arrow

प्रधानमन्त्री ओली न प्रदूषण देख्छन् न कोरोना संक्रमण

logo
बाबु नेपाली, 
प्रकाशित २०७८ वैशाख १ बुधबार
kp-sharma-oli-final.jpg

काठमाडौँ । लगातार १० दिनदेखि काठमाडौं शहर विश्वकै प्रदूषित शहर बनिरहेको छ । निरन्तर देश प्रदूषित बनिरहँदा पनि प्रधानमन्त्री केपी शर्मा ओली यसलाई देखेर पनि नदेखेजस्तै गरिरहेका छन् । मन्त्रिपरिषदका सदस्यदेखि लिएर सम्बन्धित निकाय चुप छ । 

यस्तो लाग्छ नकारात्मक कुरा गर्न नै हुँदैन । नयाँ वर्षको शुभकामना दिने क्रममा ओलीले सम्भवतः कोरोना भाइरसको रोकथामका लागि सरकारको विशेष योजना सुनाउने अपेक्षा धेरैको थियो । त्यो अपेक्षामै सीमित गरिदिए ।

उनले युरोपेली देशहरुको दृष्टान्त सुनाउँदै नेपालमा पनि लकडाउन लाग्न सक्ने बताए । तर लकडाउन गर्नुभन्दा अगाडि सरकारले के गर्न सक्छ भनेर उनले भन्ने हिम्मत गरेनन् । 

प्रधानमन्त्री भएपछि प्रधानमन्त्रीकै कार्यालयमा जानसमेत अप्ठेरो मान्ने एकमात्र नेपालका प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारलाई नै कामकाजको थलो बनाउँदै आए पनि बुधबार बिहान भने प्रधानमन्त्री कार्यालयमै आएर राष्ट्रका नाममा सम्वोधन गर्ने दुःख गरे । 

बालुवाटारसम्म आइपुग्दा पनि सम्भवतः उनको गाडीको कालो शिशाले काठमाडौंको प्रदूषण देखेन । उनले जसरी प्रदूषण देखेननन् त्यसरी नै कोरोनाको महामारीको प्रकोप पनि देखेका छैनन् । केवल तर्साइमात्र रहेका छन् । 

कोरोनाले त्रास हैन व्यवहारिक रुपमा स्वास्थ्य मापदण्ड पालनामा ध्यान दिन भन्छ । बुधबार बिहान उनले गरेको कार्यक्रममा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डको उल्लंघन गरेका छन् । 

कसले टेर्छ सरकारको निर्णयलाई ? 

भीडभाड गर्नु हुँदैन भन्ने पनि उनलाई थाहा छ । तर उनी भीडभाडमै रमाइरहेका छन् । राष्ट्रका लागि गर्ने सम्वोधन टेलिभिजन, रेडियोमार्फत एकैपटक प्रत्यक्षप्रशारण भइहाल्छ । अगाडि पछाडि भेला जम्मा गर्नुपर्ने आवश्यकता नै छैन । 

प्रदूषणको अवस्था
काठमाडौं निरन्तर दश दिनसम्म प्रदूषित विश्वका शहरमा एक नम्बरमा रहेको छ । विश्वमानचित्रमा हेर्दा काठमाडौं नम्बर एकमा रहे पनि एयर क्वालिटी इन्डेक्स (एक्यूआई) काठमाडौं भन्दा बढी कहिले पोखरा त कहिले हेटौंडा भइरहेको छ । 

अर्थात् देशका प्रमुख शहरहरु खतराको घण्टीभन्दा निकै नै माथि छन् । यतातर्फ सरकारको ध्यान गएको छैन । सरकारले यसलाई न्यूनीकरण गर्ने कुनै उपाय सोचेको छैन । 

मौसममा आएको खरावीका कारण पनि अहिले पनि काठमाडौं सर्वाधिक प्रदूषित हुन पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चैत १० गतेपछि निरन्तर रुपमा नेपालमा डढेलो लागेका कारण पनि प्रदूषण थप बढ्दै गइरहेको छ। 

