arrow

टी–२० विश्वकपः नामिबिया पहिलो पटक सुपर १२ मा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ६ शनिबार
t20-world-cup-namibia-2021.jpg

काठमाडौं । नामिबिया पहिलो पटक आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गर्न सफल भएको छ । यूएई र ओमानको संयुक्त आयोजनामा जारी विश्वकपमा नामिबियाले पहिलो पटक सुपर १२ मा स्थान सुरक्षित गरेको हो । 

यूएईको शारजाहमा शुक्रबार भएको खेलमा समूहको अन्तिम खेलमा आयरल्याण्डलाई ८ विकेटले हराउँदै नामिबियाले उक्त सफलता हासिल गरेको हो । 

१२६ रनको सामान्य विजयी लक्ष्य नामिबियाले १८.३ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो । नामिबियालाई जित दिलाउन कप्तान गेरहार्ड इरास्मसले नटआउट रहँदै ४९ बलमा ५३ रन बनाए । 

अलराउन्डर एवं प्लेयर अफ द म्याच डेभिड विसेले नटआउट रहँदै १४ बलमा २८ रन बनाए । दुवै विकेट आयरल्याण्डका कर्टिस कापरले लिए । 

आयरल्याण्डको इनिङ्स
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ८ विकेटको नोक्सानीमा १२५ रनमात्र बनायो । तीन खेलाडीले मात्र दोहोरो स्कोर खडा गरेको इनिङ्समा ओपनर पाउल स्टर्लिङले सर्वाधिक ३८ रन बनाए । 

नामिबियाका जान फ्रिलिंकले सर्वाधिक ३ विकेट लिए । डेभिड विसेले २ तथा जेजे स्मिथ र बर्नार्ड शोल्ट्जले १–१ विकेट लिए ।

समीकरण 
यो जितसँगै नामिबियाले ४ अंकसहित समूहको उपविजेता भएर सुपर १२ मा स्थान बनाएको हो । शतप्रतिशत नतिजासहित ६ अंकबाट समूह विजेता बन्दै श्रीलंका सुपर १२ मा पुग्यो । 

आयरल्याण्ड २ अंकमा रहेर बाहिरियो । अंकविहीन नेदरल्याण्ड्स पुछारमा रहेर बाहिरियो । 

योसँगै सुपर १२ मा छिर्ने टिम पक्का भएका छन् । समूह एमा श्रीलंका र नामिबिया तथा समूह बी बाट स्कटल्याण्ड र बंगलादेश सुपर १२ मा प्रवेश गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