arrow

संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ (पूर्ण पाठ)

विपक्षीले आक्रमण गर्ने हो, प्रधानमन्त्रीले होइन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ४ सोमबार
Sher-bahadur-deuba-n.jpg
प्रधानमन्त्री शेरबहादुर देउवा ।

काठमाडौं। विश्वासको मत लिने क्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा आफ्नो प्राथमिकताहरू प्रष्ट रूपमा राखेका थिए। उनले देशभित्र सबैलाई समेट्ने र आफ्ना अन्तर्राष्ट्रिय सम्बन्धहरूको परिकल्पना बारे पनि स्पष्ट पारेका थिए। उनले संसद्मा दिएको जवाफको पूर्ण पाठ:

सम्माननीय सभामुख महोदय,

यहाँ मलाइ मत दिने प्रतिबद्धता व्यक्त गर्नु हुने पार्टी र ती पार्टीका साथीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यहाँ आएका, प्रतिपक्षी नेताहरूबाट आएका धेरै कुरालाई मैले सुझावका रूपमा लिएको छु । म उहाँलाई धन्यवाद दिन चाहन्छु । यसलाई मैले सकारात्मक रूपमा लिन्छु । हाम्रो पार्टीको नीति विरोधी पार्टीलाई सम्मान गर्ने नै हो, गर्छौं, तर केही कुरा चाही म राख्न चाहन्छु । 

पूर्व प्रधानमन्त्री केपी ओलीजी स्वास्थ्यका कारण पनि यहाँ नआएको हुन सक्छ । म सधैँ उहाँले बोल्दाखेरि यहाँ आएको छु । किनभने प्रधानमन्त्रीले बोल्दा विपक्षी नेता हुनु पर्छ भन्ने हाम्रो सिद्धान्त हो । मनमोहन जी प्रधानमन्त्री हुँदा म दौडेर आउँथेँ । मैले बोल्दाखेरि उहाँ आफै आउनु हुन्थ्यो । मेरो भाषण सुन्न उहाँ जहिल्यै आउनु हुन्थ्यो । यो संसार भरीको चलन हो, यहाँ मात्र होइन । ओलीजीले कहिल्यै पनि यो वास्तवमै गर्नु भएन । अरु केही कारण होला । आज पनि उहाँ आउनु भएको भए बडा खुसी हुन्थेँ । 

अरू कुराहरू मैले धेरै भन्ने केही पनि छैन । म प्रधानमन्त्रीले विपक्षीलाई धेरै आक्रमण गर्नु हुँदैन भन्ने मान्यता राख्ने व्यक्ति हुँ, विपक्षीले आक्रमण गर्ने हो, प्रधानमन्त्रीले होइन भन्ने मान्यता म राख्दछु । 

तर केही जवाफ मैले दिनु पर्ने आवश्यकता आइपर्‍यो । त्यसैले म केही कुरा भन्न चाहन्छु । जहाँसम्म सर्वोच्च अदालतको कुरा छ, त्यस बेलाका सभामुख जी पनि यो संविधानको घोषणा गर्ने तपाइकै पार्टीको हुनुहुन्छ । म अत्यन्तै सम्मान व्यक्त गर्छु । उहाँले बोल्नु होला भन्ठानेको थिएँ । उहाँ विपक्षी दलको उपनेता पनि हो । सायद उहाँलाई गाह्रो परेर बोल्नु भएन । उहाँले राम्रोसँग बोल्न सक्नु हुन्थ्यो यो विषयमा चाही, म पनि पार्लियामेन्टको सदस्य थिएँ त्यस बेला, संविधान सभाको सदस्य थिएँ । 

त्यस बेला सधैँ प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने अवस्था हुन्छ, यो गर्नै दिनु हुन्न भनेर ७६ (५) को अवस्थाबाट विश्वासको मत नपाए मात्रै विघटन गर्न पाउने व्यवस्था राखिएको छ । त्यस कारण, यो राखिएको हो, किन होला भन्ने कुरा उहाँले बोल्नु भएन । यसमा राष्ट्रपति स्वयम् ले ७६ (५) अनुसार आह्वान गरे अनुसार नै हामी गएका हौ । हामी सबैले सही छाप गरेर गएका हौँ । दुई तीन घण्टाअघि ओली जी आफैँले बोल्नु भएको छ, सरकार बनाउन सक्दैनौँ भनेर पूर्व प्रधानमन्त्रीले ।  आफैँले मसँग बहुमत छैन भनेर बोल्नु भएको छ । फेरी २ बजे राती अचानक उहाँ, २ बजे राती काहीँ विघटन गर्छन् ?, भोलि पल्ट गएको भए नि हुन्थ्यो । राष्ट्रपति बिचरा सुत्न पाउनु भएन होला । उहाँलाई कस्तो बाध्य पार्दिनु भयो उहाँले ।  विघटन भोलिपल्ट पर्सिपल्ट गरेको भए हुन्थ्यो । त्यो पनि हेर्दा खेरी कस्तो लाग्छ भने नि । शब्दै के भन्ने । यसलाई राम्रो मानिँदैन ।

