- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मलाई लागेको थियो रवीन्द्र मिश्र राजनीतिमा आएर आफ्नो पपुलारिटि गुमाएर बदनाम छन् । राजनीतिलाई ननिकाहरूको खेल मानिन्छ । निकाहरू पनि राजनीतिमा लागेपछि ननिका बन्छन् । राजनीतिमा लाग्नेहरूको गिदी निस्केर लिदी हालिन्छ भन्ने हाम्रो बुझाइ छ । राजनीति ‘डर्टी गेम’ हो उसै भनिएको होइन । राजनीति फोहोरी आफैँ बनेको पनि होइन बरु फोहोरीहरू राजनीतिमा आएर राजनीति गनाएको हो ।
सफा मान्छेहरू राजनीतिमा रुचि राख्दैनन् रुचि राखे पनि आफैँ पस्ने हिम्मत गर्दैनन् अतः राजनीतिमा फोहोरीहरूको बोलवाला चलेको छ । राजनीति भन्दा बाहिर अरू कुनै पेसा र व्यवसायबाट राजनीतिमा छिर्यो भने उसको उपादेयता राजनीति भन्दा पूर्व पेसामै थियो भनेर टिप्पणी गरिन्छ । त्यस्तो टिप्पणीको सिकार रवीन्द्र मिश्र पनि बनेका छन् । भर्खरै उनको दल भन्दा माथि, विचार भन्दा माथि देश भन्ने विचारले जुन तरङ्ग ल्याएको छ त्यो राजनीतिक तलाउको सामान्य छाल र तरङ्ग मात्रै होइन । रवीन्द्रको विचारले देश यति तरङ्गित बन्यो कि जुन तरङ्गले सकारात्मक र नकारात्मक दुवै थरी टिप्पणी गरेका कारण देशमा हलचल र खैलाबैला छ । मानौँ रवीन्द्र वाणी नै अन्तिम सत्य र आजको निष्कर्ष हो ।
अब रवीन्द्रले जे एजेन्डा बोके र जुन एजेन्डा छोडे त्यो नै देशको निकास बिन्दु हो भन्नेहरू पनि छन् । रवीन्द्र चाहना अनुरूप जनमत प्राप्त हुन्छ र संविधान संशोधन मार्फत रवीन्द्रको उद्देश्य अनुरूप देशको शासकीय प्रणाली चयन गरिन्छ । राजतन्त्र फर्कन्छ । हिन्दूराज्य घोषणा हुन्छ र सङ्घीयता चिहानमा पुग्छ । अझ केही त भन्दै छन् पञ्चायत ब्युँझन्छ । रवीन्द्र जे कल्पना गर्छन् सो शीघ्र प्राप्त हुनेवाला छ । सामान्य मान्छे प्रतिक्रियात्मक बन्नु र आफ्नो राजनीतिक चेतको क्षमता बमोजिम टिप्पणी गर्नु स्वाभाविक नै मानिन्छ तर ठूल्ठूला पार्टी तिनका नेता र सुझबुझ भएका बौद्धिक र बुद्धिजीवी समेत तरङ्गित भएको देख्दा लाग्छ हाम्रो गणतन्त्र अति कमजोर धरासयी र फु गर्दा लडखडाउने रुग्ण अवस्थामा चलिरहेछ । रुख नै बाङ्गो हो या रवीन्द्रको ढाड चिलाएको त्यो समयले बताउला ? आफ्नो बुझाई मात्रै अन्तिम सत्य भनेर बुझ्नेका लागि रवीन्द्र उवाच प्रतिगामी नै होला । तर सत्यको अनुहार नियाल्दा हाम्रो गणतन्त्र किन मलिन र रुन्चे छ ? गणतन्त्र र सङ्घीयताले बाटो बिराउँदै छ ,यसबाट बच्न कि सुध्रने कि बाटो बदल्ने भन्दा गणतन्त्रलाई आपत्ति नहुनु पर्ने हो ? प्रजातन्त्र भनेको बहस र विचार निरन्तर सार्थक पहिचान र निष्कर्षको अभियान होइन र ? चैत्र, वैशाख महिनाको चर्को घामको धूपले सुकेर पत्कर र खरमा परिणत भई सकेको हो र हाम्रो सङ्घीयता ? रवीन्द्र मिश्रले कोरिदिएको सलाईको काँटीले जलाई हाल्ने ?रवीन्द्रको पार्टीको आन्तरिक राजनीतिको विषय किन देशको माहौल तताउने चिज बन्यो ? कति कमजोर जगमा उभिएको सङ्घीय गणतन्त्र रहेछ हाम्रो ? राजा ज्ञानेन्द्र नाच्दा पनि धरमराउँछ गणतन्त्र ,अनि रवीन्द्र मिश्रले चिठ्ठी लेख्दा पनि थुर थुर काँप्छ सङ्घीयता ? उथलपुथल र प्रलय नै हुन्छ ।
