- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गौरीघाट । एक पटक युधिष्ठिरलाई आफू देशबाट निक्लनु परेको, द्रौपदीको हरण भएको आदि क्रियाकलापबाट मनमा दुःख लागेर खिन्न भएका रहेछन् । उनी मार्कण्डेय आदि ऋषिहरूको सत्सङ्गमा गए । उनले मार्कण्डेय ऋषिलाई आफू जस्तो मन्दभाग्य पुरुष संसारमा नभएको सोचेर खिन्न भएको कुरा बताएछन् । उनले “म जस्तै कोही छन् कि भनेर ऋषिलाई प्रश्न गरेछन् । उनको प्रश्न सुनेर ऋषिले यस प्रकारका दुःख पाउने पुरुषहरू पनि छन् । श्रीराम, सीता, जटायु, रावण आदिले भोग्नुपरेको कष्ट, दुःखका बारेमा बताएछन् ।
उनी भन्दै गएछन्, “हेर युधिष्ठिर, अज नाम गरेका एक राजा इक्ष्वाकु कुलमा जन्मेका थिए । उनको छोराको नाम दशरथ थियो । श्रीराम दशरथका जेठा छोरा थिए । उनी १४ वर्ष बनमा जाँदा अनेक प्रकारका दुःख भोग्नु परेको थियो । द्रौपदी पनि यज्ञको वेदीबाट पैदा भएकी हुन् । उनले सबैलाई सत्कार गर्दथिन्, सबैलाई मान गरेकी नै थिइन् । तर पनि जयद्रथ जस्तो पापी राजाले गर्दा उनले त्यस्तो अपमानित हुनुपरेको दृष्टान्त दिएर चित्त बुझाएछन् ।
युधिष्ठिरलाई श्रीराम बारे बढी जान्ने इच्छा भएछ । उनले अनुरोध गरेपछि मार्कण्डेयले रावण, कुम्भकर्ण आदिको जन्म, तपस्या आदिका बारेमा बताउन थाले । ब्रह्माजीका परम प्रिय मानस पुत्र पुलस्त्यजी थिए । पुलस्त्यजीको गौ नामक पत्नीको तर्फबाट एक पुत्र जन्मन गयो । यिनी वैश्रवणको नामले चिनिन्छन् । वैश्रवण आफ्नो बाबुको सेवा नगरी बाजेको सेवा गर्न लागे । उनको यस्तो चाला देखेर पुलस्त्य रिसाए अनि उनको आधा शरीरबाट विश्रवा प्रकट हुन गए ।
विश्रवा वैश्रवणसँग बदला लिन सधैँ तत्पर रहन्थे तर पितामह ब्रह्माजी उनी सँग खुसी भएको हुनाले उनलाई अमरत्व र धनको मालिक (कुवेर) बनाइ दिए । ब्रह्माजीले नै कुवेरसँग श्री शिवजीसँग मित्रता बढाइदिए । उनको नल कुवर नामको पुत्र भए र लङ्काको राजधानी बनाइ दिए । त्यसै गरी कुवेरलाई जहाँ गए पनि हुने एक पुष्पक विमान दिए ।
विश्रवाले कुवेरलाई वक्रदृष्टिले हेर्न लागे । कुवेर लङ्कामा नै बस्थे । उनी मानिसहरूले बोकेर लैजानु पर्ने पाल्कीमा बसेर यात्रा गर्दथे, त्यसै उनलाई नरवाहन पनि नाम दिइएको थियो । आफ्नो बाबुको स्याहार सुसार गर्न उनले तीन वटा सेविकाहरू नियुक्त गरेका थिए । उनीहरू तीनै जना राम्ररी नाच्नमा निपुण थिए । त्यसैले महर्षिलाई खुसी पार्न खोज्दथे । उनीहरूको नाम पुष्पोत्कटा, राका तथा मालिनी थियो । उनीहरू आफ्नो भलाई पनि चाहन्थे त्यसैले महर्षिको सेवामा तंछाड मछाड गर्दथे । महर्षिले उनीहरूलाई इच्छा अनुसारको पराक्रमी पुत्र होस् भन्ने वरदान दिए । पुष्पोत्कटको गर्भबाट रावण र कुम्भकर्ण जन्मे । मालिनीले विभीषणलाई जन्म दिइन् भने राकाले खर र शुर्पणखालाई जन्म दिइन् ।
