arrow

सफलताको कथा

जीवन एक सिकाइ, भोगाइ र परीक्षण

उद्यमी बनेर २० जनालाई प्रत्यक्ष रोजगार 

logo
गणेश न्यौपाने, 
प्रकाशित २०८१ कार्तिक १० शनिबार
ganesh-neupane-81-7-10.jpg

स्याङ्जा जिल्लामा मध्यम वर्गीय परिवारमा जन्मिएर बाल्य अवस्थामा नै स्थानान्तरण भई रुपन्देही जिल्लाको तिलोत्तमामा बाल्यकाल बित्यो। पिताजी भारतमा गएर सामान्य पेशामा आवद्ध हुनुभएकाले हाम्रो परिवारको दैनिक जीवन सामान्य रुपमा चल्यो। त्यस पश्चात परिवारले निर्वाहमुखी कृषिमा पसिना बगाएर हाम्रो ६ जनाको परिवारको दैनिकी चलेको थियो । 

म सानो उमेरदेखिनै मेहनेत गर्नुपर्छ भन्ने धारणा राख्दथेँ र विभिन्न विषयहरुमा जिज्ञासा लिने गर्थें। कहिलेकाहिँ परिवारमा आर्थिक अभावका कारण हुने झगडाले मन खिन्न बनाउँथ्यो। आर्थिक अवस्था सबल भएमा परिवारमा खासै ठूलो समस्या आउँदैन भन्ने लाग्थ्यो ।

ठूलो परिवार चलाउनका लागि एक जनाको कमाइले सम्भव हुँदैन भन्ने शिक्षा मैले सानैबाट पाएँ। आर्थिक अभावका कारण माध्यमिक तहसम्मको अध्ययन गरे पश्चात सानो व्यवसाय गर्दै अध्ययनलाई निरन्तरता दिन हाउस वायरिङको काम थालनी गरेँ । 

घरहरुमा वायरिङको कामका साथ साथै विद्युतका सामान बेच्नका लागि परिवारका सदस्यसँग ६० हजार रुपैयाँ लिएर विद्युतका सामग्रीहरु बेच्न श्री गणेश इलेक्ट्रोनिक नामक कम्पनी स्थापना गरी व्यवसाय शुरु गरेँ । 

सामान खरिद गर्नका लागि थप आवश्यक लगानी गर्ने क्षमता नभएको, नगदमा किनेको सामान लामो समयसम्म उधारोमा उपलब्ध गराउनु पर्ने बाध्यता र अस्वस्थ्य  प्रतिस्पर्धाले गर्दा व्यवसायको शुरुआती चरणमानै संकट आइलाग्यो । 

नयाँ रोजगारको अवसर नभएको र नजिकैका साथीभाइको सल्लाह अनुसार वैदेशिक रोजगारीका लागि विदेश जाने योजना बनाएँ । खाडी, मलेसिया लगायतका मुलुकमा राम्रो पारिश्रमिक नभएको, युरोप लगायतका अन्य मुलुक जानका लागि ठूलो लगानी लाग्ने बुझेको थिएँ । 

साथीको सल्लाह अनुसार वैदेशिक रोजगारीका लागि राम्रो आम्दानी गर्न सक्ने देश दक्षिण कोरिया नै हो भन्ने थाहा पाएँ । वैदेशिक रोजगारीमा कोरिया जान कोरियाली भाषा पास गरे पश्चात न्यून लागतमा जान सकिन्छ भन्ने सुनेको थिएँ । 

विभिन्न आर्थिक तनावका कारण दैनिकी गुजारिरहेको मेरा लागि पहिलो पटकको भाषा परीक्षामा सफल हुन सकिन । तनावकै बीच दोश्रो पटकको भाषा परीक्षामा सामेल भएर सफल भएँ । भाषा परीक्षामा सफल भएता पनि कोरियाको रोजगार दाताको छनोटमा पर्न सकिन । 