यसको मतलब हो, हाम्रो व्यवस्थामा जरुर खोट र खिल छ । जुन सामान्य हुरी, बतास, घाम पानी, असिना र तुसारोमा पनि बिरामी पर्छ । रोगाउँछ, झोक्राउँछ, बरबराउँछ र छटपट गर्छ । के यसको औषधि छैन । खाइ आएको औषधिको मात्रा बढी पो भयो कि ? औषधि फेर्ने र मात्रा हेरफेर गर्ने उपाय पो छ कि ? नेपालमा सङ्घीयता महँगो, अत्यन्तै खर्चिलो भएको आम बुझाइ छ । तसर्थ यसबारे पुन:विचार र रिभिजिट गरौँ भन्ने तर्क बहसमा ल्याउनु आपत्तिजनक विषय पक्कै हुँदैन । राष्ट्रिय महत्त्वका कुनै पनि विषयको उठान र बहसले व्यक्ति र पार्टीलाई गर्ने नाफा घाटा उसको निजी मामिला बन्छ । त्यसको परिणामले सिर्जना गर्ने सहजानुभूति, असहजानुभूति उक्त प्रस्तावकको फाइदा घाटा बारे धेरै चिन्ता नगरौँ । आफ्नो तर्क र तथ्य राखौँ । त्रुटि गरिएको छ भने, भुलचुक करेक्सन गर्ने हिम्मतले नतिजा नराम्रो निस्कँदैन । सच्याउन पनि बहस छलफल र वादविवाद अपरिहार्य हुन्छ ।
कुनै पनि व्यवस्था आफैमा साध्य होइन साधन मात्रै हो । व्यवस्था साधन हुन्थ्यो भने संसारभर एकै किसिमको राजनीतिक प्रणाली भएका मुलुक मात्रै विकास र समृद्धिको शिखरमा हुनुपर्ने ? किन जनवादी, पुँजीवादी, समाजवादी , उदारवादी दर्शन सिद्धान्त अवलम्बन गर्ने थरथरीका देश उन्नतिको उकालोमा छन् ? किन गणतन्त्र र राजतन्त्र भएका फरक फरक दर्शन विपरीतार्थ धारका राज्यमा उन्नति र गरिब दुवै छ ? किन थरथरीका राजनीतिक व्यवस्था भएका देशहरू सफल र उदाहरणीय छन् ? तसर्थ कुनै पनि व्यवस्था आफैँमा सफलताको दिव्यास्त्र किमार्थ हुन सक्तैन र भएको उदाहरण छैन । कुनै पनि देशको प्रगति उन्नति र सभ्यताको जग त्यस देशले अवलम्बन गर्ने संस्कृति, पारदर्शिता र भिजनकारी नेताको दूरदर्शिता अनि जनताको अनुशासन र देशभक्तिमा निर्भर रहन्छ । देशको सार्वभौम सत्ता र अखण्डता बाहेक अरू परिवर्तनशील संविधानका दस्ताबेज हुन । जसलाई लोकतान्त्रिक पद्धति र प्रणाली अनुसार बदल्न सकिन्छ यो आम मान्यता र प्रचलन हो यसर्थ रवीन्द्रको ४४ पेजको निबन्धदेखि कोही आतिनु र मातिनु पर्ने अवस्था छैन । यद्यपि उनले जे लेखे जे बोले त्यो उनको व्यक्तिगत विचार हो पार्टीको विचार समेत बनेको छैन ।
गणतन्त्रको समर्थन भनेर राष्ट्रपतिले गर्ने जुनसुकै अराजकता, अन्योल र निकम्मापन वा राजतन्त्र समर्थन भनेर राज खलकले गर्ने जङ्गलीपन दुवै अस्वीकार्य छन् । कुनै पनि अतिवाद जुनसुकै रूप रङ्ग र प्रकारको भए पनि स्वीकार्य हुँदैन । समाजवादी दलाल ठिक अनि जनवादी डन बेठिक हुन्छ र ? खराब जो जताको भए नि खराब असल जुन वादी र जताको भए नि असल नै हुन्छ होइन र ? २४० वर्षको राजसंस्था छोडेर हिड्दाको राजा ज्ञानेन्द्रको शालीनता र संविधान च्यातेर सत्ता छोड्नु पर्दाको ओलीको प्रलाप र तडकभडक तुलना योग्य छन् र ? संस्थाको गरीमा संस्थाको उच्च पदस्थ नेतृत्वमा रहने व्यक्तिले राख्ने हो, जनतामा जबरजस्ती थोपर्ने होइन। जबरजस्ती जे थोपर्ने गरिन्छ थोपरिएको चिजको आयु स्वतःस्फूर्त आएको भन्दा कमी हुन्छ । निम्ताउने कि सल्टाउने । उपायबारे छलफल थप घट तर्क वितर्क गर्न पाइन्छ सकिन्छ तर विचार र बहसलाई निषेध गरेर लाञ्छना आरोप र तथ्यहीन भ्रम र चरित्र हरणको प्रयास निन्दनीय छ । आफूलाई भनिएको मात्रै सत्य आफूले बुझेको मात्रै ठिक आफ्नो तर्क मात्रै असल । आफ्ना नेताको बोली र ज्ञान मात्रै उत्तम सम्झने असङ्गत परिपाटीको विकास गरिएकोले अर्कोले पस्केको विचार स्वतः खारेज योग्य देख्ने निर्देशित र नियन्त्रित मनोविज्ञान नै घातक छ ।
समाजमा रहेका असन्तुष्टि विद्रोह र फरक मत जसले ठुलो समूहको भावना विश्वास र आस्थाको प्रतिनिधित्व गर्छ त्यस्ता कुरालाई बल मिचाइ र दमनको नीति अख्तियार गरेर त्यसले भावी दिनमा निम्त्याउने समस्या र खतराको आङ्कलन र पूर्व समीक्षा गरिएन भने त्यो घाटा समग्र देशको हुनेछ । नेपालको पहिचानमा हिन्दु राज्यको चाहाना के सानो निम्जो र दुब्लो तर्क हो ? भलै यसमा लोकतान्त्रिक विधिबाट धारणा तय गर्न सकिएला र सकिन्छ तर अपार जनमत, समर्थन,आस्था र विश्वासमा बन्देज गर्न पाइन्छ र ? दलितको मान्छे बन्ने हक खोस्न जसरी बलियो जनसङ्ख्याको हिस्सा छ भनेर बलात् दमन गर्न पाइन्न उसैगरि जनमत जनसङ्ख्यामा हिन्दु बहुलता हुँदाहुँदै यस माथिको आस्थावश पहिचानको लागि मात्रै नाममा हिन्दु राज्यको माग सर्वथा नौलो प्रतिगामी र जडसुत्रवादी विचार होइन । बरु हिन्दुत्वको नाममा विशेषाधिकार र विशिष्ट अधिकार चैँ आपत्तिका विषय र अस्वाभाविक कुरा हुन् । दुई दर्जाका नागरिक बनाउने दाउ हुन् । नामको पहिचानले केही बिगार्दैन तसर्थ सङ्घीयता बनाउँदा लिम्बुवान, तमुवान, मधेस, मगरात, तामशालिङ, खप्पतड या खसान जे राख्दा पनि फरक पर्दैन भन्ने उदारता हिन्दुवादीले प्रदर्शन गर्न सकेको भए नेपाल हिन्दूराज्यको नामकरण र पहिचानबाट पछाडि फर्कनु पर्दैनथ्यो ।
अतः अतिवाद छोड्न र अर्कालाई खनेको खाल्डामा आफ्नो लागि पनि धराप हुन्छ भन्ने हेक्का र दूर दृष्टि सबैलाई राख्न समयले सिकाएको हुनुपर्छ । लोकतन्त्रमा बहुमतले विधि बनाउने र माइनुयिरिटिको आवाज आत्मसम्मान र गरिमाको पनि उत्तिकै ध्यान दिने पद्धति विकास गर्नुपर्ने सिद्धान्त प्रतिपादन गरिन्छ । सबैप्रति सहिष्णु र उदार भाव राख्ने हरेकका विचारलाई फुल्न फल्न स्पेस दिने उदारता नै लोकतन्त्रको सौन्दर्यात्मक अवस्था हो । यसर्थ सौन्दर्यको गुणगान गर्ने हो कुरूप पक्ष राज्य हुनुपर्छ ।
रवीन्द्र आफ्नो राजनीतिक निबन्धमा लेख्छन् – ‘मैले मान्छेलाई विचारका आधारमा होइन, उसको गुण दोषका आधारमा मूल्याङ्कन गरेँ । मैले अभ्रष्ट, भद्र र शान्तिपूर्ण रूपमा विपरीत दृष्टिकोण राख्नेहरूलाई कहिल्यै दानवी करण गरिन र भविष्यमा पनि गर्ने छैन । किनभने, म विचारको दास होइन । यो देशको चाहिँ दास हुँ । मेरो इमान र मेरो बुझाइको देशभक्तिमा सम्झौता नगरी मृत्युशय्या पुगेँ भने मुस्कुराएर अन्तिम सास फेर्नेछु । त्यो मेरा लागि अग्रगामी मरण हुनेछ । बिराएको बाटोबाट फर्किएर सही बाटो पुनः पक्रिनु मेरा लागि अग्रगमन हो, पश्चगमन होइन ।’
