- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दूत देवीको यस्तो कुरा सुनेर राजा कहाँ आयो । उसले राजालाई आफू देवीसँग लडाइ गर्न सक्ने समर्थवान भएको तर राजाको आज्ञा नभईकन केही पनि गर्न नसकिने कुरा बतायो । त्यसै गरी उसले राजालाई भविष्यमा हुने कुराको परिणाम बताउन नसक्ने र यसै गर्नुपर्छ भन्ने कुरा पनि बताउन नसकिने भन्यो ।
यसरी देवीले आफूलाई गाली गरेको कुरा भूतको मुखबाट सुनेपछि उसले मन्त्रीहरूसँग सल्लाह गर्न लाग्यो । मन्त्रीहरूले उसलाई बुद्धिमान मनुष्यले सधैँ सत्य र प्रिय बोल्नु पर्ने, हित हुने कार्य गर्नुपर्ने कुरा बताए । औषधि सेवन गर्दा तितो भए पनि यसले पछि भलो गर्ने हुँदा सेवन गर्नु उचित हुने दृष्टान्त दिँदै संसारमा अप्रिय बोल्दा पनि कहिले काहीँ त्यसको नतिजा राम्रो देखिने कुरा राजालाई बताए । संसारमा सत्य बोल्ने व्यक्ति दुर्लभ हुन्छन् तर चेपारो घस्ने धेरै हुन्छन् भन्दै उसले आफू यसै गरौँ भन्न नसक्ने कुरा बतायो ।
महिषासुरले मन्त्रीहरूले आफूलाई लागेको कुरा बताउनु पर्ने र त्यसमा निर्णय भने आफू गर्ने कुरा बतायो । उसको यस्तो कुरा सुनेर विरुपाक्षले त्रिलोक विजय गरेका राजाले एउटा जावो स्त्रीको रूप देखेर, गर्जन सुनेर डराउनुपर्ने कुरा केही छैन भन्दै आफू एउटैले उनलाई विजय गरेर लेराउने कुरा बतायो र राजालाई आफ्नो पराक्रमको नतिजा हेर्न अनुरोध गर्यो ।
उसको कुरा सुनेपछि दुर्धर नामको राक्षसले विरुपाक्षले गरेको आँटको प्रशंसा गर्यो र ती कामातुर स्त्रीलाई वशमा गराउने हौसला दिँदै गयो । उनीहरूको कुरा सुनेपछि ताम्र नामको अर्को सल्लाहकारले पनि आफूलाई लागेको कुरा बताउन थाल्यो ।
उसले भन्दै गयो, बुद्धिमान स्त्री कहिल्यै पनि कामातुर नहुने तर उनले राजालाई रण क्षेत्रमा ढलाउने कुरा सुनेर ब्रह्मा, विष्णु, महेश्वरलाई विजय गर्ने पुरुषले यस्ता गर्जनाबाट डराउन नहुने भन्दै यस्ती रूप भएकी स्त्री कहिल्यै पनि पैदा नभएको, कसैले नदेखेको हुँदा आफूहरूमा सङ्कट आउने सम्भावना देखेको कुरा बतायो । उसले राज्यमा चरा चुरुंगीहरु रोइरहेका, घर घरमा उपद्रव भइरहेकोले आफूले सङ्कट आइपर्ने शङ्का लिएको कुरा सुनायो ।
जे भए पनि अहिले डराउने वेला छैन, युद्धमा होमिनुपर्छ, पछि जे होला होला, शुभ पनि होला अशुभ पनि होला, दैवको इच्छा विपरीत केही पनि हुँदैन भनेर धैर्यपूर्वक अगाडि बढ्नु पर्ने आश्वासन दियो ।
यी सबै कुरा सुनेपछि महिषासुरले ताम्रलाई देवीसँग युद्ध गर्न जाऊ भनेर पठायो तर उसले देवीलाई सम्मान नै गर्नु भनेर अह्रायो अनि कालले हुत्त्याएको ताम्र सेनावल सहित अगाडि बढ्यो ।
ऊ देवीको सन्मुख पुग्यो अनि नम्र स्वभावले महिषासुरसंग प्रीति लगाउन र उसलाई पति बनाए संसारको राज्य सुखभोग गर्न पाउने कुरा बतायो । उसले देवीलाई संसारमा युद्ध गर्नु भनेकै दुःखदायी हो, फूलले त युद्ध गर्नु ठिक छैन भने अस्त्रले युद्ध गर्नाले भलो नहुने कुरा बताएर प्रलोभनमा पार्ने कोसिस गर्यो ।
(क्रमशः....)
(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com