arrow

राष्ट्रियसभा निर्वाचनमा कांग्रेस–माओवादी–जसपा उम्मेदवारविहीन, माधव नेपालको धोकाले रनभुल्लमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३ सोमबार
deuba-dahal-yadav.jpg

काठमाडौं । आगमी जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्र उम्मेदवारविहीन बनेका छन् । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दिएको उम्मेदवारीमा नेपाल पक्षले धोका दिएपछि कांग्रेस माओवादीका मतदाताले भोट हाल्ने उम्मेदवार नै छैनन् । 

पार्टीभित्र चरम संकट पर्दा नेपाल पक्षले कांग्रेस माओवादीको सहयोगमा राष्ट्रिय सभाको उम्मेदवारी दिएपनि अहिले पार्टीको विवाद मिलाउने क्रममा सहयोगको साथ नै टुटेको छ।

आइतबार केपी शर्मा ओलीसँग पार्टीको विवाद मिलाउने क्रममा पाँच दिन यता नेपाल तेस्रो पटक संवादमा बसेका थिए । संवादपछि बाहिरिने क्रममा नेपालले राष्ट्रिय सभाको उम्मेदवारीबारे के हुन्छ भन्ने जिज्ञासामा कुनै पनि जवाफ नदिई बाहिरिएका थिए । यसबाट पनि के स्पष्ट हुन्छ भने नेपाल पक्षले कांग्रेस र माओवादीलाई उम्मेदवारविहीन बनाएको छ । 

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा विपक्षी दलको सहयोगमा नेपाल समूहले संयुक्त उम्मेदवार बनाएको थियो । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि डा. खिमलाल देवकोटाले  नेपाल पक्षको तर्फबाट मनोनयन दर्ता गराएका थिए । 

कांग्रेस, माओवादी केन्द्र तथा  नेपाल पक्षका वर्तमान तथा निवर्तमान सांसदहरुसहित हेटौंडा – ५ मा रहेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर देवकोटाले मनोनयन दर्ता गराएका हुन् ।  

मनोनयन दर्ताका लागि कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले साथ दिएका थिए । 

देवकोटाको उम्मेदवारीको प्रस्तावकमा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थकमा नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक राधा घले रहेका थिए । 

राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, माओवादी, नेकपा एमालेको नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षको संयुक्त गठबन्धनले देवकोटालाई साथ दिएको थियो । 

उता ओली पक्षले गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलले बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी दर्ता गरेका थिए । 

नेपाल पक्षले कांग्रेस, माओवादी र जसपाको उपेन्द्र यादव समूहको साथ पाएपछि आत्तिएका ओलीले हतार हतार पार्टीको विवाद साम्य पार्न तर्फ लागे । 

नेपाल पक्षको मतबिना बादलले हार्ने निश्चित जस्तै भएपछि ओलीले नेपाल पक्षको माग अनुसार कार्यदलसमेत गठन गरिसकेका छन् । नेपाल पक्ष मौन रहेका बेला डा. देवकोटाले भने आफ्नो उम्मेदवारी कायम रहेको जनाएका छन् । 

आइतबार नेपाल पक्षका सांसद जीवनराम श्रेष्ठले एमाले भएर एमाले बाहेकका उम्मेदवारलाई भोट दिन नसक्ने बताइसकेका छन् । जसले गर्दा डा. देवकोटाले मत नपाउने संकेत देखिएको छ । 

प्रधानमन्त्री एवं एमाले अध्यक्ष समेत रहेका ओलीले नेपाल पक्षको माग अनुसार नै पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर पार्टीका बैठकहरु राख्न सहमति जनाएको धारणा सार्वजनिक भएका छन् । 

तर ओली आफै भने सो विषयमा बोलेका छैनन् । ओली निकटका नेताहरुले भने २०७५ जेठ २ मा फर्कन नसक्ने बताइरहेका छन् । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराइले एमालेका हरेक संगठनहरु पुनर्गठित भएको अवस्थमा जेठ २ मा फर्कने अवस्था नभएको बताउँदै आएका छन् । 

कार्यदलमा बसेका सुवास नेम्वाङले भने २०७५ जेठ २ कै आसपासमा रहेर सहमति गर्ने र पार्टीलाई एक ढिक्का बनाउने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