arrow

पाँचथरको मौवाबाट धरान अब ४ घण्टामै

‘तमोर करिडर’सडकको पाँचथरको साँवासेरादेखि धरानको मूलगाढसम्म ट्रयाक खुल्ला

logo
जितेन्द्र भण्डारी।
प्रकाशित २०७३ साउन ८ शनिबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर। पूर्वी पहाडका चार जिल्लालाई छोटो दुरीबाट तराईसित जोड्ने प्रस्तावित ‘तमोर करिडर’ सडक अन्तर्गत पाँचथरखण्डको आङनास्थित साँवासेरादेखि धरानको मूलगाढ सम्म ट्रयाक खोलिएको छ। ट्रयाक खुलेसँगै अहिले मौवा वजारदेखि सिँधै धरान चल्ने सवारी साधानहरु संचालनमा आएका छन्।
 
गत आर्थिक वर्ष ०७२-०७३ मा त्यस खण्डमा साढे १२ किलोमिटर जति सडकको ट्रयाक खुला भएपश्चात अहिले त्यस भेगमा धमाधम जिपहरु संचालनमा आएको हो। त्यस खण्डमा रौताहाट कम्पनीले साढे आठ किलोमिटर सडक १ करोड २० लाख रुपैयाको लागतमा काम सकेको हो। यस्तै वाईबिआर र मार्गदेवी कम्पनीले साढे २ किलोमिटर सडक ५० लाख रुपैयामा र भौनिया कन्स्ट्रकले १ किलोमिटर ६ सय मिटर काम गरेको आयोजनाका सव इन्जिनियर होमनाथ पौड्यालले वताए। उनले भने,“अहिले पाँचथर खण्डको धरानसँग जोड्ने करिव काम सकि सकिएकाले पनि अहिले सवारी साधनहरु संचालनमा आएका छन्।”
 
यो सडक बनेपछि अहिले मौवा वजार बाट धरान जिपमा ४ घण्टामा पुग्न सकिने चालकहरु वताउँछन्। यो करीडोरको नेपाली काँग्रेसका नेता पूर्ण कुमार शेर्मा स्थानिय विकाश मन्त्री भएको बखत नै सम्भाब्यता अध्ययन गरिएको थियो। यो सडकबाट अहिले मौवा वजारदेखि धरानसम्म यात्रा गर्दा जीवनकै आनन्द आएको त्यस ठाउँमा समाजसेवी सुरेन्द्र दाहाल वताउछन्। उनी भन्छन्,“आफू जन्मे हुर्केको गाउँ जहाँ पहिल्यै आफूले कल्पनाको शहर धरान वजारबाट दुई दिनको पैदल यात्रा गर्दे वुवा आमासँग गएर नुन, चामलको बोरा बोकेर दैनिकी चलाएको ठाउँमा अहिले आफनै आँगनबाट गाडी चढेर त्यो पनी ४ घण्टामै धरान पुग्न पाउँदा जीवनकै खुशीको क्षण लागेको छ।”
 
यस्तै यो करीडोरको अहिले पाँचथर र तेह्रथमुको सीमाना माझीटारदेखि ताप्लेजुङको लुम्बिनी पुलसम्म र ताप्लेजुङको दोभानदेखि लिम्बुनी पुलसम्मको खण्डमा यस वर्ष झण्डै १४ किलोमिटर काम गरिसकिएको सवइन्जिनियर पौड्यालले वताए। साढे २ करोड रुपैयाको लागतमा संचालन भइरहेको सडकको ट्रयाक खुल्ला गर्न अव त्यहाँ २ किलोमिटर मात्रै खन्न वाँकी रहेको उनले वताए।
 
