arrow

टोकियो ओलम्पिकमा नेपाल

गोपीलाई भाग्यले साथ दिएन, सरस्वतीलाई चिट्ठा

गोपी भन्छन् – कसैलाई यस्तो नहोस्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १८ शुक्रबार
gopi-saraswati-athletics.jpg

काठमाडौं । आगामी महिना जापानको राजधानी टोकियोमा शुरु हुने ओलम्पिकमा नेपालबाट एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने भएकी छिन् । यसअघि म्याराथनमा गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने तय भए पनि टोकियो ओलम्पिक कमिटीले असहमति जनाउँदा उनको सट्टा चौधरीले सहभागिता जनाउने भएकी हुन् । 

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल र नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्कीका सट्टा चौधरीले टोकियो ओलम्पिकमा सहभागिता जनाउने सार्वजनिक गरेका हुन् । 

पार्कीको सहभागिता सम्भव नभएकाले चौधरीले प्रतिस्पर्धा गर्ने विज्ञप्तिमा उल्लेख छ । 

युनिभर्सिटी प्लेसमार्फत ओलम्पिकमा सहभागिता सुनिश्चित गर्नका लागि सम्बन्धित खेलको अन्तरराष्ट्रिय महासंघको प्राविधिक कमिटीबाट निर्णय हुने भएको हुँदा म्याराथनका हकमा कोटाभन्दा धेरै आवेदन परेको हुँदा नेपाललाई म्याराथनमा नभई एथ्लेटिक्स विधाको १०० मिटर दौडमा कोटा छुट्याइएको जानकारी प्राप्त भयो,’ विज्ञप्तिमा भनिएको छ ।’ 
  
पार्कीको सहभागिताबारे आयोजक असहमत भएपछि चौधरीको नाम सर्वसम्मत छनोट गरिएको सदस्य सचिव सिलवालले जानकारी दिए । 

आयोजकले म्याराथनको सट्टा एक सय मिटरतर्फ महिलालाई मात्र स्थान दिन सक्ने भनी पत्र पठाएपछि चौधरीको नाम छनोट गरिएको उनको भनाइ छ । चौधरीले एथलेटिक्सको महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् ।  

के भन्छन् गोपी ? 
पार्कीले आफ्नै खर्चले ओलम्पिकको तयारी गरिरहेका थिए । आईओसीको सहयोग थिएन । तर अन्तिम समयमा त्यत्रो लगानीसमेत खेर गएपछि पार्कीले यस्तो कसैलाई नहोस् भनी प्रतिक्रिया दिएका छन् । 

उनले आन्तरिक रुपमा भएको गलतको शिकार आफू हुनुपरेको दुर्भाग्य भएको प्रतिक्रिया दिएका छन् । उनले एथलेटिक्सकै इतिहासमा हुन पुगेको यस्तो दुर्भाग्य पहिलो पटक आफूमाथि परेको भनी दुःख व्यक्त गरेका छन् । 

उनले अन्तिम घडीमा आएर सहभागी हुन नपाउँदा भाग्यमा रहेनछ भन्ने लागेको बताएका छन् । 

उनले ओलम्पिकका लागि भन्दै करिब डेढ वर्षदेखि तयारी गरिरहेका थिए । 

टोकियो ओलम्पिकमा कति नेपाली खेल्दैछन् ? 
टोकियो ओलम्पिक शुरु हुन तीन हप्ता बाँकी छँदा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा आबद्ध चौधरी सहभागी हुन पाउने ‘लक्की’ खेलाडी हुन् । उनीसहित पाँच खेलाडीले मात्र टोकियो ओलम्पिकमा भाग लिन पाउने छन् । 

जसमा पौडीबाट गौरिका सिंह र एलेक्स शाह, सुटिङबाट कल्पना परियार र जुडोबाट सोनिया भट्टले टोकियो ओलम्पिकको टिकट काटेका छन् । 

टोकियो ओलम्पिक आगामी साउन ८ देखि २४ गतेसम्म आयोजना हुँदैछ । कोरोना महामारीबीच टोकियो ओलम्पिक हुन लागेको हो । 



नयाँ