- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । भारतको जयनगरबाट धनुषाको कुर्था स्टेसनसम्मको ३५ किलोमिटरको दूरीमा प्रतिघण्टा १२० किलोमिटरको गतिमा रेल्वे ट्र्याकको आइतबार परीक्षण गरिएको छ ।
रेल सञ्चालनको पूर्व तयारीको सिलसिलामा रेल्वे ट्र्याकको स्पिड टेस्ट र सर्टिफिकेट गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । महाप्रबन्धक भट्टराईका अनुसार भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा रेल्वे लिकको स्पिड र सर्टिफिकेट गरिएको जानकारी दिए।
महाप्रबन्धक भट्टराईले ट्र्याकको स्थितिबारे जानकारी लिन आइतबार स्पिड टेस्ट गरिएको र यो एउटा फर्मल प्रक्रिया मात्र रहेको संचारकर्मीहरुसंग कुरा गर्दै बताए । नयाँ ट्र्याकको संरचना बनेपछि रेल सञ्चालन पूर्व ट्र्याकको स्थिति के छ ? यो सुरक्षित छ कि छैन ? केही गडबडी छ कि ? भन्ने कुरा टेस्ट गर्नुपर्ने भएकोले सोही अनुरूप आज ट्र्याकको परीक्षण गरिएको उनले जानकारी दिए ।
भारतीय पक्षले रेल सञ्चालन गर्नका लागि ट्र्याक सुरक्षित रहेको कुरा प्रमाणित गरेपछि नेपाल सरकारले सञ्चालनका बाँकी प्रक्रियाहरू सुरु गर्ने र भारत सरकारसँग समन्वय गरेर रेल हस्तान्तरण गर्नुपर्ने भएकोले त्यो काम पनि चाँडै गरिने महाप्रबन्धक भट्टराईले बताए ।
महाप्रबन्धक भट्टराईले भने,' हामी पूर्ण रूपले तयारी अवस्थामा छौँ । अब सरकारको स्तरबाट मात्र गर्नुपर्ने काम बाँकी र मन्त्रालय स्तरमा छलफल गरेर कुन दिनदेखि सञ्चालन गर्ने भन्ने कुराको निष्कर्ष लाग्नेछ ।' नेतृत्व नभएसम्म आफूले नै मिति तय गर्न नमिल्ने भएकोले रेल सञ्चालनको ठ्याक्कै मिति भन्न नसकिने र राजनीतिक नेतृत्व नै संलग्न हुने विषय रहेकोले यसमा आफूले चाहेर पनि केही गर्न नसक्ने महाप्रबन्धक भट्टराईले जानकारी गराए।
दुई सय नेपाली जनशक्तिलाई तालिम दिई तयारी अवस्थामा राखिएको र भारतीय जनशक्ति समेत तयारी अवस्थामा रहेकोले रेल सञ्चालनका लागि जनशक्तिको कुनै समस्या नरहेको समेत बताए । औपचारिक रूपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालन हुने र भाडा दर र टिकटका विषयमा यसअघि नै टुङ्गो लागिसकेको महाप्रबन्धक भट्टराईले बताए ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्गमा यसअघि पनि रेल सञ्चालनका लागि गत असोज २ गते दुई सेट डोमे ट्रेन जनकपुरधाम सम्म ल्याइएको थियो । सो रेलमा १ हजार २ सयदेखि १ हजार ३ सय जनासम्म यात्रुले यात्रा गर्न सक्ने रेल विभागले जानकारी दिए।
नेपालमा राणाकालमा विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगन्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेल सेवा सञ्चालनमा थियो । भारत सरकारको सहयोगमा ५ अर्ब ४८ करोड भारतीय रुपैयाँको लगानीमा पूर्वाधार निर्माण भइसकेको र नेपालले आफ्नै लगानीमा करिब ५२ करोडको लागतमा १६ सय एचपीको दुई इलेक्ट्रिक इन्जिनसहितको डोमे रेल किनिसकेका छन् ।
करार कर्मचारीको लागि परेको आवेदनलाई के गर्ने ?
करार कर्मचारीको लागि ३६ हजार जना बढीले दिएको आवेदनको सन्दर्भमा उनले सबै जनाको रकम फिर्ता गरिने बताए । उनले कर्मचारी भर्नाको लागि दक्ष कर्मचारी खोजे पनि नेपालमा रेल सम्बन्धी पाठ्यक्रम नै नभए कर्मचारी भर्ना गर्न पनि समस्या भएको बताए ।
उनले आवेदन दिएका उम्मेदवारहरूको रकम उनकै बैङ्क खातामा फिर्ता गर्ने गरी गृहकार्य भइरहेको बताए । “अब ३६ हजार जनाको लागि चेक कटान त सम्भव हुँदैन, तर बैङ्क मार्फत नै फिर्ता गरिने गरी गृहकार्य थालेका छौँ । उहाँहरूलाई बाइपास गरी कुनै पनि कर्मचारी अहिलेसम्म भर्ना नगरिएको र नियुक्ति नगरिएको विश्वास दिलाउन चाहन्छु ।”– उनले भने ।
उनले सरकार परिवर्तनसँगै मन्त्रालय समेत खाली भएको कारणले तत्कालै रेल सञ्चालन सहित रकम फिर्ताको लागि कठिनाइ भएको पनि बताए ।