arrow

भरतमोहन अधिकारी फाउन्डेसनले ज्येष्ठ नागरिकलाई पढाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २२ बुधबार
bharat-mohan-foundation.jpg

काठमाडौँ। भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले ज्येष्ठ नागरिकहरूका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ। स्वर्गीय उपप्रधान तथा अर्थमन्त्री एवं वरिष्ठ वामपन्थी नेता भरतमोहन अधिकारीको ८६औँ जन्म जयन्तीका अवसरमा बुधवार आयोजित भर्चुअल कार्यक्रममार्फत शैक्षिक कार्यक्रम घोषणा गरिएको हो।

फाउन्डेसनका तर्फबाट भरतमोहत पुत्री लीमा अधिकारीले ‘ज्येष्ठ नागरिकहरूका लागि आधारभूत शैक्षिक कार्यक्रम’ घोषणा गरिन्। उनले निरक्षरताका कारण विभिन्न अवसरबाट वञ्चित ज्येष्ठ नागरिकका लागि उपयोगी हुने उद्देश्यले शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइन्।

एक वर्षे शैक्षिक कार्यक्रममार्फत निरक्षर ज्येष्ठ नागरिकहरूलाई सामान्य लेखपढ गर्न, हिसाब राख्न, मोबाइल फोन, इलेकट्रोनिक सामान र टेलिफोन प्रयोग गर्न तथा सडक सङ्केतबारे जानकारी लिन सक्ने बनाइने अधिकारीले बताइन् । पहिलो चरणमा ललितपुरको बुङमतिमा ज्येष्ठ नागरिकका लागि आधारभूत शैक्षिक कार्यक्रम सुरु गरिनेछ।

तत्काल प्रदेश तीन र क्रमशः सात वटै प्रदेशमा ज्येष्ठ नागरिक आधारभूत शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखिएको उनले उल्लेख गरिन्। पहिलो चरणमा ६० वर्ष उमेर नाघेका ३० जना निरक्षर वृद्धवृद्धा छनौट गरेर कार्यक्रम सञ्चालन गरिने फाउन्डेसनले जनाएको छ। सार्वजनिक बिदाका दिनबाहेक हरेक दिन दुई घण्टा दरले कक्षा सञ्चालन गरिने छ। कक्षामा एक को–अर्डिनेटर, नेपाली र स्थानीय भाषामा दख्खल राख्ने स्नातकोत्तर अध्ययन गरेका प्रमुख शिक्षक र प्लस टु अध्ययन गरेका सहायक शिक्षकको व्यवस्था मिलाइएको  छ।

अधिकारीले कक्षामा सहभागी हुने ज्येष्ठ नागरिकलाई शैक्षिक सामाग्री, मोबाइल, बस, झोला र दिवा खाजाको व्यवस्था फाउन्डेसनले नै गर्ने घोषणा गरिन्। यस्तै प्रयोगात्मक सिकाइका लागि आवश्यकताअनुसार वृद्धवृद्धालाई शैक्षिक भ्रमणसमेत गराइने कार्यक्रम छ।सिकाइ मापन गर्न हरेक महिना आंशिक र १२औँ महिनामा अन्तिम परीक्षा लिइने छ। अन्तिममा प्रमाणपत्र समेत उपलब्ध गराउने फाउन्डेसनले जनाएको छ।

कार्यक्रममा ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत संस्था एजिङ नेपालका निर्देशक प्रकाश गौतमले ज्येष्ठ नागरिकलाई राज्यले हेर्नुपर्छ भन्ने कामको पहिलो पाइला भरतमोहन अधिकारीका तर्फबाट सुरु भएको बताए। भरतमोहनले थालेको एक सय रुपैयाँ वृद्ध भत्ता बढेर हाल तीन हजार पुगेको भन्दै उनले उक्त कामका कारण अधिकारी सदैव जीवित रहने उल्लेख गरे। ज्येष्ठ अशिक्षित हुँदा युगअनुसार चल्न नसक्ने र जीवनयापन कठिन हुने भएकाले उनीहरू शिक्षित हुन जरुरी रहेको उनको भनाइ थियो । ज्येष्ठ नागरिकलाई सशक्तीकरण गर्न अध्ययन जरुरी रहेको स्पष्ट गर्दै गौतमले विदेशमा रहेका सन्तानलाई फोन गर्न र आएको फोन फर्काउन नसक्नेको सङ्ख्या धेरै रहेको बताए।

