arrow

सफलताका कथा

सुदूरपश्चिममा उल्का भएर उदायौँ 

logo
सुरेन्द्र भण्डारी,
प्रकाशित २०८१ भदौ १५ शनिबार
surendra-bhandari-safaltaka.jpg

सुदूरपश्चिम प्रदेश नेपालको ७ वटा प्रदेशमध्ये पिछडिएको प्रदेशको रुपमा परिचित छ। यस क्षेत्रबाट वैदेशिक रोजगारीको शिलशिलामा म लगायतका साथीहरुलाई रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत शुरुआती चरणमा नै कोरिया प्रवेश गर्ने सौभाग्य मिल्यो । 

कोरिया जानु भन्दा अगाडि हामी आफ्नो र परिवारको गरिबीबाट छुटकारा पाउन चाहन्थ्यौँ । कोरिया गए पश्चात भने सोचाइमा परिवर्तन आयो। हामीले नबुझेका धेरै विषयहरुमा ज्ञान लिन सफल भयौँ । सन् २००८मा कोरियन भाषा परीक्षा पास गरेर वैदेशिक रोजगारीका शिलशिलामा  २ कार्य अवधि दक्षिण कोरियामा बिताउने अवसर मिल्यो। कोरियामा काम गर्दा कम्पनीमा काम गर्ने संस्कार, समयको पालना विभिन्न व्यवसाय सम्बन्धी अनुभव गर्ने अवसरको सदुपयोग गरेर सन् २०१९ मा नेपाल फर्कियौँ ।

नेपालमा आए पश्चात कोरियामा काम गरेको अनुभव भएका र कोरियामानै रहेका साथीहरुको सल्लाह अनुसार सहकारी संस्था खोल्ने निर्णय गरी ५०० जना साथीहरुले रु.१०,००० का दरले शेयर सदस्य बनेर सहकारी संस्थाको सञ्चालनमा गरिरहेका छौँ ।  

हाम्रो उद्धेश्य कोरियाबाट नेपाल फर्किएर उद्योग व्यवसाय गर्ने तथा स्वदेशमा रोजगारी सृजनाको योजना भएका साथीहरुलाई आर्थिक रुपमा सबल बनाउने रहेको छ। हाम्रो सहकारीले व्यवसाय गर्न चाहने व्यक्तिहरुलाई आवश्यक पूँजी जुटाएर समाजमा सकारात्मक भूमिका खेलिरहेका छौँ ।

विगतदेखिनै उद्योग गर्ने चाहना भएकाले कोरियामा रोजगारीको अनुभव भएका पाँच जना साथी मिलेर गार्मेन्ट उद्योग खोल्ने निर्णय गरी सन् २०२० बाट झण्डै पाँच करोड रुपैयाँ लगानी गरेर सुदूरपश्चिम प्रदेशको धनगढीमा उल्का गार्मेन्ट उद्योग सञ्चालन गरिरहेका छौँ । 

नेपालबाट वार्षिक अर्बौं रुपैयाँका लत्ता कपडा आयात गर्दा ठूलो पूँजी  विदेशिरहेको अवस्थामा सुदूरपश्चिम प्रदेशमा पहिलो पटक यति ठूलो लगानीमा हामीले अत्याधुनिक प्रविधिको गार्मेन्ट उद्योग खोलेर आन्तरिक बजारमा प्रतिस्पर्धा गरिरहेका छौँ । भविष्यमा हाम्रो उद्योगबाट उत्पादित कपडा निर्यातको पनि तयारी गरिरहेका छौँ ।

कोरियामा झण्डै १० वर्ष रोजगारीको अनुभव भएका अकलबहादुर सिंह, धर्मराज जोशी, नवराज भट्ट, हेमन्त जोशी र म शुरेन्द्र भण्डारीको संयुक्त लगानीमा सुदूरपश्चिम प्रदेशमा पहिलो अत्याधुनिक प्रविधियुक्त उल्का गार्मेन्ट उद्योग संचालन गरेर यस क्षेत्रको आर्थिक तथा सामाजिक रुपान्तरणमा सकारात्मक भूमिका निर्वाह गरिरहेका छौँ। त्यसैगरी हामीले स्थानीय व्यक्तिहरुलाई रोजगारीको अवसर प्रदान गर्न सक्नुलाई उपलब्धिका रुपमा लिएका छौँ ।

