इशाराको बुझाईमा, ‘सबैको जीवनमा हास्नुको अर्थ यति धेरै महत्वपूर्ण हुन्छ जबकी उसले पूरै जीवनका दुखान्तहरुलाई भुलिसकेको हुन्छ । त्यसैले हासेर नै बाँच्नु राम्रो हुन्छ ।’ इशाराको विचारसँग कलाकार नयन डिसी उस्तै ढंगले स्विकार्छन्, ‘हो एक पल्ट पाइएको जीवनलाई कसले निरस बनाउन चाहान्छ र ! हासेरै बाच्ने हो । हासेर बाँच्दा जिवनको अर्थ जति रहन्छ त्यति रहन्न जस्तो लाग्छ निरस भएर बाँच्दा ।’ उनले थपे,‘म त नहाँसी बस्न त एकक्षण पनि सक्दिन सायद जीवनमा रुनु नपरोस कहिल्यै ।’

फोटो पत्रकार नविन गुरुङको जीवनमा धेरै त्यस्ता क्षणहरु आए होला जसले उनलाई रुवायो पनि । यही मेसोमा उनले एउटा कविताको हरफ सुनाए,‘हाँस्नेहरु हाँसिरहुन, जित हाँस्नेहरुकै हो, रिसाउनेहरु रिसाइरहुन रिस आफ्नै लागी हो ।’ उनी रुन चाहँदैनन् किनभने जीवन हासेरै बाँच्नुमा जति सन्तुष्ट होइन्छ त्यत्ति भावुक भएर बाँच्दा होइँदैन ।

कमेडियन उमेश यूकेजी जीवनलाई हाँस्ने बाटोमा हिडाउन चाहन्छन् । उनको हसाउने बानी छ । उनको जीवनशैली पनि हाँसोमय नै छ । उनी भन्छन् , जीवन खोजेर फेरि फेरि पाइँदैन । रोएर बाँचिदैन हाँसेरै बाचिन्छ यदि संसार जितिन्छ भने हाँसेरै जितिन्छ । हास्ने मान्छे जति सुन्दर रुने मान्छे हुँदैन । त्यसैले शायद जिन्दगीमा कहिल्यै रोइदैन होला ।’

माथिका हाँस्ने पात्रहरुमात्र होइन पत्रकार जीवन शर्मा पनि जीवनलाई रसिलो बनाएरै राख्न चाहन्छन् । हासेरै बोल्ने उनको बानी छ । दिल खोलेर हाँस्दा मान्छे जति राम्रो देखिन्छ त्यति नै असहज देखिन्छ भावुक भएर बस्दा । क्याम्पसे तन्नेरीहरुको क्याम्पस लाइफ साँच्चै रमाइलो र हाँसोमय भेटिन्छ । उनीहरु जीवनशैलीलाई हाँसोमय वनाउन चाहन्छन ।

रंगकर्मी राज शाह भन्छन्,‘रस विनाको कागती र हाँसो बिनाको जीवन एउटै हो’ मनमा जत्ति नै पीडा भएपनि हाँसेरै बाँच्ने हो ।’ विना हासो न त जीवन सुनौलो नत रसिलो नै । साँच्चै जीवनको अर्थ त हाँसोभित्रै पो छ । सबैको् एउटै उत्तर पाइन्छ  अनि जीवन शैलीको अत्तिउत्तम शैली नै हाँसो हो । वास्तवमा हाँस्दा मानिसलाई आत्मसन्तुष्टी मिल्छ । हास्नु स्वास्थ्यका लागि पनि उत्तम मानिन्छ ।

हुनत कतिपय मानिसहरुको हाँसोमा पीडा लुकेको पनि हुन सक्छ । तर पीडा लुकाएर हाँस्न सक्नु पनि महानता हो । जीवनलाई हाँसोमय विताउन आत्याध्मिक चिन्तनले प्राथमिकतामा राख्दछ । स्वामी ओशोको तपोबनमा हाँसोको विषयमा ‘नो माइण्ड’ कक्षा नै चल्दछ । कक्षामा एकहप्तासम्म नियमित हाँस्ने मात्र काम हुन्छ । हाँस्ने अभ्यास गराएर मानिसलाई तन्दुरुस्त बनाउन भारतका कतिपय शहरहरुमा ‘लाफ्टर क्लब’हरु सञ्चालनमा छन ।

भारतका एकजना डाक्टर मदन कतरियाले सन् १९९५ मा यस्तो क्लबको स्थापना गरेर हाँसो मार्फत थेरापीको सुरुवात गरेका थिए । क्लबमा विभिन्न तरीकाले हाँस्न सिकाइन्छ । अन्तराष्ट्रिय स्तरमा गरिएको एक अध्ययनले बच्चाहरु दिनमा तीनसय पटक सम्म हाँस्ने गर्छन भने वयस्कहरु १५ देखि २० पटकसम्म हाँस्ने गरेको तथ्यहरु पत्ता लागेको छ ।

हाँस्दा मानिसको अनुहारको अभ्यास हुने साथै फोक्सो, हृदय साथै मस्तिष्क लगायतका शरीरका अंगहरुको व्यायाम हुने गरेकाले जतिसक्दो हाँस्नु उपयुक्त ठानिन्छ । विश्व जागरण अभियान, वानेश्वरका स्वामी गुरु विनोद (विनोद शर्मा) हरेक मानिसले हाँसोलाई जीवनको हिस्सा बनाउन सुझाव दिन्छन । गुरुको बुझाइमा हाँस्न नसक्नेहरुमा मानसिक अस्वस्थ्य देखापर्ने गरेको छ ।

त्यसैले २४ घण्टामा आधा घण्टामात्र हाँस्न सकियो भने डाक्टरकोमा जानुपर्ने झन्झटबाट मुक्त हुन सकिन्छ, गुरुले सुझाए । तर हास्दा पनि विचार पुर्‍याउनु पर्नेहुन्छ । गर्भवती महिला, अल्सर, हर्निया रोगीले सौम्य हाँसो मात्र हाँस्नुपर्छ । चिन, जापान जस्ता मुलुकहरुमा लाफिङ सन्तहरु नै छन । उनीहरु जिवनलाई हाँसोमय बनाउन गाउँ गाउँमा पुगेर मानिसहरुलाई पेट मिचिमिचि हाँस्न बाध्य बनाउने गर्छन । कतिपय आध्यात्मिक केन्द्रहरुमा हाँसोको योगा हुने गर्छ । त्यसैले गुरु विनोद जिवनलाई हाँस्ने शैलीका रुपमा विकास गर्न सल्लाह दिन्छन । साँच्चै जिवनलाई हासोमय रुपमा विताउने की ?  



नयाँ