arrow

सफलताको कथा

साबुनले कर्णाली धुँदैछु

logo
हेमन्तकुमार दर्लामी,
प्रकाशित २०८१ भदौ ८ शनिबार
hemantakumar-darlami-81-5-8.jpg

सानो उमेरदेखिनै पिताजीबाट पाएको शिक्षाले जीवनमा आई पर्ने हरेक किसिमका चुनौतीहरुलाई सहज रुपमा लिँदै धैर्य भएर अगाडि बढ्नु पर्छ भन्ने लाग्छ। मध्यम स्तरको परिवारमा हुर्किएर उच्च माध्यमिक तहको अध्ययन गरिरहेको बेलामा आफ्नै दाजुको रोजगारीका शिलशिलामा भारतमा असामयिक निधन हुनु, त्यस लगत्तै प्रेरणाको श्रोत, पिताजीको देहवशानका कारण अध्ययनलाई निरन्तरता दिन नसकोको दुःखद क्षण ताजै छ।

परिवारका सदस्यहरुको आर्थिक जिम्मेवारीको भूमिका निभाउनका लागि वैदेशिक रोजगारीको यात्रा तय गर्न वाध्य भएर मलेशियामा २ वर्ष ५ महिना कामदारको रुपमा बिताइ नेपाल फर्किएँ । तथापि घरको आर्थिक अवस्तामा कुनै परिवर्तन आएन। आर्थिक अवस्था सुधार गर्न सकिने देशको रुपमा परिचित दक्षिण कोरिया जाने इच्छा जागेर कोरियाली भाषा अध्ययन गरेँ र सफल भई सन् २०१४ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियाको थेगुमा रहेको एउटै कम्पनीमा ५ वर्ष काम गर्ने अवसर मिल्यो। सोचे अनुसार नै राम्रो आय आर्जन गर्न सफल भएँ । कोरियाबाट सिकेको काम गर्ने संस्कार, व्यवसायिक अनुशासन, मेहनेत र भोगाई आज मेरा लागि मार्ग दर्शन बनेको छ।

मलाई विगत देखिनै कुनै दिन आफ्नै व्यवसाय गर्नु पर्छ भन्ने लागेको थियो। पिताजीले पनि लामो समय अर्काको कामदारको रुपमा खेल्नु भएको भूमिका नजिकबाट नियाल्दा चित्त दुखेको थियो। साथीहरुले कोरियाको बसाईलाई निरन्तरता दिन गरेको सल्लाहले मलाई रोक्न सकेन्। कोरियाबाटै नेपाली व्यवसायीहरूसँग फोनमा कुराकानी गरेर उद्यमनै गर्ने निर्णयका साथ नेपाल फर्किएँ ।

कोरियामा रहँदा खेतवारी बाँझो देख्न परेन, विद्धुतको अभाव  झेल्नु परेन । परिश्रम गर्न चाहनेलाई अवसरको कमी देख्न परेन्। म पनि कुनै दिन व्यवसाय गरेर केहि व्यक्तिलाई रोजगारी दिन सक्छु भन्ने विश्वाशका साथ आफ्नो जन्म स्थलमानै व्यवसाय गर्ने निर्णयमा पुगें। कोरियामा जस्तै व्यवस्थित रुपमा उद्योग गर्ने इच्छा शक्तिका साथ नेपालमा सबै वर्गका मानिसले दैनिक प्रयोग गर्ने साबुन उत्पादन गर्ने व्यवसायमा होमिएँ। सधैं अरूको कामदार हुनुभन्दा आफ्नै उद्यम गर्नुपर्छ भन्ने सोचाई र कोरियामा रोजगारका शिलशिलामा अनुभव गरेको भोगाई र सिकाईको सदुपयोग गरेर व्यवसाय सञ्चालन गरी केहि व्यक्तिलाई रोजगारी दिने मेरो चाहनाले नै व्यवसायमा होमिएँ ।

नेपालबाट रोजगारीको खोजीमा विदेशीनु पर्ने वाध्यतालाई केहि हदसम्म टेवा पुगोस र आफ्नै गाउँका युवाहरूले पनि केहि सिकून् भन्ने उद्धेश्य लिएर गाउँमानै व्यवसाय गरिरहेकोछु। व्यापारको पाटो सबै थाहा नभएता पनि उद्योग सकिन्छ भन्ने आत्मविश्वासनै व्यवसाय शुरुवात गर्ने आधार बन्यो।

मेसिनमा काम गर्ने बानी पनि भएकोले काम गर्न सकिन्छ भन्ने विश्वास थियो।  कोरियाबाट फर्केपछि मलाई साथीभाइ र छिमेकीले बजारमा घर किनेर बस्न पनि सुझाब दिएका थिए। तर मैले आफ्नो सोचाई र योजनालाई निरन्तरता दिने प्रण गरेँ। बजारमा घर किनेर बस्न सक्थें। आफ्नै गाडी चढ्नका लागि पनि पैसाले पुग्दथ्यो। तर मैले व्यवसाय प्रति ध्यान केन्द्रित गरेँ। स्थिर लगानी गर्नुभन्दा उद्योग सञ्चालन गर्नुनै राम्रो लाग्यो।
 