पश्चिमी वायुको न्यून चापीय असर बढी भएकाले पनि प्रदूषणका लागि थप मद्धत पुगेको हो । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको जनाएको छ । अब विस्तारै मौसममा सुधार हुने अपेक्षा गरिए पनि त्यस्तो देखिएको छैन । 

गत साउन महिनादेखि राम्रोसँग वर्षा नभएकाले पनि मौसम खुल्न सकेको छैन । फेरि डढेलोले थप चिन्तित पारेको छ । 

गत हप्ताकोआइतबार मात्रै नेपालमा ७ सय १८ वटा जंगलमा डढेलो लागेको थियो। उक्त डढेलो निभाउन केपी शर्मा ओली नेतृत्वको सरकारले कुनै पहल गरेन । हावा प्रदूषित भएसँगै स्वासप्रश्वासका बिरामीसमेत बढेको चिकित्सकहरु बताउँछन् । 

देशैभर तुवाँलो

काठमाडौंमा मात्र नभएर मुलुकका अन्य शहरहरुमा पनि प्रदूषणको पारो अन्त्यन्त बढेको छ । पानीसँगै उपत्यकामा वेगको हावा नचलेसम्म प्रदूषण घट्ने सम्भावना नरहेको मौसमहरु बताउँछन् । 

काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन् ।

सरकारको आँखामा नपरेको प्रदूषण, निरन्तर काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर

पहिले प्रदूषणका कारण चार दिन विद्यालय बन्द गराएको सरकारले अहिले त्यो प्रदूषणलाई देखेको छैन । त्यसकारण पनि खेलबाड भइरहेको छ । 

प्रदूषण कमी गर्नका लागि केही दिन त्यस्ता प्रदूषण फैलाउने कलकारखाना बन्द गराएर, यातायातका साधन गुडाउन कम गरेर पनि सकिने थियो होला । तर सरकारले यसबारेमा केही पनि सोचेको पाइँदैन । 

कोरोनाको त्रास पनि देख्दैन सरकार
कोरोनाको त्रासलाई पनि सरकारले देखिरहेको छैन । कसैको आदेशको प्रतिक्षा गरेजस्तै गरी सरकारले आदेश कुरिरहेजस्तो लाग्छ । नत्र दैनिक पाँच सयको संख्यामा संक्रमित थपिँदासमेत पनि सरकार चुप छ । 

त्यतिमात्र हैन बेलायती भेरियन्टले तीव्र गतिमा संक्रमण बढाउँदासमेत सरकारले यसलाई वास्ता गरेको छैन । केवल तर्साउँछ । जसले आफैले नियम पालना गर्दैन उसले दिएको आदेशको पालना पनि कसले गर्छ र ? भन्ने कुराको समेत सरकारले हेक्का राखेको छैन । 

बेलायती भेरियन्टले धेरै भन्दा धेरै बालबालिका पीडित छन् । गम्भीर खाले कोरोनाको लक्षण उनीहरुमा देखिएको छ । काठमाडौं, चितवन, पोखरा, बुटवल, वीरगञ्ज, जनकपुर, विराटनगर र नेपालगञ्जमा बालबालिकाहरु अत्यन्त जोखिममा छन् । 

तर सरकारले त्यसलाई सम्वोधन गरेको छैन । कसैको दबाबमा परेर ओलीले बुधबार बिहानको सम्वोधनमा पनि केही भनेनन् । केबल तर्साए –युरोपेली देशहरुको जस्तो लकडाउन गर्नुपर्ने अवस्था नआओस् । 

बालबालिका कति संक्रमित भएपछि खुल्छ सरकारको चेतना ? दायित्वबाट पन्छिएकै हो ? 

ओलीले स्वास्थ्य मापदण्ड पालना र संक्रमितको उचित उपचारसँगै पीसीआर परीक्षणमा जोड दिन भने खासै चासो राखेनन् । काठमाडौँ उपत्यकामा एक सातामा संक्रमणपछि गम्भीर अवस्थामा अस्पताल भर्ना हुनेको संख्या ह्वात्तै बढेको छ । सबैजसो अस्पतालका आईसीयू बेडहररु भरिन थालेका छन् ।

वायू प्रदूषणले पनि थप मलजल गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