- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
यसरी ताम्रले बताएपछि भगवतीले मुस्कुराएर महिषासुरलाई सुनाउनु भनेर केही कुरा बताउन लागिन् । उनले भनिन्, हे महिषासुर तिम्रो आमा घाँस खाने, ठुलो भुँडी भएकी, सिङ पुच्छर लामा लामा भएकी जस्ती म होइन, म सबै देवताहरूले पुजिएकी स्त्री हुँ, म त्यस पशुलाई कसरी वरण गरूँ । मैले यसो गरेँ भने संसारमा मेरो बदनाम हुनु बाहेक अरू केही हुने छैन । संसारमा आफू बराबर कुलसँग सम्बन्ध राख्नुपर्छ, नत्र संसारमा दुःख बाहेक केही पनि हुने छैन ।
देवीले आफ्नो पति साक्षात् परमेश्वर हुनुभएको जसले सारा संसारको प्राणीहरूको जय गर्ने, सबैलाई आश्रय दिने, सर्वज्ञ, सर्वव्यापी हुनुहुन्छ, त्यसैले यस्ता परमेश्वर हुँदा हुँदै म मूर्ख पशुको पत्नी बन्न कसरी जाऊँ ।
यति कुरा बताएर उसलाई आफूले बाँच्ने इच्छा राखेको छ भने तुरुन्त दानवहरूलाई लिएर पाताल लोकमा जानु, नत्र भने म सँग लडाई गरेर मृत्यु वरण गर्नु भन्ने सन्देश दूतलाई दिइन् र आफू गर्जन लागिन् ।
उनको गर्जना सुनेर पृथ्वी कम्पायमान भइन् भने पहाडहरू हल्लन लागे । त्यस आवाज सुनेर ताम्रपनि भाग्यो । महिषासुरको सम्मुख पुगेर उसले देवीको सन्देश सबै बतायो । त्यहाँ रहेका सबै दानवहरू भगवतीको आवाज सुनेर बहिरा बने । भगवतीको वाहन सिंह पनि आफ्नो गर्दन फुलाएर गर्जन लाग्यो ।
सिंहको गर्जनबाट दैत्यहरू पनि सबै डराए । ताम्र फर्केको देखेर महिषासुर खिन्न भयो र अव के गर्ने भनेर आफ्ना सल्लाहकारहरूसँग सल्लाह गर्न लाग्यो । उसले सल्लाहकारहरूलाई लडाइँमा आफ्नो विजय हुने या हार हुने हो, भविष्य कसैलाई थाहा नहुने र दैवको लीलाले गर्दा थोरै फौज भए पनि लडाई जितेका र धेरै भए पनि हारेका छन् आदि भनेर मनको कुरा राख्यो ।
उसले यति भनेपछि बिडालाख्यले स्त्रीको हातबाट मृत्यु हुने वरदान भएकोले मृत्यु निश्चित भएको किनभने ती स्त्रीलाई विष्णु आदि देवताहरूले लडाइँमा सहायता गर्ने नै छन् । सेवकले त मालिकले अह्राएको काम गर्ने मात्र हो भनेर उसको निर्णय अनुसार काम गर्ने बताए ।
दुर्मुखले पनि लडाइँमा भाग नलिएमा कीर्तिमा खोट लाग्ने हुनाले लडाइँमा भाग लिनुपर्ने सल्लाह दियो । यसरी सबैले अनेक तर्क सहित आफ्नो राय दिए र वाष्कल, दुर्मुख, ताम्र आदि राक्षसहरू रणभूमिमा आए र देवीलाई अनेक प्रलोभनका कुरा बताए तर देवीले सबैलाई मारिन् ।
(क्रमशः....)
विनाश काले विपरीत बुद्धि ( भाग १)
विनाश काले विपरीत बुद्धि ( भाग २)
(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com