‘तमोर करिडर’ माझीटारस्थित मध्यपहाडीको पुलमा जोडिने छ। प्रस्तावित ‘तमोर करिडर’ निर्माण सम्पन्न भएमा पूर्वका ताप्लेजुङ, पाँचथर र तेह्थुमका बासिन्दा छोटो दुरीबाट छिटो तराईसम्म पुग्न सक्ने छन्। यसबाट पूर्वका व्यापारिक र सुविधा सम्पन्न धरान, विराटनगरजस्ता तराईका सहरसित प्रत्यक्ष सम्बन्ध जोडिने छ।
 
माझीटारदेखि १० किलोमिटर मध्यपहाडीको मार्गबाट सदरमुकाम फिदिम बजार पुगिन्छ। माझीटार–दोभान ३५ किलोमिटर र दोभानदेखि १७ किलोमिटर टाढा ताप्लेजुङ फुङलिङ बजार छ। त्यस अर्थमा, फिदिमदेखि ७० र फुङलीङदेखि एक सय २९ किलोमिटरमै धनकुटा मूलघाट पुग्न सकिन्छ। मेची राजमार्ग प्रयोग गर्दा ताप्लेजुङबाट दुई सय ४० र फिदिमदेखि एक सय ५६ किलोमिटर यात्रा तय गरेपछिमात्र झापाको बिर्तामोड पुग्न सकिन्छ। अहिले ताप्लेजुङदेखि धरान पुग्न १० घन्टाभन्दा बढी लाग्ने गरेकोमा यो मार्ग बनेर कालोपत्रे भएमा धरानसम्म तीन घण्टामै पुग्न सकिने छ।
 
ओलाङचुङगोला सडक पनि उस्तै
उता उत्तर–दक्षिण आयोजना अन्तर्गतकै अर्को दोभान–ताप्लेजुङ–फुङलिङ) देखि तिब्बत सीमाक्षेत्र ओलाङचुङगोला टिपटला सीमासम्मको एक सय २३ किलोमिटरमध्ये दोभानदेखिको ५१ किलोमिटरसम्म ट्रयाक खुल्ला भइसकेको छ। हालसम्म करिब २५ करोड खर्च भइसकेको छ। यस्तै गत आर्थिक वर्ष ०७२-०७३मा पनि थप साढे २ किलोमिटर सडक साढे ३ करोड रुपैयाको खर्चमा काम सकिएको इन्जिनियर पौड्यालले वताए। उक्त सडकको तापेथोक छिरुवासम्म ट्रयाक ओपन भएर गाडी कुदिरहेका छन्। सुकेटारदेखि टिपटलासम्मको ९५ किमिमध्ये ६१ किलोमिटर अझै खन्न बाँकी छ।
 
‘चाइना टु इन्डिया कनेक्सन’
 
उत्तर दक्षिण लोकमार्गले हेरिरहेका ‘तमोर करिडोर’ र ओलाङचुङ गोलासम्मको सडक पूरा हुनासाथ तिब्बत र भारतका सीमासम्म सीधा सडक मार्गले जोडिने छन्। इन्जिनियर पौड्यालका अनुसार यो मार्गबाट तिब्बत सिमाना टिपटला र भारतीय सीमाना रानी (विराटनगर) सम्मको दूरी करिब दुई सय २० किलोमिटर मात्र पर्छ। टिपटला सीमा नाकादेखि तिब्बतको रेल कुद्ने क्षेत्र सिगात्से नजिक पर्ने भएकोले चाँडै उत्तरी नाका खोल्न पनि सडक निर्माण छिटो गर्नुपर्ने स्थानीयको माग छ।
 
मुलघाटदेखि तमोरको किनारै किनार २२ किलोमिटरमा चतरा पुगेर मध्यपहाडी मार्ग प्रयोग गरी काठमाडौं पुग्न सकिन्छ। धेरै किसिमले वैकल्पिक र छोटो मार्गकोरुपमा प्रयोग गर्न सकिने भएकोले यो सडकलाई राष्ट्रिय गौरवको आयोजना मध्यपहाडीजस्तै उच्च प्राथमिकता दिएर काम अगाडि बढाउनुपर्ने सरोकारवालाहरु वताउँछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