हाम्रो उद्योगबाट सामान्यतया पुरुषले प्रयोग गर्ने कपडामध्ये अण्डर वेयर, टिसर्ट, जिन्स पाईन्ट, विद्यालयका पोशाक आदि उत्पादनमा ध्यान केन्द्रित गरेर व्यवसाय गरिरहेका छौँ ।  नेपालको चितवन भन्दा पश्चिमी भेगमा जिन्स पाइन्टको प्लान्ट नभएको हुँदा जिन्स वास प्लान्ट नै स्थापना गरेर अण्डर वेयर तथा टिसर्टको उत्पादन तथा जिन्स पाइन्टको उत्पादन शुरु गरेका हौँ । 

पुरुषले प्रयोग गर्ने गार्मेन्ट व्यवसाय सम्भावना सम्बन्धी अध्ययनका लागि केही समय छिमेकी मुलुक भारतमा गएर जिन्स वास प्लान्टबारे आवश्यक अध्ययन गर्यौं। त्यस पश्चात यो व्यवसाय सञ्चालन गर्नका लागि ठूलो लगानी आवश्यक पर्ने जानकारी मिल्यो तथापि बजार भने राम्रो देखेर साथीहरु मिली संयुक्त रुपमा आवश्यक पर्ने लगानी जुटाएर धनगढीमा ४ कट्टा जग्गासमेत किनेर गार्मेन्ट उद्योगको थालनी भएको हो। 

केही महिनामा नै उद्योग निर्माणका लागि आवश्यक पूर्वाधारका सम्पूर्ण काम सकेर व्यवसाय सञ्चालन गर्न सफल भयौँ । हामीलाई आफ्नै जन्मभूमिमा व्यवसाय गर्न हौसला प्रदान गर्ने साथीभाइ तथा परिवारको सकारात्मक भूमिकाले उद्योगी बनाउन मद्दत मिल्यो भन्ने लाग्दछ। आज हामी सुदूरपश्चिममा उल्का भएर उदायौँ भन्ने खुशी साट्न चाहन्छौँ ।

कोरोना भाइरसको विश्वव्यापी महामारीका बेला भारतमा लकडाउनका कारण जिन्स वास प्लान्ट मेसिन बनाउन केही ढिला भएको बेला तत्कालै केहि कपडा उत्पादन गरौं भन्ने सोचाइ लिएर हाम्रो उद्योगबाट हाइनिक, ट्राउजर, ट्रयाकसुट, स्पोर्ट्स सुट उत्पादन गरेका थियौँ । भारतमा लकडाउन खुलेसँगै जिन्स वास प्लान्ट पनि जडान गर्न सफल भयौं र हाम्रो योजना अनुशारनै कपडा उत्पादन गरी बजारमा बिक्री वितरण गरिरहेका छौँ । 

हामीले सञ्चालन गरेको यस व्यवसायले सुदूरपश्चिम प्रदेशको उद्योग विस्तारमा सकारात्मक सन्देश गएको छ। विदेशमा कमाएको पूँजी व्यक्तिगत प्रयोजनका लागि खर्च नगरी उद्योग सञ्चालन गरेर समाजमा सकारात्मक सन्देश दिन सफल भयौँ भन्ने लाग्दछ। रोजगारीका लागि विभिन्न मुलुकमा रहेका साथीभाइलाई नेपालमा पनि  व्यवसाय गर्न सम्भव छ भन्ने उदाहरण पेश गर्न चाहन्छौँ । 