जीवनमा आइपरेका एकपछि अर्को असफलताले गर्दा समाजले मलाई हेर्ने हेराइ, परिवारका सदस्यको अप्रत्यक्ष गुनासो आदिले खाडी मुलुकतिर जाने योजना बनाएँ । सोही समयमा कोरियाको रोजगारीबाट फर्किएर आर्थिक अवस्था सबल बनाएका साथीको सल्लाह अनुसार पुनः कोरियाली भाषा परीक्षामा सामेल हुन प्रेरण मिल्यो । 

सन् २०१४ मा कोरिया जाने मेरो सपना साकार भयो । परिवारको आर्थिक अवस्था सुधार गर्नु पर्ने बाध्यता, नेपालमा व्यवसाय गर्दा लागेको ऋण चुक्ता गर्नु पर्ने बाध्यता आदिले गर्दा जस्तोसुकै अवस्थामा श्रम गर्न सक्छु भन्ने मनोबल लिएर दक्षिण कोरिया पुगेँ ।

कोरिया बसाइका क्रममा शुरुआती चरणमा पैसामात्र कमाउन पाए हुन्थ्यो भन्ने लाग्दथ्यो । विस्तारै नेपालमा फर्किएर व्यवसाय गरेर रोजगारी सृजना गर्नुपर्छ भन्नेतिर ध्यान मोडेँ । कोरियामा रहँदा भाषिक ज्ञानको कमी,सांस्कृतिक भिन्नता आदिको सामना गर्दै बिताएँ । कहिलेकाहिँ कोरिया पुगेका साथीहरुले आत्महत्या गरेका घटनाहरु सुन्दा मन दुःखी बनाउँथ्यो ।

परिवारका सदस्यहरुले पनि कोरिया गएका अन्य साथीहरुले यति रकम पठाए, घर घडेरी किनिसके, यसो गरे, त्यसो गरे भनेर तुलना गर्दा पनि दुःखी नै बनायो। कोरियामा कार्यरत नेपालीहरुले राम्रो पारिश्रमिक पाउँछन् भन्ने बुझेका केही जल विद्युत क्षेत्रका व्यवसायीहरु कोरिया भ्रमण गरेर नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्नका लागि आह्वान गरे । हौसिएर लगानी गरेका केही कम्पनीको लगानी डुबिसक्यो । जीवन एक सिकाइ र भोगाइ अनि परीक्षण नै हो भन्ने कुरा कोरिया पुगे पश्चात राम्रोसँग प्रमाणित भयो ।

कोरियामा कार्यरत नेपाली साथीहरुले कृषि, पशुपालन क्षेत्रमा नजिकबाट अध्ययन गर्ने, अनुभव गर्ने अवसर प्राप्त गर्दछन् तर अन्य क्षेत्रहरुमा त्यति सहज हुँदैन भन्ने लाग्छ । भाषाको राम्रो ज्ञान भएका, अनुशासित तथा मेहनती थोरैले व्यवस्थापकीय भूमिका रहेर नजिकबाट अनुभव गर्ने अवसर भने प्राप्त गर्दछन् । 

मैले कोरियामा कार्यरत हुँदा व्यवस्थापकीय अनुभवलाई नजिकबाट अनुभव गर्ने अवसर प्राप्त गरेँ । हाम्रो कम्पनीमा उत्पादित सामानहरु विश्व बजारमा बिक्री हुने गर्दथ्यो । बजारसम्म पुग्नका लागि हुने विभिन्न चरणहरुमा कार्य सम्पादन गर्ने कर्मचारी छनोट, मानव संशाधन लगायतका पक्षले व्यवसाय सहज रुपमा अगाडि बढाउन भूमिका खेल्छन् भन्ने ज्ञान प्राप्त भयो ।

विभिन्न विभागहरुले आ-आफ्नो भूमिका निभाउंदा मात्र व्यवसाय सफल हुने आधार तय हुन्छ भन्ने अनुभव मिल्यो । कामदारको हक हित, बिमा, पारिश्रमिक तथा अन्य सेवा सुविधाले पनि व्यवसायमा सफलता हात पार्न महत्वपूर्ण भूमिका खेल्दछ भन्ने बारेमा शिक्षा मिल्यो । 

