arrow

भारतीय डिटिएचलाई विस्थापित गर्दै नेपाली डिटिएच कम्पनी

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ असार २३ बिहिबार
dishhome.jpg.jpeg
काठमाडौं । जोरपाटी काठमाडौंका सुनिल बस्नेत १५ दिने सुदुरपश्चिम भ्रमणमा जाँदा डोटी जिल्लामा अचम्मको दृश्य देखे । त्यो दृश्यले उनीमा आश्चर्य भावसँगै चिन्ता पनि जगाईदियो । नेपालको तराई भेग र भारतीय सीमानाकामा त भारतीय डिटिएच सेवाको बाक्लो उपस्थिती रहेको छ भन्ने उनलाई थाहा थियो नै तर उनी पहाडी जिल्लामा पुग्दा पनि यसरी भारतीय डिटिएचको प्रयोग देखेपछि उनी चिन्तित बन्न पुगे । उनले झट्ट नेपाल सरकारले प्राप्त गर्ने राजश्व र भारतीय सेवाप्रदायक कम्पनीको सेवाबाट सरकारलाई ‘हातलाग्यो शुन्य हुन्छ’ भन्ने पनि सम्झिएपछि त आफू झनै चिन्तित बनेको अनुभव उनी सुनाउँछन् । 
 
अहिले नेपालमा स्याटेलाईटबाट टेलिभिजन च्यानल हेर्ने अत्याधुनिक प्रविधिको विकास भएको पुगनपुग ६ वर्ष भएको छ । स्थापनाको ६ वर्षसम्म आईपुग्दा नेपाली डाइरेक्ट टु होम (डिटिएच) कम्पनीहरू एकआपसमा मिलेर एकीकृत रूपमा कारोबार सुरू गर्दै आएको छ । तर ६ वर्षे अवधि पार गरेर आजको दिनसम्म आईपुग्दा नेपालको एकमात्रै डिटिएच सेवाप्रदायक कम्पनी डिस होमले र समग्र डिटिएच प्रविधिले नै नेपालमा यावत चुनौतीको सामना गर्दै आएको छ । 
 
केवल च्यानलको सेवालाई अत्याधुनिक प्रविधि र नयाँ सोचाईले विस्थापित गर्न डिस टिभी र होम टिभी गरी दुई कम्पनीहरू एक आपसमा गाभिएपछि यसले दिएको सुविधाबाट अहिले डिसहोमले कूल बजारको ३० प्रतिशत बजारमा आफ्नो हिस्सा ओगटिसकेको छ । कूल २० लाख भन्दा बढी च्यानल प्रयोगकर्ताहरूको भीडमा डिटिएच प्रविधिले चुनौतीपूर्ण प्रतिस्पर्धा गरिरहेको डिसहोम नेपालका मार्केटिङ प्रमुख कल्याण अधिकारीले जानकारी दिए । 
 
कस्ता छन् चुनौती ? 
नेपालमा डिटिएचको सुरूवात भएको जम्मा ६ वर्ष भयो तर झण्डै एक दशकदेखि सञ्चालनमा रहेका भारतीय डिचिएच कम्पनीको दबदबा नेपाली डिटिएच कम्पनीको लागि मूल चुनौतीको विषय बनेको सरोकारवाला निकायको गुनासो छ । नेपालमा डिटिएच सुरूहुनु भन्दा पहिले नेपालमा बजार विस्तार गरेका भारतीय च्यानलहरू मुख्य चुनौतीको विषय बनेको डिसहोमका मार्केटिङ प्रमुख अधिकारीको बुझाई रहेको छ । ‘उनीहरूको केही फ्रि डिटिएच सिस्टमका कारणले गर्दाखेरी पनि हामीलाई चुनौती भईरहेको छ ।’ उनले भने ती क्षेत्रहरूमा हामीले विशेष प्याकेज मार्फत् भारतीय डिटिएच प्रतिस्थापन गर्ने कोशिस गदै आएका छौं ।’ 
 
त्यस्तैगरी नेपालमै रहेका केबल च्यानलहरूपनि डिटिएचको मुख्य चुनौतीको रूपमा रहेको सञ्चालकको बुझाई रहेको छ । अहिले डिटिएचमा सबैभन्दा बढी चुनौतीपूर्ण भनेको तराईको २२ जिल्ला रहेको नेपाली डिटिएच सेवाप्रदायकहरू बताउने गरेका छन् । तर तराई र पहाडका पनि कतिपय भूभागहरूमा भारतीय टेलिभिजन च्यानलहरूको दबदबा रहेको बुझिन आएको छ । स्याटेलाईट सेवा भएको कारणले कतैपनि दर्ता नगरी कनै र भूमिगत रूपमा पनि सञ्चालन गर्न सकिने भएकोले काठमाडौंका समेत केही ठाउँमा भारतीय डिटिएचको विगविगी रहेको छ ।
 
