arrow

कामिनी काञ्चन

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
ramakrishna-paramahansa2.jpg

श्री रामकृष्ण परमहंस जुनसुकै मार्गमा लागेका महात्मा सन्तहरूलाई पनि बरावर प्रेम गर्नुहुन्थ्यो । उहाँको भेट गर्न परमहंस सन्न्यासी पनि आउँथे, तान्त्रिक साधुहरू पनि आउँथे । तान्त्रिक साधुहरूलाई साधनाका लागि मद्यपान गर्नु पनि आवश्यक हुन जान्छ, त्यसैले ती वस्तु पनि उहाँ उपलब्ध गराइदिनु हुन्थ्यो ।

उनीहरूले धेरै आग्रह गर्दा उहाँ आफ्नो औलाले मद्य स्पर्श गरेर शीरमा लाउनुहुन्थ्यो । उहाँ कहिले काहीँ स्त्री भेष धारण गरेर नाच्नुहुन्थ्यो । भगवतीमा अर्पण गर्ने माला गाँस्ने जस्तो  काम पनि गर्नु हुन्थ्यो, तर जे गर्नुहुन्थ्यो, त्यो पूरा गर्नु नै हुन्थ्यो । उहाँ चाहे सांसारिक विषय होस् या पारमार्थिक, सबै काम पूरा गर्न तनमयताका साथ लाग्नुहुन्थ्यो ।

उहाँ वेला मौकामा उपदेश दिँदा कामिनी काञ्चनलाई घृणा गर्नुहुन्थ्यो । (साधारण भाषामा भन्ने हो भने कामिनी भन्नाले स्त्री जातिलाई बुझिन्छ र काञ्चन भन्नाले सुनलाई बुझिन्छ) तर यसको मतलब उहाँ चाहिने वस्तुको मात्र कामना राख्नु धेरै कामना नगर्नु र चाहिने धन मात्र जम्मा गर्नु भनेर अरूलाई उपदेश दिनु हुन्थ्यो ।

उहाँ भन्नुहुन्थ्यो, जसको मन परमात्मातर्फ लागि सकेको छ, उसको मनमा त कहिले पनि कसैलाई पनि कु भावना उठ्दैन र परमात्माले नै उसको मार्गमा आई पर्ने वाधा हटाइदिनुहुन्छ ।

 मनुष्यहरू शरीरलाई नै म हुँ भन्ने अभिमानले गर्दा आफ्नो स्वार्थ मात्र हेर्ने हुन्छन् र परमार्थतर्फ लाग्न चहंदैनन् तर जब उ परमात्माप्रति समर्पित हुन्छ, उसको यस प्रकारको अभिमान स्वतः रहँदैन । उसले सम्झन्छ म त यन्त्र हुँ तर यन्त्रलाई चलाउने कुनै तत्त्वले नै म चलिरहेको हुन्छु । यसले गर्दा उसमा उठ्ने कु भावना उठ्दैन ।

उसको कु भावना भुटेको बिउ जस्तो हुन्छ जुन बिउलाई जस्तो सुकै मलिलो, जलिलो स्थानमा रोपे पनि उम्रँदैन । (श्री रामकृष्ण साहित्यमा आधारित) ।

(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com



नयाँ