arrow

इमानदारीको एक रोटी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
king4.jpg

काठमाडौँ। एक समय राजा जयवीर दान-पुण्य गर्नमा प्रसिद्ध थिए । उनको ढोकामा आउने कोही पनि खाली हात जाँदैन थिए। तर सारा दान अनीति र अधर्मका कमाइबाट हुन्थ्यो। सरकारी राजकोषको पैसाद्वारा राजाले ऐश गरेका थिए।

जनता करको बोझले दब्दै गइरहेका थिए। मौका पाएर छिमेकी राजाले आक्रमण गरेर राजा जयवीरका किल्ला चारैतिरबाट घेरे। राजा र रानी आफ्ना केही साथीहरूसँग कुनै प्रकारले भागेर बाँच्न सफल भए ।

राजाले धेरै दिनसम्म जङ्गल-जङ्गल भटकिरहनु पर्‍यो । बिस्तारै-बिस्तारै  सबै साथीहरूले छोडेर गए । एक दिन भोकले तड्पिएकी रानीले भनिन्, “मैले सुनेको छु कि रायगढको एक जना सेठले पुण्य किन्छ अरे, हामी आफ्नो केही पुण्य बेचेर आफ्नो पेट त भर्न सक्नेछौँ महाराज।”

त्यति टाढा जानको लागि खाने कुराको व्यवस्था गर्नु पनि जरुरी थियो, त्यसैले रानीले गाउँमा गएर पीठो पिस्ने मजदुरी गरेर अलिकति पिठो लिएर आइन्। पिठो एउटा लुगामा पोको पारेर दुवै रायगढतिर लागे।

बाटोमा एक ठाउँ दाउराहरू भेला पारेर आगो बाले अनि पिठोको रोटी बनाए । त्यही समय एउटा लङ्गडा भिखारी त्यहाँ आएर माग्न थाले। राजाले उनलाई एउटा रोटी दिए अनि राजा र रानीले एउटा रोटी खाएरै सन्तोष गरे।

अर्को दिन राजा र रानी रायगढमा सेठको घरमा पुगे अनि आफ्नो पुण्य बेच्ने कुरा गरे। सेठले भने, “तपाईँले आफ्नो जुन पुण्य बेच्न चाहनुहुन्छ, त्यो सब एउटा सादा कागतमा लेख्नुहोस् अनि त्यो कागत मेरो यो तराजुको एउटा पलामा राख्नुहोस्।"

 राजाले त्यसै गरे तर तराजु जस्ताको तस्तै रह्यो, अलिकति पनि झुकेन । सेठले भने, "हेर्नुहोस्, तपाईँका सारा कमाइ अधर्म र अनीतिको रहेछ।"

राजा एकदमै लज्जित भए। सेठले फेरि भने, 'तपाइले कुनै यस्तो पुण्य याद गर्नुहोस् जुन तपाईँले ईमन्दारीले गरेको कमाई द्वारा गरेको होस् ।'

राजालाई हिजो भएको घटनाको याद आयो अनि उसले एउटा भिखारीलाई रोटी दिएको कुरा कागतमा लेखेर तराजुमा राखे। तराजुको पल्ला एकातिर झुक्यो । लगभग एक लाख स्वर्ण मुद्रा राख्दा मात्र तराजुको अर्को पल्ला बराबरीमा आयो। त्यति सानो पुण्यको यति धेरै मोल भन्दै राजा रानी मुखामुख गर्न थाले।

राजाले पछुतो गर्दै आफ्नो मन-मनै भने, 'इमानदारी र  नैतिक साधनहरूद्वारा धन कमाएर दान गरेको भए कति मोल मिल्ने थियो, जुन यस दुःखको नराम्रो दिनहरूमा काम त आउने थियो।'



नयाँ