उहाँहरूले मनमोहन अधिकारीलाई कांग्रेसले हटायो भन्नु भयो । उहाँ त अल्पमतको सरकारमा हुनुहुन्थ्यो । उहाँ 'लार्जेस्ट' पार्टीको हो, तर बहुमतबाट प्रधानमन्त्री हुनु भएको होइन ।  तर उस बेलाको राप्रपा, कांग्रेस र सद्भावना थियो । हामी तीन दल मिलेर सरकार बनाउन सक्थ्यौँ । तर लार्जेस्ट पार्टीको नेता आए पछि हामीले विपक्षमा हुँदा पनि सहयोग गर्ने भनेर बचन दियौँ र हामी विपक्षमा बस्यौँ । 

यसको मतलब यो होइन की बहुमतको प्रधानमन्त्री होइन भने सहमति लिएर सबैसँग सल्लाह गरेर काम गर्नुस् हामीले भन्यौँ । तर उहाँलाई काम गर्नै दिइएन । उहाँ काम गर्नै चाहनु हुन्थ्यो, त्यो थाहा छ, कांग्रेससँग मिलेर काम गर्न । तर दिइएन । त्यसपछि हामीले बाध्य भएर अविश्वासको मत राख्या हौँ । उहाँले अविश्वासको प्रस्ताव राखेपछि भङ्ग गर्नु भयो । अविश्वासको प्रस्ताव राखिसकेपछि त्यसलाई छल्न, भङ्ग गरिँदैन काहीँ पनि । 

यसपालि पनि त्यस्तै भयो । ७६ (५)को प्रधानमन्त्री राष्ट्रपतिले माग्नु भयो, ओली जीले भङ्ग गरिदिनु भयो । यत्रो वर्ष मल्टिपार्टी सिस्टममा काम गर्नु भएको उहाँले त्यस्तो मान्छे त होइन । उहाँलाई फसाइ दिएकी जस्तो लाग्छ मलाइ कहिले काहीँ । अथवा उहाँ जानी बुझी नै यो के गर्दै हुनुहुन्छ ?, म यसमा धेरै जान चाहन्न । 

अर्को कुरा केही कुराहरू यहाँ उठेका छन् । जस्तो लिम्पीयाधुराको विषयमा हामी सबैले सहयोग गरेको हो । एक जनाले पनि विरोध गरेको छैन । सबैको सहमतिबाट पारित भएको हो । नेपालमा राष्ट्रका लागि सबै एक हुन्छौ । यस्तो विरलै देश हुन्छ । यो राष्ट्र र राष्ट्रिय एकताका लागि राम्रो कुरा हो । त्यस्तै  राजनीतिक बन्दीहरूलाई छाड भन्ने कुरा पनि उठेको छ । रेशम चौधरी मैले चिनेकै मान्छे हो । मलाइ दाइ दाइ भन्नु हुन्थ्यो । कति कुराहरू सरकारले फिर्ता गर्दैमा फिर्ता हुँदैन । राजनीतिक बन्दीहरूलाई छाड्न म पनि चाहन्छु । सबैलाई जेल हाल्दैमा हुँदैन । हामी पनि जेल परेकै हौ । म भन्न चाहन्छु मधेसी, थारु, जनजाति, मुस्लिमका मुद्दाहरू छन् । सबै खालका मुद्दा छन् । 

हाम्रो संविधान समावेशी, समानुपातिक संविधान छ । यसमा धेरै कुरा समेटिएको छ । हामी धेरै कुरालाई समेट्न सक्छौँ । मधेसी मुद्दाका विषयमा हेरौँ, सल्लाह गरौँ, सकिने काम गर्न म तयार छु । संविधान अनुसार नै गर्नु पर्छ । सबै नेपालीलाई हिमाल पहाड, तराइ, मुसलमान थारु, जनजाति सबैको देश हो यो । हामीकहाँ सबै भन्दा ठुलो समस्या जाती कै हो । त्यसैले सबैलाई मिलाउन यो संविधान बनाएको हो । सबै ठाउँमा समस्या छ । तै पनि नेपाल सबै जातजाति मिलेर बसेको देश हो । समस्या समाधान गर्दै जानु पर्छ । मधेस, पहाड, जनजाति सबैको समस्या प्रजातान्त्रिक तरिकाबाटै समाधान गर्नै हो । 

