- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
उज्वल थापासँग सन् २०१५ देखि सहकार्य गरिरहेको थिएँ । यसबीचमा उहाँको व्यक्तित्व पृथक् किसिमको पाएँ । उहाँ एकदमै साधारण मान्छे जस्तो लाग्यो । जहिले पनि पर्दापछाडि बस्न रुचाउने र नयाँ पुस्तालाई अगाडी बढाउन रुचाउने र त्यसमै मजा लिने व्यक्ति हुनुहुन्थ्यो । वास्तविक र व्यवहारिक मुद्दा अगाडी बढाउन रुचाउने तर काम गर्नुपर्छ र काम हुनुपर्छ भन्ने सोचाइ थियो उहाँको । काम गर्दा सामूहिक भावना र सामूहिक विचारलाई समेट्नुपर्छ भन्ने पृथक् सोच राख्नुहुन्थ्यो । मुद्दा र विचारहरूलाई धेरै भन्दा धेरै विवेकका साथ अगाडी बढाऔं भनिरहनुहुन्थ्यो । असहमत हुनका लागि सहमत हुनुपर्छ भन्नुहुन्थ्यो र हामीलाई जहिल्यै प्रोत्साहित गरिरहनु हुन्थ्यो । सामूहिक बल र सामूहिक भावनालाई आत्मसाथ गर्नुपर्छ भनिरहनुहुन्थ्यो ।
उहाँको अनौठो स्वभाव चाहिं के थियो भने, राम्रो अभियानमा नबोलाए पनि प्लेकार्ड र ब्यानर बोकेर पुगिहाल्नु हुन्थ्यो । समूहका प्रत्येक अभियन्ताहरुसँग व्यक्ति व्यक्तिलाई सोध्ने र भेट्ने गरिरहनु हुन्थ्यो । ‘मैले के सहयोग गर्नुपर्छ ?’ भनेर सोधिरहनु हुन्थ्यो । नाकाबन्दीको समयमा हामीले सरकारले ल्याएको इन्धनका विषयमा एकदिन कार्यक्रम राख्दा खुबै प्रोत्साहित गर्नुभएको याद छ । आन्दोलनको माग पूरा नहुन्जेलसम्म निरन्तर लागिरहनुहुन्थ्यो । हरेस खानुहुन्न भनिरहनु हुन्थ्यो । हामीले शुरु गरेका अभियानहरू-‘पुनः निर्माण कहाँ पुग्यो सरकार ?’, ‘नेपाली बन्ने कि नेपाली भन्ने’, ‘हामी नगरे कसले गर्ने’,‘अहिले नगरे कहिले गर्ने’ जस्ता नाराहरू बनाउन प्रोत्साहित गरिरहनु हुन्थ्यो ।
देशमा परिवर्तन आयो, व्यवस्था परिवर्तन भएन भन्दै संस्कारयुक्त राजनीतिकको विकास गर्नपर्छ भनेर हामीलाई भनिरहनुहुन्थ्यो । व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन त्यसैले जिम्मेवारीपूर्ण नागरिक बन्न सबैलाई प्रोत्साहित गर्नपर्छ भनेर हामीलाई अभियान सञ्चालन गर्न झकझकाउनु हुन्थ्यो । अभियानका बारेमा एसएमएस र फोनबाटै मान्छेहरूलाई जागरूक गराउन सकियो भने राम्रो हुन्छ भनिरहनु हुन्थ्यो । खबरदारी र विवेकपूर्ण अभियानमा अघि बढ्नुपर्छ भनिरहनु हुन्थ्यो । सोसल मिडिया र एसएमएस मार्फत अभियानमा उचाइमा पुर्याउने सोच नै उज्वल दाइको थियो ।
विवेकशील नेपाली दल हुँदा जति अभियानहरू भए पछि साझा पार्टीसँग मर्ज भएपछि सङ्गठन बनाउनेतर्फ सबै केन्द्रित हुँदा अभियानहरू केही कम भएका थिए । तर पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनेबेलामा ‘मोदीजी स्वागत छ तर नाकाबन्दी भुलेको छैन’ भनेर राम्रो अभियान चलाएका थियौं । त्यो नारा मैंले नै प्रस्ताव गरेको थिएँ । तर साझा पार्टी बनेपछि केही समस्याहरू देखिन थाले । मान्छे थप्ने र सङ्गठन बढाउने क्रम शुरु भएपछि अभियानहरू कम हुँदै गए । उज्वल दाइ पनि निष्क्रिय बन्दै जानुभयो । त्यसपछि हामीलाई पनि केही निराशा पलायो ।
खासमा म फ्रान्समा अध्ययनमा नै रहेको बेला सामाजिक सञ्जालमार्फत विवेकशीलका बारेमा जानकार थिएँ । पछि नेपाल फर्किएर आएपछि म निरन्तर सक्रिय भएँ । रन्जु दर्शनाले धेरैसँग जोड्ने काम गरिदिनुभयो । उज्वल दाइको निरन्तरको प्रोत्साहनले बल पुर्याएको थियो । अभियान लिएर चार जना साथीहरू सडकमा उभिँदा हामीलाई लाज लाग्दथ्यो । तर उज्वल दाइले लाज ढाकिदिनुहुन्थ्यो । ‘भाइ यहाँ दौरा सुरुवाल र ढाका टोपी लगाएर लुटिरहेका छन् तिनीहरूलाई लाज छैन । यहाँ त हामीले देशका पक्षमा र नागरिकको हितमा उभिएका छौं, के को लाज ?’ भनेर कन्भिन्स गराउनुहुन्थ्यो । चार जनाले गरिरहेको प्रदर्शनमा पनि उज्वल दाइ आएर उभिइदिनुहुन्थ्यो ।
साँच्चै अनौठो स्वभाव थियो उहाँको । उहाँ सगरमाथा आधार शिविरमा जानुअघि ट्रेकिङका बारेमा कुरा गर्नुभएको थियो । म ट्रेकिङ गाइड पनि भएकाले उहाँले केही आइडियाहरू लिनुभएको थियो । त्यसपछि उहाँ अस्पतालको बेडमा रहँदा एसएमएसबाट कुरा भएको थियो । त्यसपछि कहिल्यै कुरा हुन पाएन । त्यो एसएमएस कुराकानी नै सँधैका लागि अन्तिम भयो । उज्वल दाइको निरन्तरको प्रोत्साहन, मिठो बोली र मिजासिलो बानी आज झलझली याद आइरहन्छ ।-प्रस्तुतिः युवराज गौतम