arrow

जगतको नश्वरता

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७७ चैत १९ बिहिबार
ramakrishna-paramahansa2.jpg

गौरीघाट ।  श्री शिवपुरी बाबासँग कसैले सिद्ध महापुरुषहरूलाई किन क्यान्सर जस्तो कडा रोग लागेको होला भनेर प्रश्न गर्दथे । उहाँ भन्नुहुन्थ्यो,  'मनुष्यको शरीरमा रोग लाग्नु स्वाभाविकै हो किनभने यो शरीर नै रोगको मन्दिर हो ।  शरीरमा लागेको रोगले हामीमा विचलन आउनु हुँदैन । जसले त्यसको कारण थाहा पाउँछ, उसले त्यसप्रति आफ्नो सकारात्मक दृष्टिकोण राख्दछ ।'

यसै प्रसङ्गमा श्री रामकृष्ण परमहंस भन्नुहुन्थ्यो,  'जुन वस्तुलाई नाम र रूपले सुनिन्छ, देखिन्छ, त्यस्तो नाश अवश्यम्भावी छ । मानिस जन्मन्छ, मर्दछ । त्यही हालत पशुको पनि छ । रुख बिरुवा आदि जे जति दृश्य वस्तु छन् ती सबै नाशवान् छन् । यो अनित्य, असत्य भन्ने जानेपछि यसमा माया मोहमा मात्र फसेर काम छ त? यसरी असत् संसारमा रहेर यसको अनित्यता बुझेपछि परमात्मा तर्फ लाग्नुपर्छ र उहाँको साक्षात्कार गरेपछि सबै कुरा जानिने बुझिने भइन्छ ।'

श्री रामकृष्णको जीवनको अन्तिम अन्तिम समयमा उहाँलाई गलाको क्यान्सर लागेको थियो । रोगले दिन दिनै च्यापिरहेको कुरा सुनेर उहाँलाई भेट गर्न केही व्यक्तिहरू आएका थिए । त्यसमध्ये एक जना पण्डित थिए  । उनले शास्त्रहरूको उपमा दिएर उहाँलाई हजुरहरू जस्तो महापुरुषले त आफ्नो इच्छा अनुसार शरीरमा भएको रोगलाई निको पार्न सक्नुहुन्छ, मनलाई एकाग्र पारेर रोग निको होस् भनेर पुकार्नु भएपछि त रोग निको भाइ हाल्छ नि, किन त्यसो नगर्नुभएको भनेर ज्ञान छाँट्न थाले ।

उनको त्यो जिज्ञासालाई उहाँले जवाफ दिनुभएको थियो कि एक पटक परमात्माको पाउमा जसले आफ्नो चित्त समर्पण गरी सकेको छ, त्यसले यस्ता नश्वर वस्तुप्रति कसरी आफ्नो मनलाई लगाउन सक्तछ त? देहादि वस्तुमा मात्र मन लगाएर बसिरहने मानिसले परमात्मा तर्फको यात्रा तय गर्न सक्तैन ।

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