यसको लागि सरकारबाट कडाईको आवश्यकता रहेको सेवाप्रदायकहरू बताउँछन् । यसरी सीमाक्षेत्रमा देखिएका यस्ता समस्याहरूको समाधान गर्नको लागि अहिले डिसहोमले उनीहरूलाई निशुल्क सेट अप बक्स फेरिदिने, केही सुविधामा जडान गर्ने लगायतका सुविधाहरू दिँदै आएको डिसहोमले जनाएको छ । 
 
त्यसैगरी, पछिल्लो समयमा इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले इन्टरनेटसँगै च्यानलको समेत सुविधा प्रदान गर्नथालेपछि दोहोरो पैसा तिर्ने भन्झटबाट मुक्ति पाउन पनि सेवाग्राहीहरूले डिटिएच सेवा छाड्ने गरेको पनि भेटिएको छ । काठमाडौंका जय सिटौलाले एक वर्ष भयो डिसहोमको डिटिएच सेवा लिन छाडेको तर उनले कुनैपनि असन्तुष्टि र समस्या सिर्जना भएर भने उक्त सेवा नछाडेको पनि बताएका छन् । उनले इन्टरनेट जोड्दा टेलिभिजनको च्यानल किन्नु नपर्ने भएकोले डिटिएच सेवा छाडेको पनि स्पष्ट पारे । ‘छाता त अझै छ,’ उनले भने ‘असुविधा भएर छाडेको त हैन सित्तैमा आएपछि के पैसा तिरिरहनु भनेर छाडेको हुँ ।’ तर सुविधाको हिसावले भने डिटिएच सेवा नै सुविधासम्पन्न रहेको पनि स्पष्ट पारे । 
 
नेपाली पन : संस्कृतिको संरक्षण
वि सं.  २०४२ सालतिर तात्कालीन सरकारले नेपाली संस्कृतिको लोप हुने भयो भनेर नेपाल टेलिभिजनको सुरूवात गरेको थियो । त्यतिबेला भारतीय दूरदर्शन नेपालमा देख्न सकिने र नेपाली टेलिभिजन च्यानलहरू नखुलेको अवस्थामा नेपालीलाई नेपाली संस्कृतिको विषयमा जानकारी दिनु र भारतीय च्यानलप्रतिको क्रेजबाट भुलाउनको लागि नै यस्तो टेलिभिजनको सुरूवात गरिएको थियो । 
 
तर अहिले टेलिभिजनमा भन्दा पनि टेलिभिजन च्याजनलमा प्रतिस्पर्धा गर्नु आवश्यक रहेको छ । उपभोक्ताहरूले जहिलैपनि सुविधायुक्त र गुणस्तरीय सेवाको अपेक्षा राख्ने भएकोले नेपालमा सञ्चालित स्याटेलाईट मार्फत सेवा दिने च्यानलहरूले पनि सुविधा र गुणस्तरीयताबाटै भारतीय स्याटेलाईट सुविधाको प्रतिस्थापन गर्नुपर्ने आवश्यकता देखिएको छ । पछिल्लो समयमा यस्ता सुविधासम्पन्न सेवाप्रदायक कम्पनीहरू नेपालमा फस्टाउनु आवश्यक देखिन्छ । 
 
राजश्वको लागि पनि भारतीय डिटिएचको विस्थापन आवश्यक
भारतीय डिटिएचले नेपाली बजारमा जति दबदबा मच्चाउँछ त्यो रोक्नु सरकारी राजश्व आम्दानीको लागि पनि आवश्यक रहेको छ । नेपालको पहिलो र एकमात्र डिटिएच सेवाप्रदायक कम्पनी डिसहोमले स्थापनाको ६ वर्षको अन्तरालमा मात्रै १ अर्ब भन्दा बढी राजश्व तिरिसकेको कम्पनीले जनाएको छ । 
 
