arrow

अबको राजनीति: ताजा जनादेश वा नयाँ सरकार

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख २७ सोमबार
Parliament_building-1619601493.png

काठमाडौं। नेकपा एमालेको माधव नेपाल पक्षका सांसदहरूले राजीनामा गर्ने चर्चा केही दिनदेखि चलेपछि राजनीति तातिएको थियो। नेपाल समूहले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा लिन लागेको विश्वासको मतको समयमा भने संसद्मा उपस्थित नहुने निर्णय गरेर राजीनामाको चर्चालाई नेपाल समूहले निराधार बनाएको छ।

नेपाल समूहका नेता डा. भीम रावलले प्रधानमन्त्री ओलीको ह्विप पनि नमान्ने र संसद्मा विश्वासको मत दिन पनि नजाने निर्णय भएको बताएका छन् । उनले आफूहरूले तत्काल राजीनामा पनि नदिने निर्णय भएको बताए ।

प्रधानमन्त्री ओलीले पनि अन्तिम समयमा सामाजिक सञ्जाल ट्विटर मार्फत समस्या भए छलफल गरौँ कुनै अप्रिय निर्णय नगरौँ भन्दै सांसदहरूलाई आव्हान गरेका थिए।

प्रधानमन्त्रीले ओलीले नेपाल समूहका सांसदहरूले राजीनामा दिएमा आफूले पनि राजीनामा दिने मनस्थिति बनाएका थिए। अबको नयाँ परिस्थितिमा उनले संसद्कै सामना गर्छन् वा राजीनामा दिन्छन् भन्ने कुरा यो लेख लेख्दासम्म स्पष्ट भैसकेको छैन।

संविधानका धाराहरू
नयाँ परिस्थितिमा प्रमले राजीनामा दिएको अवस्थामा लगत्तै संसद्मा रहेको ठूलो दलको नाताले संविधानको धारा ७६(३)को आधारमा फेरि प्रधानमन्त्रीको शपथ खाने र एक महिनामा विश्वासको मत लिनुपर्ने हुन्छ।

राजीनामा दिएर प्रधानमन्त्रीले धारा ७६(३)को साटो ७६(५)को सहायता लिने अवस्था उनको लागि उपयुक्त हुने सुझाव उनका कानुनबिदहरूले सुझाव दिएका छन्। धारा ७६(५) का अनुसार कुनै पनि प्रतिनिधिसभा सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने आधार पेश गरेमा राष्ट्रपतिले त्यस्तो व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्ने छ।

धारा ७६(५)बाट नियुक्त प्रधानमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ। यस अवस्थामा विश्वासको मत लिन नसकेको खण्डमा संविधानको धारा ७६(७)का आधारमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेर ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन हुने गरी मिति तोक्न सक्नेछिन्।

प्रधानमन्त्री केपी ओलीले जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोसँगको भेटमा उक्त कुरा राखेका थिए। प्रधानमन्त्रीलाई भेट्ने क्रममा विश्वासको मत दिन नसक्ने बताएपछि प्रम ओलीले उक्त कुरा बताएको जसपा श्रोतले बतायो।

दुवै पक्ष एकताको पक्षमा
आइतबार भएको ओली समूह र नेपाल समूहबीचको वार्तामा ओली पक्षले पार्टी एकता कायम राखौं भन्ने प्रस्ताव गरेको र नेपाल समूहले पनि एकता कायम राखौं भने। दुवै पक्ष एक हुनेमा तयार भए पनि आ-आफ्ना शर्तहरूमा अडिग रहनाले कुरा मिल्न सकेको छैन। ओली समूहबाट बिष्णु पौडेल र सुबास नेम्बाङ्ग सहभागी थिए भने नेपाल समूहबाट माधव नेपाल, योगेश भट्ट्राई र मेटमणी चौधरी सहभागी रहेका थिए।

