arrow

झमेलामा संसद 

संसदको तेस्रो दिनको बैठक बस्दै, प्रतिपक्षी विरोध गर्दै जाने र सत्तापक्ष अगाडि बढ्दै जाने रणनीति

सपथसम्बन्धी अध्यादेश २०७८, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेशलगायतका प्रस्ताव पेश हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २७ आइतबार
parliament-disrupt-uml.jpg
तस्वीर–फाइल ।

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार पनि बस्दैछ । गत बुधबारदेखि बसिरहेको संसदको तेस्रो दिनको बैठक आइतबार बस्न लागेको हो । बैठक दिउँसो १ बजे शुरु हुँदैछ । 

संसदको नवौं अधिवेशन भने त्यति सहज रुपले चलिरहेको छैन । संसदमा सत्तागठबन्धनले जबरजस्ती प्रक्रिया अगाडि बढाइरहेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरुद्ध गर्दै आइरहेको छ । 

एमाले सांसदहरुको अवरोध र नाराबाजीका बीच नै सरकारले बुधबार दलसम्बन्धी अध्यादेश विधेयक पेश गरेको थियो । त्यस्तै शुक्रबार पनि एमाले सांसदहरुको विरोधका बीच नै सरकारले प्रतिस्थापन विधेयक ल्याउँदै उक्त विधेयकमार्फत बजेट संशोधन गरेको थियो । 

सोही संशोधनमार्फत गत जेठ १५ गते केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत बजेट ल्याएकामा उक्त बजेटमा झण्डै १५ अर्ब कम गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्माले संशोधन बजेट ल्याएका थिए । 

आइतबारको बैठकमा पनि सरकारले विभिन्न अध्यादेश प्रस्तुत गर्दैछ । सम्भावित कार्यसूचीअनुसार आइतबारको बैठकमा सपथसम्बन्धी अध्यादेश २०७८, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेशलगायतका प्रस्ताव पेश हुनेछन् । 

आफूले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले संसदभित्र बस्न दिएर अनधिकृत कार्य गरेको भन्दै एमाले रुष्ट बनेको छ । तर सभामुखले भने निर्वाचन आयोगले नै वैधानिकता दिएसँगै आफूले केही गर्न नसक्ने स्पष्ट पारेका छन् । 

एमालेबाट फुटेर माधवकुमार नेपालसहितका १४ सांसदले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका छन् । अहिलेको सत्ता गठबन्धनमा नेपालको दलले पनि अहम् भूमिका खेलिरहेको छ । 

जारी नवौं अधिवेशन भने सत्तारुढ र प्रतिपक्षबीचको वैमनश्यबीच नै सकिने लक्षण देखिएको छ । 

यसअघि केपी ओलीले दुई पटकसम्म संसद विघटन गरेसँगै अहिलेका सत्ता गठबन्धनमा भएका दलहरु त्यतिबेलादेखि नै आक्रोशित छन् । 

तर सत्ता गठबन्धनले प्रमुख प्रतिपक्षीसँग संसदको अवरोध हटाउने सम्बन्धमा अहिलेसम्म कुनै पहल गरेको छैन । 

एमाले सांसदहरुले पनि सभामुखविरुद्ध संसदमै नाराबाजी गरेर अमर्यादित शैली प्रस्तुत गरेका छन् । उनीहरु आक्रामक शैलीमा उत्रिने क्रममा बुधबार कांग्रेसका दुई सांसद बस्ने कुर्सी नै भाँचिदिए । 

त्यस्तै एमाले सांसद रेखा झाले संचारकर्मीहरुसँग आफूले माइक पाएको भए सभामुख, अर्थमन्त्री र गृहमन्त्री बालकृष्ण खाणको टाउको फुटाइदिने प्रतिक्रिया दिएकी थिइन् । 

उनलाई केपी ओलीले रोकेको पनि बताइन् । ओली पनि शुक्रबारको बैठकमा वेलमा गएर विरोध गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