डिसहोम अहिले धेरै कर तिर्ने ठूला करदाताको सूचीमा पनि समावेश छ । अन्य प्रविधिका सेवाप्रदायकहरूको हिस्सा यसको तुलनामा ज्यादै कम रहेको छ । यसरी भारतीय डिटिएच सेवा विस्थापित गरेको खण्डमा सरकारले प्रतिपरिवारले प्रयोग गरेको डिटिएच सेवा बापतको कम्तीमा १३ प्रतिशत पाउँदा पनि राज्यको राजश्वमा सकारात्मक प्रभाव पार्ने भएकोले राजश्वको लागि पनि भारतीय डिटिएचको विस्थापन आवश्यक रहेको जानकारहरू बताउँछन् । 
 
डिचिएचमा मोह किन ? के भन्छन् प्रयोगकर्ता ? 
धादिङ जिल्ला ढोला गाविसका भेषराज अर्यालले पनि डिटिएच सेवा लिएको अहिले १ वर्ष पुगेको छ । डिटिएच सेवाभन्दा पहिले एन्टेनाको सहयोगबाट टेलिभिजन हेर्दै आएका उनी अहिले सुविधा थपिएको भएपनि ग्रामीण क्षेत्रको लागि कम शुल्कमा छुट्टै प्याकेज बनाउन सकेको खण्डमा डिटिएच सेवाले ग्रामीण क्षेत्रमा झनै लोकप्रियता कमाउन सक्नेपनि उनको बुझाई छ । 
 
त्यसैगरी, गोदक नौ जौबारी इलामका विष्णुप्रसाद अधिकारीले पनि डिटिएच सेवा लिएको ४ वर्ष पुगेको छ । यस भन्दा अगाडि कुनैपनि सेवा नलिएका उनी अन्यसेवामा बढी अस्पष्ट च्यानल आउने भएकोले अहिलेसम्म पनि डिटिएच सेवा नै प्रयोग गर्दै आएको बताउँछन् । उनी यसमा नै चित्त बुझिरहेकोले पनि यसको विकल्प खोज्न मन नलागेको भन्दै यसका सुविधाहरूमा खासै टिप्पणी गर्नु आवश्यक नरहेको स्पष्ट पारेका छन् । उनले तराई झर्दा अन्य प्रविधिका सेवाप्रदायकको सेवामा स्पष्ट नदेखेकोले पनि यसको प्रतिस्थापनमा रूची नदेखिएको स्पष्ट पारेका छन् । 
 
विराटनगरका राजेश प्रसाईले दुई वर्ष अघिसम्म भारतीय डिटिएच सेवाप्रदायकबाट सेवा लिँदै आएकोमा दुईवर्ष अघि नेपाली डिटिएच कम्पनीको सेवाको विषयमा थाहा पाएपछि नेपाली सेवाप्रदायकको सेवा नै प्रयोगगर्न थालेको जानकारी दिए । ‘नेपाली कम्पनी हुँदाहुँदै किन भारतीय कम्पनीको सेवा लिने ? नेपाली पन त चाहियो नि’ उनले भने । गुणस्तरमा पनि नेपाली कम्पनी भारतीय भन्दा कम्ती नरहेको पनि उनले स्पष्ट पारे । तर भारतीयहरूसँग प्रतिस्पर्धा गर्नको लागि नेपाली डिटिएचले केही शुल्क कम गरेको खण्डमा प्रतिस्पर्धामा झनै सजिलो हुने पनि उनको सुझाव थियो ।  
 
नेपालको एकमात्रै डिटिएच सेवाप्रदायककम्पनीले अहिले चार प्रकारको च्यानल प्याकेज आफ्ना ग्राहकसामु पु¥याएको छ । उसले अहिले २ सय ९२ रूपैयाँदेखि ५ सय ८५ रूपैयाँसम्ममा ६० वटादेखि १ सय ५ वटासम्म टेलिभिजन च्यानल हेर्नसक्ने सुविधा दिएको छ । उसले २ सय ९२ रूपैयाँमा ६० वटा, ३ सय ३४ रूपैयाँमा ७० वटा, ४ सय १७ रूपैयाँमा ८० वटा र ५ सय ८५ रूपैयाँमा १०५ वटा च्यानल हेर्नसक्नेगरी प्याकेज छुट्टाएको जनाएको छ ।
 
 उसले विशेषगरी अहिले पूर्वी नेपालका मेची र कोशी अञ्चलमा आफ्ना ग्रहकहरू बढी रहेको र काठमाडौं उपत्यकामा पनि ग्राहकको संख्या अधिक रहेको कम्पनीले जनाएको छ । उसले टेलिभिजनमा देखिने तस्वीरमा गुणस्तरीयता, सेटअप बक्समा नै रेकर्डको सुविधा लगायतका सेवामा आफूलाई बढी केन्द्रीत गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