‘आमाबाबु निरक्षर हुँदा छोराछोरीलाई पनि समस्या हुने गरेको छ’, गौतमले भने, ‘ज्येष्ठ नागरिकलाई बोझ सम्झने सामाजिक मनोविज्ञान झाँगिएकाले यस्तो कार्यक्रम प्रभावकारी हुने विश्वास हामीलाई छ।’ कूल जनसङ्ख्याको ११ प्रतिशत अर्थात् ३५ लाख बढी ज्येष्ठ नागरिक रहेकाले उनीहरूका लागि काम गर्नुपर्नेमा जोड दिए। ज्येष्ठ नागरिकप्रतिको दुर्व्यवहारको प्रमुख कारण बुढ्यौली जीवनको योजना बनाउन नसक्नु भन्दै उनले अहिले युवा र प्रौढ अवस्थामा रहेकाहरूले छोराछोरी र परिवारको सँगै आफ्नो बुढ्यौली जीवनको योजना पनि  बनाउन सुझाए। संयुक्त राष्ट्रसङ्घीय सहश्राब्दी विकास लक्ष्यको चौथो नम्बरमा ‘एडुकेशन फर अल’ कार्यक्रम समावेश भएको चर्चा गर्दै उनले शिक्षा र प्रविधि जोडेर ज्येष्ठ नागरिकलाई सँगै लैजानुपर्ने विचार व्यक्त गरे।

कार्यक्रममा शिक्षाविद् गोविन्द गजुरेलले भरतमोहन अधिकारीको नाम लिने बित्तिकै ज्येष्ठ नागरिकको अनुहार अगाडि आउने बताए।  ज्येष्ठ नागरिक, एकल महिला, सुत्केरी भत्ताजस्ता सामाजिक सुरक्षाका सवालमा भरतमोहन अधिकारीले थालेका प्रयास अहिले समाजको अभिन्न अङ्ग भएको गजुरेलले उल्लेख गरे। वृद्धवृद्धाका लागि मात्र नभई महिला सशक्तीकरणमा समेत भरतमोहनको योगदान रहेको चर्चा उनले गरे। महिलाका नाममा जग्गाको रजिस्टेशन पास गर्दा लाग्ने शुल्कमा छुट दिने भरतमोहनको नीतिले महिलालाई सम्पत्तिको मालिक बनाएको उनको भनाइ थियो।

शिक्षाविद् जनकराज तुलाधरले परिवर्तित सन्दर्भमा ज्येष्ठ नागरिकलाई प्रविधि प्रयोगमा जटिलता रहेकाले शिक्षाले घरमा सीमित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने विश्वास व्यक्त गरे। फाउन्डेसनकी अध्यक्ष एवं भरतमोहन अधिकारी पत्नी सविता अधिकारीले स्वर्गीय भरतमोहनमा ज्येष्ठ नागरिकप्रति ठुलो आस्था, विश्वास र सद्भाव रहेको स्मरण गरिन्।

ज्येष्ठ नागरिकप्रतिको सम्मान स्वरूप ०५१ सालमा अल्पमत सरकारको अर्थमन्त्री हुँदा भरतमोहनले वृद्ध भत्ताको कार्यक्रम सुरुआत गरेको बताइन्। सुरुमा सानै रकम भए पनि त्यसले देशभर वृद्धवृद्धामा राम्रो प्रभाव पारेको र अहिले मासिक तीन हजार पुगेको भन्दै उनले ०५१ यता बनेका विभिन्न दलका सरकारले उक्त कार्यक्रम हटाउन नसकेको उल्लेख गरिन्। ‘आफ्नो गाऊँ आफैँ बनाऔँ, गाउँ गाउँमा सहकारी, घरघरमा भकारी, वृद्ध भत्ता, एकल महिला भत्ताजस्ता कार्यक्रमले भरतमोहन जनताका बीचमा लोकप्रिय हुनुहुन्छ’, उनले भनिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