व्यवसायिक सफलताको लागि पूँजीमात्र नभै अनेकन पद्धतिहरूको महत्त्वपूर्ण भूमिका हुने रहेछ भन्ने बुझेँ । कोरियामा रहँदा नै फुर्सदको समयलाई सदुपयोग गर्दै नेपाल फर्किए पश्चात गर्न सकिने सम्भावित व्यवसायको बारेमा अध्ययन गर्दै योजना बनाउने र भविष्यमा व्यवसायनै गर्छु भन्ने तयारी गरेँ । नेपाली साथीहरुसँग भेटघाट गर्ने व्यवसायिक सल्लाह लिएर समयको सदुपयोग गरेँ । 

नेपालको प्रमुख मिडियामध्ये कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने व्यवसायसँग सम्बन्धित कार्यक्रहरु हेर्ने, युट्युबबाट प् शारण हुने विभिन्न व्यवसायसँग सम्बन्धित सामग्रीहरु हेरेर व्यवसायिक ज्ञान लिएँ । त्यसैगरी ख्याती प्राप्त सफल व्यक्तिहरुको आलेख पनि अध्ययन गरेँ र नेपाल फर्किने निर्णय गरेँ ।
 
सन् २०१९ मा नेपाल फर्किएर केही समय बजार सम्बन्धी अनुसन्धान गरेर सन् २०२० बाट फर्निचर उद्योगको स्थापना गरेँ । साथ साथै इन्टेरियर व्यवसाय पनि सञ्चालनमा ल्याएको छु । 

हालका दिनसम्म व्यवसायले जस्तो किसिमको अवस्थामा आउनु पर्ने थियो सोही गन्तव्यतर्फ लम्किरहेको छ भन्ने लागेको छ । कम्पनीको शुरुआती चरणमा ४५ लाख रुपैयाँ लगानी गरेर व्यवसाय शुरुआत भयो र हालसम्म एक करोड रुपैयाँको लगानी भैसकेको छ। 

हाम्रो उद्योगबाट उत्पादित सामानहरु नेपालका विभिन्न क्षेत्रमा उपलब्ध हुन्छन् । हामीले केही वर्ष भित्रमा नेपालभर उत्पादन पुग्ने गरी व्यवसायलाई अगाडि बढाएका छौँ । कोरियाबाट सिकेको व्यवसायिक ज्ञानले उद्योग सञ्चालन गर्नका लागि सकारात्मक भूमिका खेलेको छ भन्ने लाग्छ ।

म दोश्रो पटक पनि कोरिया गएर सजिलै पैसा कमाउन सक्ने थिएँ । तर म जस्ता अन्य धेरै साथीहरुलाई एक पटक कोरियाको अनुभव गराउनका लागि तथा उनीहरुले पनि भविष्यमा नेपालका लागि केही योगदान गर्न सक्छन भन्ने अवस्थाको परिकल्पना गर्दै नेपालमा नै बस्ने योजना बनाएँ । 

हाल हाम्रो उद्योगमा २० जना कामदारले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । भविष्यमा व्यवसाय विस्तार गर्दै जाने र धेरै व्यक्तिलाई रोजगारी दिने योजना रहेको छ।

हाम्रो बजार व्यवस्थापन विभागले उत्पादन तथा सेवालाई नेपालभर विस्तार गर्नका लागि लागि शाखा विस्तार लगायतका योजना बानएर काम गरिरहेको छ । 

वित्तीय व्यवस्थापन विभागले कम्पनीको आर्थिक स्रोत साधन जुटाउने तथा व्यवस्थापन गर्ने काम गरिरहेको छ। यस्तै मानव संशाधन विभागले कामदारको क्षमता वृद्धिको लागि विभिन्न किसिमका तालिम उपलब्ध गराइरहेको छ । 

त्यसैगरी आईटी विभागले आफ्नो विभाग अन्तर्गत काम गरिरहेको छ। यसरी व्यवस्थित तरिकाले व्यवसाय सञ्चालन गर्दा दिगो हुनुको साथै टिममा काम गर्दा सकारात्मक उर्जा प्राप्त भई समय सापेक्ष रुपमा व्यवस्थापन सहज भएको छ । 

