arrow

उज्वल दाइले मलाई विदेश जान रोकेर स्वदेशमै आत्मनिर्भर बनाइदिनुभयो

logo
याम वहादुर क्षेत्री(उत्तम) 
प्रकाशित २०७८ जेठ २० बिहिबार
yam-bahadur-chhetri.jpg

पैसा कमाउने रहर सबैलाई हुने रहेछ । म पनि पैसा कमाउन भनेर विदेश(खाडी)जाने निष्कर्ष निकाल्दै घरमा बिदा मागेर काठमाडौं आएको थिए । त्यस्तै सन् २००३ सालतिर रोजगारीको सिलसिलामा खाडी जान भनेर पर्वतबाट काठमाडौं आएका हुँ । उज्वल थापासँग मेरो पारिवारिक सम्बन्ध पनि भएकाले काठमाडौंमा उहाँसँग भेट भयो । त्यस बेला देशको अवस्था पनि राम्रो थिएन । राजनीतिक अस्थिरता थियो । स्वदेशमा रोजगारीका सम्भावनाहरू खास थिएनन् । धेरै युवाहरूमा एक खालको निराशा थियो । आफ्नो देश छाडेर धेरै साथीहरू विदेश गइरहेका थिए । विदेश जान हिंडेको मान्छे म उज्वल दाइसँगको भेटपछि बदलिएँ । सोच बदलियो । दाइले आफ्नै देशमा सम्भावनाहरू देखाइदिनुभयो । ऊर्जा थपिदिनुभयो ।

म काठमाडौं आएको बेला उज्वल दाइहरूले भर्खरै नयाँ आइटी कम्पनी ‘डिजिटल म्याक्स’ शुरु गर्नुभएको रहेछ । उहाँले मलाई यही कम्पनीमा काम गर । विदेश नजाऊ । यही छन् सम्भावनाहरू भनेर प्रेरित गर्नुभयो । त्यो कम्पनीमा मलाई प्रशासनको जिम्मेवारीसहितको रोजगारी दिनुभयो । मलाई कम्पनीको बारेमा केही थाहा थिएन । बिस्तारै सिक्दै गएँ । उज्वल दाइले म भित्र भएका सम्भावनाहरू पहिचान गरिदिनु हुन्थ्यो । एउटा व्यक्तिभित्रका सम्भावनाहरू पहिचान गर्ने र नयाँ युवाहरूलाई उत्प्रेरित गर्ने उहाँको साँच्चै लोभलाग्दो आचरण थियो । कुनै पनि व्यक्तिहरूमा भएका सम्भावनाहरूलाई नै पहिचान गरिदिने र प्रोत्साहित गरिदिने उहाँको स्वभावले म जस्ता धेरै युवाहरूलाई प्रेरणा मिलेको जस्तो लाग्छ ।

मैले बुझेसम्म र जानेसम्म दाइहरूले ‘डिजिटल म्याक्स’ सञ्चालनमा ल्याउँदा पाँच जनाको मात्र टिम थियो । चन्द्रमान महर्जन, सुवास मानन्धर, कृष थापालगायतका दाइहरू त्यस बेला कम्पनीमा हुनुहुन्थ्यो । अहिले प्रयोग भइरहेको वर्ड प्रेस सोही कम्पनीले नेपालमा प्रयोग गर्न शुरुवात गरेको मानिन्छ । जसका कारण धेरै आइटी व्यसायीलाई काम गर्न सहज भएको छ । म शून्यबाट आएको व्यक्ति हुँ । उक्त कम्पनीमा म सामान्य कर्मचारी भएर काम गरेको हुँ । उज्वल दाइसँग भेटेपछि मैले जीवनमा धेरै परिवर्तन ल्याउन सफल भएँ ।

अहिले हामी आफैंले आइटी कम्पनी खोलेर काम गरिरहेका छौं । दाइहरूले सञ्चालनमा ल्याएको कम्पनीमा म करिब १० वर्ष रहेँ होला । त्यसबीचमा ‘डिजिटल म्याक्स’मा काम गरेका ३० जनाभन्दा धेरै युवाहरू अहिले आफ्नै कम्पनीका मालिक बनेका होलान् । शुरुमा महाराजगन्जमा कार्यालयको उक्त कम्पनीको बुढानीलकण्ठ हुँदै बालुवाटार आइपुग्दा कम्पनीमा लगभग ४५ जनाको टिम पुगेको थियो । पछिल्लो समय उहाँ सामाजिक र राजनीतिक जागरणमा सक्रिय भएपछि कम्पनी केही निष्क्रिय बनेको हो । तर वर्ड क्याम्प नेपालमार्फत निरन्तर आइटीसम्बन्धी क्याम्पेनिङहरु चलिरहेका छन् ।

उज्वल दाइसँग सङ्गत भएका साथीहरूलाई प्रेरणा दिने उहाँको सबैभन्दा राम्रो बानी थियो । नयाँ युवाहरूलाई तुरुन्त परिवर्तन ल्याउने अनौठो क्षमता थियो । त्यही भएर धेरै युवाहरू उहाँसँग जोडिन रुचाउँथे । नजिक हुन चाहन्थे । उहाँको नेतृत्वमा सञ्चालन हुने सामाजिक र राजनीतिक जागरणमा म जस्तै धेरै साथीहरू कम्पनी हुँदै जागरणमा पनि जोडिएका हुन् । उहाँसँग पछिल्लो समय पारिवारिक भेटघाट भएको थियो । लुक्ला जानुभन्दा अगाडि पारिवारिक रूपमा बसेर खाना खाएका थियौं । त्यसपछि फोन वार्ता भइरहेको थियो । उताबाट फर्किएपछि उहाँ बिरामी भएर अस्पताल भर्ना हुनुभयो । त्यसपछि उहाँ स्मृतिमा मात्र रहनुभयो । उहाँ मेरो लागि प्रेरणा स्रोत हो । आत्मनिर्भर बन्न सिकाउने अभिभावक हो । आजीवन सम्झिरहने छु । प्रस्तुती: युवराज गौतम



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