- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
वेदव्यासले शिवजीको अत्यन्त कठोर तपस्या गरेपछि उहाँकै आशीर्वादले शुकदेवको अवतरण भएको थियो । अयोनिज पुत्र शुकदेवले वृहस्पतिलाई आफ्नो आचार्य मानेर ब्रम्हचर्य व्रत लिएका थिए । उनले गुरुसँग सबै वेद धर्म, शास्त्रको अध्ययन पूरा गरेर गुरु दक्षिणा पनि अर्पण गरे । यसरी अध्ययन पूरा गरेपछि उनी आफ्नो बुबा वेदव्यासको आश्रममा आएर बस्न लागे ।
आफ्नो छोरा विवाह गरेर गृहस्थ धर्ममा प्रवेश गरुन् भन्ने व्यासको आशय थियो । उनी बारम्बार यही कुरा सोची रहन्थे । उनले छोरालाई , ' हे बाबु, तिमीले सबै वेदको अध्ययन गर्यौ । अव गृहस्थमा बसेर पितृ ऋण तिर्नु पर्ने समय भइसकेको छ, जसको छोरा छैन त्यसको अगति हुन्छ, त्यसैले विवाह गर ' भने । व्यासले शुकदेवजीलाई प्रशस्त धन पनि दिने कुरा बताए । उनको कुरा सुनेपछि शुकदेवले आफ्नो बाबुलाई विषयमा आशक्त भएको पाए ।
उनले आफ्नो बाबुलाई अनेक तर्क, उपमाहरू दिएर चित्त बुझाउन खोजे । उनले भन्दै गए 'मैले स्त्री पाएपछि म उनकै वशमा हुन जान्छु, म अयोनिज हुँ, कसरी योनियुक्त शरीरमा म रमाऊँ, कसरी यसमा अलमलिऊँ । म भविष्यमा पनि योनियुक्त शरीरबाट जन्मन चाहन्न । मैले वेदहरू पनि पढेँ । मेरा आचार्य पनि गृहस्थाश्रममा डुबिरहेको मैले पाएँ । वेदहरूले पनि कर्ममार्गमा मानिसलाई लगाउने रहेछन् । यसमा पनि हिंसा मिश्रित हुने रहेछ । मलाई उद्धार गर्न कसले सक्छ र ? रोगले ग्रस्त चिकित्सकले अर्को रोगग्रस्त बिरामीलाई कसरी उपचार गर्न सक्छ र ? बरु खम्बामा फलामको जन्जिरले बाँधिएको व्यक्ति मुक्त हुन सक्ला तर गृहस्थमा बाँधिएको व्यक्ति मुक्त हुन सक्तैन । मनुष्य चोला दुर्लभ छ, आत्मज्ञान भन्दा ठुलो सुख संसारमा छैन । वेद शास्त्रको अध्ययन गरिसकेपछि पनि कोही व्यक्ति घर गृहस्थमा लिप्त हुन ठिक होला र ? '
व्यासजी शुकदेवको कुरा सुन्दै गए र अन्तमा उपदेश दिन थाले । हे बाबु, गृहस्थाश्रम कारागार होइन । यो बन्धनको कारण पनि होइन । जो मनुष्य मनले बन्धनबाट मुक्त भएको हुन्छ त्यही नै गृहस्थाश्रममा बसे पनि मुक्त हुन्छ । गृहस्थाश्रम जस्तो पवित्र आश्रम अरू छैन । गृहस्थले वेदोक्त कर्म गरेपछि जे चिताउँछ, त्यही पाउँछ । आफ्नो बाबु पराशर, महर्षि विश्वामित्र आदि पनि स्त्रीको मोहमा परेको उदाहरण दिँदै छोरालाई गृहस्थाश्रममा प्रवेश गर्न प्रेरित हुने खालका उपदेश दिँदै तिमी पनि अव एक आश्रमबाट अर्को आश्रममा प्रवेश गर भनेर छोरालाई अर्ति दिँदै गए ।
उनको उपदेशबाट पनि शुकदेव आफ्नो अठोटबाट विचलित भएनन् । उनले आफ्नो बाबुलाई विषयमा अनुरक्त भएको देखेर भने, पिताजी मलाई बरु तत्वज्ञानको उपदेश दिनु होस्, म हजुरको आज्ञाको पालना गर्नेछु, भनेर 'आज्ञा भयो जति कुरा अहिले मलाई, त्यो सत्य हो विषयको अनुरागीलाई ' आदि भन्दै गए । (क्रमशः)
(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com