राजनीतिक व्यक्तिलाई जेलमा राखेर समस्या समाधान हुँदैन । हामी पनि पछि छुटेका हौँ । अदालतले मान्दैमान्दो रहिनछ । अदालतको आफ्नै मान्यता छ । अदालतलाई हस्तक्षेप गर्नु हुँदैन भन्ने मान्यता म राख्दछु । मैले रेशम जीलाई आर्मीको प्रज्वल जरसाबको घरमा भेटेको हो । उहाँले कैलालीको हो भन्नु भएको थियो । मलाइ सबै थाहा छ । टिकापुरमा खलबहादुर सिंहले उहाँको बुवालाई दाङबाट ल्याएर कैलाली राखेको हो । त्यसै कारण समस्याहरू छन् । मुद्दाहरू छन् । म सबै समस्याको समाधानको कोसिस गर्छु । धेरै भन्ने कुरा छैन । 

माननीय जीलाई मात्रै जवाफ भयो । राष्ट्रका कुरा पनि गर्नु पर्‍यो । देशका दुई वटा कुराको महामारी छ । एकातिर कोरोनाको महामारी अर्को तिर बाढी पहिरो । सर्वप्रथम म कोरोना र बाढीबाट मृत्यु हुनेहरूलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारका प्रति हार्दिक समवेदना व्यक्त गर्दछु । कोभिडबाट भएको क्षतिको क्षतिपूर्तिको व्यवस्था गर्ने छौँ । 
अहिलेको पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप, तेस्रो प्राथमिकता खोप । तीन वटा प्राथमिकता छन्, खोप खोप खोप । विकास आवश्यक छ । 'लाइफ इज लाइफ' बढी आवश्यक छ । अहिले यो आवश्यकता छ । विकास इज इम्पोर्टेन्ट, लाइफ इज मोर इम्पोर्मेन्ट । जिन्दगी बचाउनु पहिलो कुरा हो । 

नेपालको राष्ट्रिय हित के हो त्यसका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित हुन्छ । नेपालको राष्ट्रिय हित के हो भने छिमेकीसँगको राम्रो सम्बन्ध राख्ने हो । नेपाल फर्स्ट भन्ने मान्यता रहन्छ । त्यस्तै युरोप, अमेरिका, जापान लगायत सबैबाट हामीलाई सहयोग चाहिन्छ । नेपालको राष्ट्रिय हित भनेकै छिमेकी लगायतका मुलुकसँग राम्रो सम्बन्ध राख्ने हो । यसमै हाम्रो हित छ । भारतसँग हाम्रो खुला बोर्डर छ । उहाँहरु पशुपतिनाथ आउनु हुन्छ । हाम्रा धेरै साथीहरू मानसरोवर जान्छन् । धार्मिक सम्बन्धले पनि हामीलाई गाइड गरेको छ । चीनको खिलाफमा पनि हामी छैनौं । हाम्रो परमानेन्ट इन्ट्रेस्ट भनेकै छिमेकीसँगको राम्रो सम्बन्ध हो । 

सर्वोच्च अदालतका सन्दर्भमा संविधानको अन्तिम व्याख्या गर्ने ठाउँ सर्वोच्च अदालतले नै हो । संविधानको व्याख्या कसले गर्ने ? मैले गरेर हुन्छ ?, ओलीजीले गरेर हुन्छ ? अन्तिम व्याख्या सर्वोच्चले नै गर्ने हो । राष्टपति जीले आह्वान गरे अनुसार नै अदालतले निर्णय गरेको हो । राष्ट्रपतिले नदिएको कुरामात्रै अदालतले गरेको हो । हामी कहाँ जाने ?, हाम्रो जाने ठाउँ नै सर्वोच्च नै थियो । 

वास्तवमा भन्ने हो भने प्रजातन्त्र बचाएको छ अदालतले । ओलीजीलाई उचाल्ने र बजार्ने काम अब कसैले नगर्नु होला । अगाडीका दिन चुनौतीपूर्ण छ, सबै एक भएर जाऔंं, मिलेर जाऔं । राष्ट्रिय सहमतिका आधारमा मिलेर जाऔं । अहिलेको बेला राष्ट्रिय सहमतिको सरकार बनाउन सकिन्छ । सकिन्छ भने आऔँ । होइन भने विपक्षी भनेको वेइटिङ गभर्मेन्ट हो । सबै मिलेर देश बनाऔँ । कोरोना र बाढी पहिरो विरुद्ध एक भएर लडौँ । यहीबाट सबैलाई म हार्दिक आह्वान गर्दै बिदा हुन्छु । धन्यवाद । जय नेपाल ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