- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
श्री शिवपुरी बाबासँग एक जनाले बाबा, हामीले चोर्न हुन्छ त ? भनेर प्रश्न गरेका थिए ।
उनको प्रश्नमा सहमति जनाउँदै उहाँले कन्जुस धनीको घरमा भएको धनको केही भाग उसलाई छुट्टाई बाँकी चोरेर असक्त, आवश्यक व्यक्तिहरूको उचित संरक्षणमा प्रयोग गर्न सके त्यसबाट फाइदा नै हुन्छ । तर चोरेको धनको ९० प्रतिशत दान गर्नु पर्छ भन्ने जवाफ दिनुभएको थियो ।
श्रीकृष्णको समयको एउटा चोरको छोटो चर्चा आज गरिन लागिएको छ । वृन्दावनमा एउटा चोर थियो । ऊ धनीहरूसँग भएको धन चोरेर गरिब गुरुबालाई मद्दत गर्ने, परोपकारी काममा लगाउने गर्दथ्यो । ऊ सँग केही पनि बाँकी रहन्थ्यो ।
उसको त्यो चाला एक जना बुढाले देखिरहेका रहेछन् । एक दिन उसलाई ती बुढाले कसैको धन चोर्न लागेको देखेछन् । उनले चोर्नाको कारण सोधेछन् । उसले सबै बतायो । त्यो चोर सत्य बोल्ने थियो ।
ती बुढाले उसलाई तिमी यसरी दिनहुँ चोर्न जाँदा रक्षकहरूले समाते भने तिमी फन्दामा पर्छौ । त्यसैले एक दिन नगरको सबभन्दा धनीको घरमा गएर चोर ।
ती धनी व्यक्ति आफ्नो शिरमा कीरिट, मणिजडित कपडाहरू लगाएर, वैजयन्ती माला पहिरिएर हिँड्ने पुरुष हुन् । उनको दरबार भित्र पस र जीवनभर आफ्नो धोको पुर्याऊ भनेर अर्ती दिएछन् ।
बुढाको अर्ती उसले शिरोधार्य गर्यो र राजमहलको ढुकुटी चोर्ने मनसायले दरबार भित्र पस्यो । दरबारका रक्षकहरूले उसलाई समाते र घरधनी राजाको सामुन्ने लगे । ती राजा अरू कोही थिएनन् । भगवान् स्वयं श्रीकृष्ण नै हुनुहुन्थ्यो ।
रक्षकहरूले उसलाई समातेर ल्याएको कारण श्रीकृष्णलाई निवेदन गरे । उसले आफ्नो उद्देश्य स्पष्ट रूपमा श्रीकृष्णलाई निवेदन गर्यो ।
श्रीकृष्ण उसको स्पष्टवादिताबाट अति नै हर्षित हुनुभयो र भन्नुभयो, 'ए मनुष्य तिमी चोर होइनौ । चोर भएको भए तिमीले ढाँट्ने थियौ । तिमीले नढाँटीकन सबै कुरा भनेकोले आफू प्रसन्न भएको' कुरा बताउँदै उसलाई मनग्ये धन दिएर फर्काउनु भयो ।
(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।) इमेल :aamodita@gmail.com