बाहिरी मुलुकबाट आउने जिन्स वास पाइन्ट हामिले सुदूरपश्चिममै उत्पादन गरी बजारमा गुणस्तरीय र आफ्नै विशेषताको ब्राण्ड दिने लक्ष्यसहित मुनाफा भन्दा पनि रोजगारी सिर्जना गर्ने उदेश्य लिएर अगाडि बढेका छौँ। हाल उद्योगमा ५४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। गार्मेन्ट उद्योगबाट उत्पादित तयारी कपडा सुदूरपश्चिम प्रदेशका साथै देशका अन्य शहरमासमेत विस्तार भैरहेको छ ।

सरकारी नीतिका कारण भने हाम्रो व्यवसाय विस्तारका लागि बाधक बनेको छ। बाहिरी मुलुकबाट सादा पोशाक आयात गर्दा भन्सारमा १५ प्रतिशत कर लाग्ने तथा तयारी पोशाक आयात गर्दा २० प्रतिशतका दरले भन्सार कर तिर्नु पर्ने व्यवस्था रहेको छ। 

हाम्रो उद्योगलाई सरकारी नीतिका कारण नेपालमा नै  उत्पादन भएको कपडाले विदेशी कपडासँग प्रतिस्पर्धा गर्न कठिन भैरहेको छ। तथापि हामीले मुनाफा भन्दा गुणस्तर र हाम्रो आफ्नो ब्राण्डमा ध्यान दिने लक्ष लिएर उद्योग सञ्चालन गरिरहेका छौँ । सरकारले नेपालको गार्मेन्ट उद्योगको प्रर्वद्धनमा ध्यान दिने हो भने विभिन्न विकसित मुलुकका गामेन्ट उद्योगहरु नेपालमा स्थापना गर्न रुची राख्ने छन र रोजगारी सृजनामा टेवा पुग्ने छ भन्ने हाम्रो बुझाइरहेको छ। 

हाल विकसित मुलुकका गार्मेन्ट उद्योगहरुले बंगलादेश, इण्डोनेशिया, भियतनाम, चाइनामा उद्योगहरु स्थान्तरण गरेर व्यवसाय गरेको अवस्था छ। विकसित देशमा रहेका अन्य गार्मेन्ट उद्योगहरु भविष्यमा नेपालमा स्थान्तरण हुन सक्ने सम्भावना देखेका छौँ । हाल वैदेशिक रोजगारीका लागि कामको खोजीमा विदेशिनु पर्ने बाध्यतालाई स्वदेशमा नै रोजगार प्रदान गरी वैदेशिक रोजगारीलाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ भन्ने लागेको छ। त्यसैले सरकारका तर्फबाट गार्मेन्ट व्यवसायको हितका लागि आवश्यक सहज निति नियम बनाउनका लागि ढिला गर्नु हुँदैन भन्ने हाम्रो बुझाइरहेको छ।

अन्त्यमा विदेशमा रोजगारीको अनुभव भएका साथीभाइले हाम्रो क्षेत्रमा व्यवसाय गर्ने योजना भएमा हामीलाई भेटेर सल्लाह लिन सक्नु हुनेछ। हामी तपाईंहरुको हरेक पाइलामा सहयोगी भूमिका खेल्न चाहन्छौँ । हाम्राभावी पुस्ताले स्देशमानै रोजगार गर्ने वातावरण तय गर्नका लागि सबैसँग हातेमालो गर्दै अगाडि बढ्न चाहन्छौँ । सबैलाई आ-आफ्नो क्षेत्रमा उद्योगको माध्यमबाट देश विकासमा मद्दत गर्न विनम्र अनुरोध पनि छ। (‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ नामक पुस्तकबाट । गणतन्त्र कोरिया र नेपालबीच कूटनीतिक सम्बन्धको ५० औं वर्षगाँठको अवसरमा नेपालमा रहेको गणतन्त्र कोरियाली दूतावासले कोरियामा रोजगारको अनुभवमा आधारित २६ वटा व्यवसायिक कथाहरु समावेश गरी ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ नामक पुस्तक प्रकाशन गरेको हो ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