यी सन्तान मध्ये सबभन्दा गुणवान् र धर्म रक्षक विभीषण थिए । रावण दश शीरबाला थियो । कुम्भकर्ण मायावी र कुशल लडाकु थियो । त्यसै गरी खर धनुर्विद्यामा निपुण र मांस भक्षण गर्ने हुन गयो । शुर्पणखा ठुलो शरीरकी तथा ऋषि मुनिहरूको तपस्यामा विघ्न पार्ने वाला थिई । ती सबै केटा केटीहरू आफ्नो बाबुसँग गन्ध मादन पर्वतमा सुखपूर्वक वस्तथे । एक दिन कुवेर आफ्नो बाबुसँग बसिरहेको रावणहरूले देखे । उनीहरूलाई डाहा भयो र ब्रह्माजीको तपस्या गर्न लागे । रावणले एक खुट्टा टेकेर तपस्या गर्यो । कुम्भकर्ण आहारको संयम गर्दै जमिनमा सुतेर कठोर नियम पालना गर्दथ्यो । विभीषण केवल सुकेको पात खाएर हरदम जपमा तल्लीन भइरहने भए । खर र शुर्पणखा आफ्नो दाजुभाइहरूको रेखदेखमा लागे ।
एक हजार वर्षको कठोर तपस्या पछि रावणले आफ्नो शिर काटेर अग्निमा होमिदिए । व्रम्हाजी खुसी भए । सबैलाई आशीर्वाद दिँदै भने, “तिमीहरू मसँग अमरत्व बाहेक सबै वर माग” भने । रावणको दसैँ शिर ब्युँझ्यो । तिमीलाई मनुष्य बाहेक अरू कसैले मार्न सक्तैन, मैले नै मनुष्यद्वारा तिम्रो वध हुने विधान बनाएको हुँ भने । रावण खुसी भयो । कुम्भकर्णको बुद्धि तमोगुणले भरिएको हुनाले धेरै समयसम्म निद्रा लाग्ने वर मागे । विभीषणलाई पनि वर माग भन्दा उनले जति सङ्कट आए पनि मेरो मनमा कसैप्रति पापको भावना नआओस् भन्ने वर मागे । ब्रह्माजीले आफू खुसी भएर उनलाई अमरत्वको वरदान दिए ।
वर प्राप्त गरेपछि रावणले सबभन्दा पहिले आफ्नो दाजु कुवेरलाई लडाइँमा हराए । र लङ्काबाट बाहिर पारिदियो । कुवेर गन्ध मादन पर्वतमा आएर बस्न लागे । पछि पुष्पक विमान पनि उनीबाट रावणले खोसे । यति भएपछि कुवेरले रावणलाई यो विमान तैँले चढ्न पाउने छ्रैनस्, जसले तँलाई मार्छ उसले नै चढ्छ, अव तेरो चाँडै नाश हुनेछ भन्ने श्राप दिए ।
धार्मिक प्रवृत्तिका विभीषणले दाजु कुवेरको अनुसरण गर्दै गए अनि लक्ष्मी वान बने । रावण उद्दण्ड स्वभावको थिए त्यसैले रूप बदलेर देवता, दैत्यमाथि आक्रमण गर्दै सम्पत्ति खोस्न लागे । यसले गर्दा संसारका सबै प्राणी दुखित हुन पुगे । सबै देवताहरू मिलेर ब्रह्माजीको शरणमा गए । ब्रह्माजीले पनि आफ्नो वर अनुसार रावणको वध हुने कुरा आश्वस्त पार्नुभयो । यसरी यस प्रकारका दुष्ट प्रवृत्तिका राक्षसहरूलाई मार्न रामावतारको आवश्यकता हुन गयो र रामले त्यही पुष्पक विमानमा बसेर रावणलाई मार्नुभएको कुरा ऋषिले युधिष्ठिरलाई बताए ।
( तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका सङ्कलक हुन् ।) इमेल :aamodita@gmail.com