arrow

औद्योगिक क्षेत्रको सुविधा लिँदै गैर उत्पादक उद्योग

logo
प्रकाशित २०७३ साउन १२ बुधबार
aaaaaaa.jpg.jpeg
काठमाडौं। नेपालमा १० वटा औद्योगिक क्षेत्र छन् । औद्योगिक क्षेत्रको नामैले उद्योग तथा कलकारखानाहरूको स्थापना गरिएको निश्चित क्षेत्रलाई जनाउँदछ। जहाँ सरकारले छुट्टै सुरक्षा व्यवस्था खडा गरेको हुन्छ भने विद्युत लगायतका सुविधाहरुको छुट्टै व्यवस्था गरिएको हुन्छ।
 
 तर, त्यस्तो क्षेत्रमा गैर–उत्पादक उद्योगहरू पनि प्रशस्तै रहेका छन्। जसले गर्दा  वास्तविक उद्योगहरू औद्योगिक क्षेत्रभन्दा बाहिर रहने र सरकारले ती उद्योगहरूलाई सुविधा प्रदान गर्न समेत कठिन हुने गरेको स्वयं औद्योगिक क्षेत्र व्यवस्थापनमा खटिएका कर्मचारीहरूले बताउँदै आएका छन् ।
 
एउटा निर्माणाधीनसहित कुल ११ वटा औद्योगिक क्षेत्र रहेको नेपालमा सरकारले सुरक्षाको लागि समेत छुट्टै प्रवन्ध गर्दै सशस्त्र प्रहरीको जत्था नै औद्योगिक क्षेत्रको सुरक्षाको लागि खटाउने गरेको छ। 
 
तर, औद्योगिक क्षेत्रमा देखिएको गैर उत्पादक उद्योग हटाउने नसक्नुले भने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नै कमजोरी रहेको स्पष्ट हुन्छ ।
 
आर्थिक वर्ष २०७२(७३को अन्तसम्ममात्रै देशभरका औद्योगिक क्षेत्रमा  व्यवस्थापन लिमिटेड सो क्षेत्रभित्र मात्रै झण्डै साढे छ सय उद्योगहरू सञ्चालनमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जानकारी दिएको छ। सो क्षेत्रभित्र अहिले कुल डेढ दर्जनभन्दा बढी गैर–उत्पादक उद्योगहरू सञ्चालनमा रहेका छन्। 
 
उता, देशभरका औद्योगिक क्षेत्रको नियन्त्रण गर्न खुलेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नयाँ नीति बनाउँदा पनि त्यस्ता उद्योगहरूलाई विस्थापित गर्न नसकिएको दाबी गरेको छ।
 
कार्यालयका अनुसार अहिले गैर–उत्पादक उद्योगलाई सामान्यभन्दा झण्डै तेब्बर पैसा असुली गर्ने गरी कानुन बनाइएको जानकारी दिए। 
 
कार्यालयका अनुसार गैर–उत्पादक उद्योगहरूलाई बढीमा एक लाख रूपैयाँसम्म लिने गरिएको छ। अन्य उद्योगहरूलाई वार्षिक बढीमा प्रतिरोपनी ४० हजार रूपैयाँ मात्रै लिइने गरेको छ। 
 
काठमाडौंको बालाजुमा रहेको बालाजु औद्योगिक क्षेत्रमा १० वटा गैर–उत्पादक उद्योगहरू रहेको लिमिटेडले जनाएको छ । 
 
सो क्षेत्रको कुल क्षेत्रफलभित्र चलचित्र विकास बोर्डलगायतका गैर–उत्पादक उद्योगहरू वैधानिक रूपमा भाडा तिरेर बसेको थियो। 
 
तर, औद्योगिक क्षेत्रमा गैर उत्पादक उद्योग रहेको भनेर गुनासो बढेपछि उसलाई हटाएर नयाँ टेण्डर प्रक्रिया पनि अगाडि बढिसकेको छ। 
 
केही वर्ष अगाडिसम्म औद्योगिक क्षेत्रमा गैर–उत्पादक उद्योग हुन नहुने भनेर व्यापक आलोचना हुन थालेपछि लिमिटेडले औद्योगिक क्षेत्रको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्य सञ्चालन तथा व्यवस्थापन निर्देशिका–२०७१ तयार पारी औद्योगिक क्षेत्रभित्र गैर–उत्पादक उद्योगहरू स्थापना गर्न दिन नहुने व्यवस्था गरेको छ ।
 
सो निर्दे्शिकाको दफा ४ को उपदफा २ ९ग० ले ‘उद्योगका लागि भनी छुट्याइएको औद्योगिक क्षेत्रभित्रको जग्गा तथा भवन भाडामा दिनेसम्बन्धी प्रस्ताव आह्वान गर्दा सवारीसाधनको मर्मत केन्द्र (सर्भिस सेन्टर वा वर्कशप) वा प्रदर्शनीजन्य उद्योगहरु प्राथमिकतामा नपर्ने भएकोले सो उद्योगलाई प्रतिस्पर्धामा भाग लिन नपाउने व्यवस्था गर्नसक्नेछ’ भनेको छ।  
 
विशेषगरी काठमाडौं उपत्यकाभित्र रहेका औद्योगिक क्षेत्रहरूमा यस्ता गैर–उत्पादक उद्योगको संख्या बढी रहेको देखिएको छ। 
 
त्यसमा पनि बालाजु औद्योगिक क्षेत्रमा भने सबैभन्दा बढी गैर–उत्पादक उद्योगहरू रहेका छन्। ‘यही विषय चर्चामा आउन थालेपछि हामीले सञ्चालन तथा व्यवस्थापन निर्दे्शिका –२०७१ तयार पारेर अन्य गैर–उत्पादक उद्योगहरू खोल्न नपाउने व्यवस्था लागू गरिसकेका छौं’, लिमिटेडका सचिवालयका अधिकृत बासुदेव सुडारीले भने।
 
 
कुन औद्योगिक क्षेत्रमा कति गैर–उत्पादक उद्योग ?
 
नेपालमा एउटा निर्माणाधीनसहित ११ वटा औद्योगिक क्षेत्रहरू सञ्चालनमा रहेका छन् । त्यसमध्ये सबैभन्दा बढी औद्योगिक क्षेत्र काठमाडौंको बालाजुस्थित बालाजु औद्योगिक क्षेत्रमा रहेको छ भने केही औद्योगिक क्षेत्रमा भने एउटा पनि औद्योगिक क्षेत्र रहेका छैनन्। 
 
प्राप्त जानकारीअनुसार राजविराजमा रहेको गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा अहिले कुनै पनि गैर उत्पादक उद्योग रहेका छैनन्। 
 
त्यसपछि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले दिएको जानकारीअनुसार धरान औद्योगिक क्षेत्र, पोखरा औद्योगिक क्षेत्र र वीरेन्द्रनगर औद्योगिक क्षेत्र, सुर्खेतमा कुनै पनि गैरउत्पादक उद्योगहरू सञ्चालनमा रहेका छैनन्। 
 
यस्तै, गैर–उत्पादक उद्योगहरू रहेका औद्योगिक क्षेत्रहरूमा क्रमशः बालाजु औद्योगिक क्षेत्रमा १०, पाटन औद्योगिक क्षेत्रमा चार, भक्तपुर औद्योगिक क्षेत्रमा दुई, नेपालगञ्ज औद्योगिक क्षेत्रमा चार, बुटवल औद्योगिक क्षेत्रमा एक र हेटौंडा औद्योगिक क्षेत्रमा एउटा गैर–उत्पादक उद्योग रहेको लिमिटेडले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