दुवै पक्षको कुरा नमिले पछि नेपाल समूह आफ्ना सांसदहरूसँग संवाद गर्नतिर लागेको थियो। आइतबारको संवादमा १६ सांसदहरू उपस्थित रहेका थिए। उक्त बैठकले सोमबार ९ बजेसम्म माग सम्बोधन हुनुपर्ने अल्टिमेटम दिएको थियो। माग सम्बोधन नभए सामूहिक राजीनामा दिने 'घुर्की' नेपाल समूहले लगाएको थियो।

जसपाले ओली सरकारलाई विश्वासको मत नदिने निर्णय गरेपछि ओलीले ७६(३) वा ७६(५) अनुसार सरकार बनाउँछन् त्यो यकिन भइसकेको छैन।

पार्टीका निर्णयहरू
प्रधानमन्त्री ओलीले विश्वासको मत पाएनन् र राष्ट्रपतिले दलहरूलाई नयाँ सरकार बनाउन आग्रह गरिन् भने नेपाली कांग्रेस, माओवादी र जसपा मिलेर नयाँ सरकार बनाउने सम्भावना रहेको छ। सम्भवतः शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने कसरत हुनेछ।

देउवा सरकारलाई बहुमत पुग्नका लागि माओवादी र जसपाको पुरै साथ चाहिने हुन्छ । जसपाले ह्विप जारी नगरी सांसदहरूलाई आफ्नो निर्णय गर्न स्वतन्त्र छाडिदिए पछि नयाँ सरकार बन्ने सम्भावना त्यति सजिलो देखिँदैन । जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष केपी ओलीको समर्थनमा देखिएका थिए। 

यसैलाई आधार मान्ने हो भने जसपाको महन्थ-राजेन्द्र खेमा देउवालाई समर्थन गर्नेमा पनि तटस्थ बस्ने सम्भावना रहेको छ। तर जसपाकै डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले देउवा नेतृत्वको सरकारलाई सहयोग गर्ने बत्ताइसकेका छन्। त्यसैगरि माओवादी केन्द्रले पनि नयाँ सरकारलाई समर्थन गर्ने भनेको छ। 

संसद्को अङ्कगणित
नयाँ सरकार बन्ने कुरा गरिरहँदा संसद्को अङ्क गणिततिर पनि ध्यान पुर्‍याउनु पर्ने हुन्छ । हाल संसद् अङ्क गणितको अवस्था यस्तो रहेको छ ।

नेकपा एमालेसँग १ सय २१ सांसद रहेका छन् भने काङ्ग्रेससँग ६१ र माओवादीसँग ४८ जना रहेका छन्। त्यसैगरि जसपासँग ३२ जना सांसद रहेका छन्। प्रतिनिधिसभामा ४ सांसद स्वतन्त्र रहेका छन्। कांग्रेस र जसपाका २-२ सांसद निलम्बित रहेका छन्।

हालको अवस्थामा संसद्मा गणना हुने सांसद सङ्ख्या २ सय ७१ रहेको छ। बहुमतका लागि १ सय ३६ सांसद आवश्यक रहेका छन्। अहिलेको अवस्थामा नयाँ सरकारका लागि जसपाका ७ जना सांसद तटस्थ बसेमा बहुमत नपुग्ने देखिन्छ ।

नयाँ सरकार बन्नका लागि नेकपा एमाले नेपाल समूहका सांसदहरूले राजीनामा दिएको खण्डमा मात्र केही सम्भावना देख्न सकिने श्रोतले बताएको छ। तो यो अवस्था तत्काललाई टरेको छ।

सोमबार संसद् कसरी अघि बढ्छ र त्यसपछिका राजनीतिक चालहरूले नेपाली राजनीतिको अगाडिको बाटो कस्तो हुनेछ भन्ने निश्चित गर्नेछ। देश चुनावमा जानेछ वा नयाँ सरकार बन्नेछ यो समयले मात्र भन्न सक्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