- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
घोडीको रूपधारी लक्ष्मीले एक हजार वर्षसम्म कठोर तपस्या गरिरहिन् । उनको तपस्याबाट प्रसन्न भएका शिवजी माता पार्वती तथा आफ्ना लावा लस्कर सहित त्यहाँ आइपुग्नुभयो । उहाँले घोडीको रूपधारी लक्ष्मीलाई विष्णु भगवान् सबैलाई वर दिने, सर्वगुण सम्पन्न हुँदा हुँदै पनि यसरी आफ्नो आराधना गर्नुपरेको कारण सोध्नुभयो । उहाँले पति नै स्त्री जातिको देवता हुन्, पति जस्तो भए पनि स्त्री जातिले उनकै सेवामा लाग्नु पर्दछ, उनकै सेवाभन्दा ठुलो अरू केही छैन आदि भन्दै लक्ष्मीलाई बताउनु भयो ।
शिवजीको यस्तो कुरा सुनेपछि लक्ष्मीले आफूले पतिबाट श्राप पाएको र शिवजीको कृपाबाट मात्र आफ्नो उद्धार हुने हुनाले तपस्या गर्नुपरेको कुरा बताइन् । साथै उनले आफूलाई श्राप मोक्ष हुने वरदान पाएको कुरा पनि बताइन् । एउटा पुत्र प्राप्त भएपछि आफू श्रापबाट मुक्त हुने तर विष्णु वैकुण्ठमा बस्ने हुँदा त्यो कुरा सम्भव नभएकोले श्रापबाट मुक्त हुन सक्ने बाटो नदेखेको कुरा पनि बताइन् । उनले आफूले शिव र विष्णुमा कुनै भेद नदेखेको, पतिसँग बसेको वेलामा पनि यी दुवै बिच कुनै भेद नभएको कुरा थाहा पाएको कुरा बताइन् । शिवजीले पनि उनलाई यस्तो गुह्य कुरा पत्ता लगाएको कारण सोध्नुभयो । ठुला ठुला ऋषि, मुनी, सिद्ध महापुरुषहरूले त शिव र विष्णुमा भेद देखेको तथा आफूलाई श्रद्धा गर्नेले विष्णुको अवहेलना गरेको र विष्णुलाई श्रद्धा गर्नेले आफूलाई हेला गरेको कुरा लक्ष्मीलाई बताउनुभयो ।
हरिहरको एक आपसको सम्बन्ध (भाग एक)
शिवजीको यस्तो कुरा सुनेपछि लक्ष्मीले शिवजीलाई आफूले गरेको अनुभवको कुरा सुनाइन् । अनुभव यस प्रकारको थियो । एक दिन वैकुण्ठमा विष्णु पद्मासनमा बसेर ध्यान गरिरहनु भएको रहेछ । सबै संसारले मानेको, सबैलाई वर दिने, दुष्ट संहारक पुरुषले कसको ध्यान गरेको होला भनेर आफू विस्मयमा परेकोले ध्यान समाप्त भएर विष्णु उठेपछि आफूले हजुरले कसको ध्यान गरेको भनेर प्रश्न गर्दा विष्णुले आफूले शिवजीको ध्यान गरेको आफू कहिले शिवजीको ध्यान गर्ने, शिवजी कहिले आफ्नो ध्यान गर्ने तथा आफू शिवको प्रिय प्राण भएको र शिव आफ्नो प्रिय प्राण भएको र शिवजीको द्वेष गर्ने नरकमा पर्ने कुरा बताएको वृत्तान्त सबै शिवजीलाई बताइन् । यी सबै कारणले गर्दा आफूले शिवजीको आराधना गर्नुपरेको कुरा उनले बताए पछि शिवजीले आफूले केही उपाय गर्ने कुरा बताउनु भएर लक्ष्मीलाई सान्त्वना दिनुभयो ।
उहाँले भन्नुभयो, मबाट विष्णु प्रेरित भएपछि घोडाको रुमलिएर तिमी कहाँ आउनु हुनेछ र यसपछि पुत्रको कामना पनि पूरा हुनेछ । अनि तिमी फेरि वैकुण्ठमा गएर सुखसँग विष्णु भगवान्को सान्निध्यमा नै बस्न पाउने छौँ । यसरी तिमीबाट जन्मेको पुत्रले हैहेय वंशको वृद्धि गर्नेछ, जुन विष्णुकै कृपाले भएको हो । तिमीले भगवतीको आराधना नगरेको भएर तिमीले घोडाको रुपदेखेर मोहित भएकोले घोडी भएकी हौ । भगवतीको आराधना गर, उनकै कृपाले सब काम बन्नेछ भन्ने कुरा बताउनुभयो र आफू पार्वती सहित अन्तर्धान हुनुभयो ।
कैलाश पुगेपछि शिवजीले आफ्ना प्रिय दूत चित्ररथलाई विष्णु भगवान् सँग भेट गर्न वैकुण्ठ पठाउनु भयो । वैकुण्ठमा गएर उनले विष्णुलाई भेट गरे अनि घोडाको रूप लिएर लक्ष्मीले तपस्या गरेको स्थानमा जानु पर्यो भन्ने शिवजीको सन्देश निवेदन गरे । शिवजीको सन्देश अनुरूप विष्णु घोडाको रूप लिएर कामातुर अवस्थामा तपस्थल पुग्नुभयो अनि दुवैको समागम भयो । घोडीरुप लक्ष्मी गर्भवती भइन् र हैहेय वंश वृद्धि हुने एक पुत्र रत्न जन्माइन् । त्यो पुत्रलाई राजा हरिवर्माले पुत्र बनाएर आफैँले पालन पोषण गरेर बसे । (अस्तु)
(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com