- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जैविकीय स्वरुप
हरेक मानिसको प्रारम्भिक अवस्था
क्रमशः आकार निर्माण हुन्छ
प्राप्त सामाजिक सांस्कृतिक साँचो अनुरुप
बदलिन्छ सामाजिक प्राणीमा ।
नीलो आकाश जस्तै
फैलिन मन हुन्छ उसलाई
तर अवरोध बन्छ
चल्तीका चाल चलनहरु ।
अधिकांश मिसिन्छन्
थोरै थिचिन्छन्
शताब्दीऔंको अन्तरालमा
केही चल्मलाउछन्, छट्पटाउछन्
विद्रोह गर्छन् र आन्दोलन बन्छन्
अनि निर्माण हुन्छ
सामाजिक सांस्कृतिक कृतिहरु
गान्धी, वीपी, मण्डेला....को नामहरुमा ।
भारत, बेलायती उपनिवेश
स्वराज चेतना
अहिंसात्मक आन्दोलन
अनुकरणीय कृतिको निर्माण, गान्धी ।
रङ्गभेदले जकडिएको दक्षिण अफ्रिका
सर्व वर्ण समन्वयको अनिवार्यता
फराकिलो रचना, मण्डेला ।
वीपी, समयको कालिगढी
अँध्यारो दिन
निरंकुशताको पहरेदारी माझमा पनि
नडग्मगाएको संकल्प
नभत्किएको आस्था
नअल्मलिएको प्रतिबद्धता
भौतिक सुख भन्दा माथि उठेको चेतना
निरन्तर, स्वतन्त्रता संग्रामी ।
मात्तिएनन्, राज्य संयन्त्रको केन्द्रमा हुँदा
आत्तिएनन्, जीवनको पराजय
अर्थात्
नियतिको विजयमा ।
चलाइरहे सामाजिक संवादहरु
राजनीति र साहित्य लेखन मार्फत
त्रिवेणी उद्धश्य राजनीतिको
प्रजातन्त्र, कानूनी राज्य र सामाजिक न्याय
भेटिन्छ, मानव अनुभूतिको विस्तार
साहित्यिक लेखनहरुमा ।
अल्मलिन्छु म
एकै साथ, रीस उठ्छ र धन्यवाद दिन मन लाग्छ
तत्कालीन शासकहरुलाई
किन थुने वीपीलाई ?
राजनीति अझै संस्कारित बन्थ्यो
ठीकै पो गरे कि !
समय मिल्यो वीपीलाई
साहित्य लेखन गर्न
जीवनको रङ्गहरुमा रङ्गिन
के भनौ ?
सदा स–गर्व स्मरण वीपी
राजनीति र साहित्यको संगम
वीपी, वीपी र वीपी
निरन्तर प्रेरणा
‘ठूलो मान्छे होइन, असल मान्छे बन्नू ।’
(गुरागाई नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सदस्य हुन्)