मैले अन्य पोर्टफोलियो पनि समानस्तरमा अगाडि बढाएको छु ।  एउटै क्षेत्रमा लगानी गर्दा उक्त क्षेत्रमा मन्दी आएमा, व्यवसाय संकटमा पर्न सक्ने भएकोले, कोरियाली भाषा सिकाउने, फाष्टफुड, शेयर बजार जस्ता क्षेत्रमा समेत लगानी बढाएको छु । 

त्यसैगरी व्यापार इकोसिष्टमको अवधारण अनुरुप  प्लाइ, हार्डवेयर्स स्टोर, पुराना फर्निचर बिक्री तथा मर्मत केन्द्र लगायतका व्यवसायिक टिम बनाएर सञ्चालन गरिरहेको छु । 

सोही अनुरूप प्लाइ पोइन्ट नेपालले प्लाइ तथा हार्डवेयर सामग्रीहरू फर्निचर उद्योगलाई बिक्री गरिरहेको छ। उद्योगबाट उत्पादित मोडुलर फर्निचरले आवास तथा अफिसमा आन्तरिक सजावटको रुपमा सेवा दिँदै बिक्री गरिरहेको छ। त्यस्तै पुराना फर्निचर बिक्री गर्न चाहनेहरका लागि लाइक न्यूले खरिद तथा बिक्रीसमेत गरिरहेको छ। कम्पनीमा हाल २० जनालाई प्रत्यक्ष र ४० भन्दा बढीलाई अप्रत्यक्ष रुपमा  रोजगारी उपलब्ध गराएको छ। लाखबाट शुरुआत भएको कम्पनी करोडौँमा पुगेको छ।
 
कम्पनीको उत्पादनलाई आफ्नै मौलिक ब्रान्ड बनाएर नेपालभर फिँजाउने योजनामा अनुसार काम गरिरहेको छ। कम्पनीका लागि अवश्यक केही थान अत्याधुनिक मेसिन खरिदको प्रक्रिया अघि बढेको छ। 

आर्थिक मन्दीको असरलाई पनि न्यूनीकरण गर्दै व्यवसायिक योजना तय गरेका छौँ । वैदेशिक रोजगारबाट फर्किएका वा नेपालमै रहेर व्यवसाय गर्न चाहने युवालाई हाम्रो कम्पनीमा जोडिएर वा आफैँ उद्यमी बन्न खोजेमा साथ सहयोग गर्नेछौँ । म जस्तै विगतमा पैसा र समय खर्च गरेर सिकेको कुराहरु केही गर्न चाहने युवालाई निःशुल्क रुपमा अनुभव साट्न तयार रहेको छु ।

विगतमा मलाई लाग्थ्यो ममा धेरै कुराको ज्ञान छ र अन्य व्यक्तिहरुले त्यति बुझेका हुँदैनन् । तर आज मलाई थाहा भएको विषय वान म्यान आर्मीको मानसिकता लिएर सबै क्षेत्र एक्लैले सम्हाल्न सकिँदैन । व्यवसायमा कामदारको व्यवस्थापन, मेसिन सञ्चालनको व्यवस्थापन, बजारको व्यवस्थापन, आर्थिक पक्षको व्यवस्थापनका लागि फरक टीम परिचालन गर्नु पर्छ भन्ने थाहा भयो । 

नेपालमा व्यवसाय गर्नका लागि प्रशासनिक झण्झटबाट मात्र छुट्करा पाएमा व्यवसाय गर्न चाहनेहरुका लागि सकारात्मक सन्देश मिल्ने थियो भन्ने लाग्दछ । सरकारी पक्षबाट व्यवसाय सञ्चालनको शुरुआती चरणमा व्यवसाय अनुसारका आवश्यक प्रशिक्षण तालिम आदिको व्यवस्था भएमा अझै केही गर्न सकिन्छ भन्ने लाग्छ । (‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ नामक पुस्तकबाट । गणतन्त्र कोरिया र नेपालबीच कूटनीतिक सम्बन्धको ५० औं वर्षगाँठको अवसरमा नेपालमा रहेको गणतन्त्र कोरियाली दूतावासले कोरियामा रोजगारको अनुभवमा आधारित २६ वटा व्यवसायिक कथाहरु समावेश गरी ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ नामक पुस्तक प्रकाशन गरेको हो ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