कथम् उनको विचार प्रतिगामी र मुलुकको हित विपरीत रहेछ भने त्यसको मूल्य व्यक्ति रवीन्द्र मिश्रले चुकाउँछन् यद्यपि उनको पार्टीलाई सामान्य क्षति पुग्ला तर बृहत् पार्टी उनको नितान्त व्यक्तिगत विचारको क्षतिमा समाहित हुनु पर्दैन, जबसम्म रवीन्द्रको विचार विवेकशील साझा पार्टीले आफ्नो पार्टीको विचार भनेर ग्रहण गर्दैन ? के थाहा आज रवीन्द्रले पस्केको विचार नै भोलि राज्यको एजेन्डा बनेर पो आउँछ कि ? राजनीतिमा कहिलेकाहीँ भविष्य नदेखिएकाले पनि सुन्दर भविष्य निर्माण गरिरहेको हुन्छ । यो भोलिको राजनीति र यसले तय गर्ने मार्गको लागि छलफलको मुद्दा बन्छ । भ्रष्टाचार आमाको रगत खाए बराबर भनेर कसम खाएको कुरा विश्वास मात्रै गर्ने हो भने रवीन्द्र आफ्नो ब्रह्मको आवाज बोल्दै छन् ।
सङ्घीयतामा राजनीतिक जागिर मात्रै धेर भयो समीक्षा गरौँ भन्दा पाप बोलिएको र यथार्थ भन्दा पर गर बोलिएको हुन्छ र ? उत्तरपन्थी, दक्षिणपन्थी, वामपन्थी या आमलक कुनै पन्थी भएर मात्रै नसोचेर नेपाली पन्थी र नेपालवादको प्रमोसन गर्न सकिन्न र ? जडाउरीवाद छोडेर नेपालवादको मर्म बोक्नु अन्यथा हुन सक्तैन । हाम्रो भूमि निरन्तर अनेकन् प्रयोगशालामा रूपान्तरण भई रहेको छ । प्रयोगशाला अरूको इशारा र सङ्केतको होइन आफ्नै माटो सिञ्चित बनाउने पो हो कि ? ‘देशको अखण्डता, स्वाधीनता, इतिहास, संस्कृति सबै क्षयकृत भयो भने भोलि कोही शान्तिले बाँच्न पाउँदैन। बढाइचढाइ गरेको जस्तो लाग्ला। तर कैयौँ देशहरूमा त्यस्तो भएको छ।’ रवीन्द्रका यी तर्कमा दम नभएको होला र ?
नेतृत्वको क्वालिटी भनेको धेरैले हिम्मत नगरेको विषयमा बोल्नु र एन्टि करेन्ट उभिने साहस गर्नु पनि हो । त्यो साहस केवल देश हितको लागि भए मूर्खता नै सही साहस सलाम योग्य र स्वागत योग्य ठहर्छ । रवीन्द्रले आज पाएको आलोचना यति धेरै गालीको पछि रवीन्द्रमा पलाउँदै गरेको तागत या उनमा शक्ति छ भन्ने भ्रम या मुलुकको आजको यथार्थ प्रतिबिम्ब गर्ने शक्तिको उत्खनन त होइन ? गुमाउन नहुने मौलिकता गुमाएपछि सबै कुरा आयातित नै हुन्छ । भुटान नेपाललाई कोरोना भ्याक्सिन सहयोग गर्ने हैसियत राख्छ हामी याचक मात्रै ? खै कहाँ चुक्यौ र किन चुक्यौ अनि चुक्दै छौँ । प्रधानमन्त्री रहँदै ओलीले गोकुल बास्कोटा र महेश बस्नेत मार्फत सङ्घीयता र धर्म निरपेक्षता बारे बोल्न नलगाएका होइनन् तर तिनीहरू डेट एक्सपायर्ड हुँदै गरेको पात्र र प्रवृत्ति भनेर कसैले पत्याएन र आलोचना पनि अपेक्षित देखिएन जति रवीन्द्र मिश्र बोल्दा भयो ? ढिला भएन र हाम्रो आफ्नै राजनीति आफ्नै परिवेश र मौलिकता बारे पुनरावलोकन गर्न ? कुनै पनि विषय पक्ष आफैमा निर्विकल्प हुँदैन होइन र अपवाद बाहेक ? रवीन्द्रले निर्विकल्प विकल्प बोलेका हुन त ?