आफ्नै योजना अनुसार सन् २०१९मा एचके सोप इन्डस्ट्री नाम राखेर मझौला उद्योग दर्ता गरी आफ्नै गाउँ चौरासेमा उद्योग स्थापनाका लागि सबै प्रक्रिया पूरा गरेँ। उद्योगका लागि आवश्यक भौतिक पूर्वाधार लगायतका संरचना निर्माण र अन्य तयारीमा झन्डै दुई वर्ष लाग्यो। गाउँमा उद्योग स्थापना गर्नका लागि पूवार्धार निर्माण चुनौती पूर्ण थियो। एथेष्ट बिजुली पाउन सहज थिएन, थोरै पूँजीले व्यवसाय गर्न सकिन्छ भन्ने मेरो बुझाई पनि गलत सावित हुन गयो।

उद्योग गर्नका लागि आवश्यक मेसिनको ढुवानी, कच्चा पदार्थको आपुर्ती आदि नेपालको विकट मानिने कर्णाली प्रदेशको गाउँमा व्यवसाय गर्न ठूलो चुनौतीहरुको सामना गर्दै अगाडि बढेँ । साबुन सबै वर्गका मानिसलाई दैनिक आवश्यक पर्छ भन्ने ज्ञान थियो र चाँडै खेर नजाने वस्तु भएकाले यही व्यवसाय गर्ने मेरो योजना आज सार्थक बन्दै गएको छ। 

साबुन विलासी वस्तु होइन भन्ने ज्ञान भएकोले गर्दा यस उद्योगबाट घाटा हुँदैन भन्ने विश्वासका साथ अगाडि बढिरहेको छु। विगत ३ वर्षदेखि एचके सोप इन्डस्ट्रीबाट तीन फरक तौलमा लेकबेसी नामको लुगा धुने साबुन उत्पादन गरिरहेको छु। यस उद्योगमा हालसम्म ५ करोड रूपैयाँ लगानी भैसकेको छ। वैदेशिक रोजगारीबाट आर्जन गरेको कमाई र बैंकको ऋणबाट लगानी जुटाएर लगानीको व्यवस्थापन गरेको छु। उद्योगमा अझै लगानी थप्नु पर्ने छ तर ऋण लिएर भन्दा उत्पादित साबुनको बिक्रीबाट आर्जन हुने पूँजीको परिचालन गर्दै जाने योजना बनाएको छु।

हाल उद्योगमा सात वटा मेसिन रहेका छन्। मेसिनबाट प्रतिघन्टा पाँच क्विन्टल साबुन उत्पादन हुन सक्छ तर बजारको आवश्यकता अनुसार उत्पादन  गर्दै जाने योजना रहेकोछ। प्रारम्भिक चरणका केहि वर्ष बजारको मागअनुसार मात्र उत्पादनमा ध्यान दिइरहेको छु। उत्पादन शुरू गरेको भर्खरै ३ वर्ष पुगेको छ। बजारको मागलाई ध्यानमा राखेर उत्पादन बढाउंदै जाने योजना बनाएको छु।

साबुन व्यवसायको पनि सिजन अनुसार व्यवसाय चल्ने रहेछ भन्ने पत्ता लगाएँ । यस विषयमा पनि व्यवसाय गर्दै जाँदा अनुभव भएको हो। मेरो बुझाई, साबुनको माग बाह्रै महिना एकैनासको हुन्छ भन्ने थियो तर चिसो मौसममा माग धेरै घट्ने बारेमा पत्ता लाग्यो। हाम्रो एचके सोप इन्डस्ट्रीको साबुन वीरेन्द्रनगरका बिक्रेता मार्फत कर्णालीका सबै जिल्लामा पुगेको छ। हाल मासिक औसत ३०-४०लाख रूपैयाँ सम्मको साबुन बजारमा पुग्ने गरेको छ र भविष्यमा बढ्दै जाने अपेक्षा लिएको छु। व्यापारीहरू सम्पर्कमा आउने क्रम पनि बढ्दै गएको छ। व्यापारी संख्या बढ्दै जाँदा उत्पादन बढाउँदै जाने योजना रहेको छ।

कर्णाली प्रदेशमा हाम्रो स्तरका अन्य साबुन उद्योग छैनन्, साना उद्योगहरु सञ्चालनमा रहेका छन्। हाम्रो प्रतिस्पर्धा गर्ने उद्योगहरु विराटनगर, भैरहवा, चितवन लगायतका क्षेत्र तथा भारतीय उद्योगहरुनै हुन्। हाल हाम्रो उद्योगमा १५ जना व्यक्तिले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन्। उत्पादन वृद्धिसँगै जनशक्ति थप्दै जाने योजना बनाएको छु। अपाङ्गताका कारण कामको अवसर नपाएका व्यक्तिलाई रोजगारी दिने योजना रहेको छ।

दैनिक रुपमा माग बढ्दै गएकोले नुहाउने साबुन, लिक्विड र सर्फ पनि चाँडै उत्पादन गर्ने योजना बनाएको छु। प्रतिघन्टा दुई सय किलो सर्फ उत्पादन क्षमताको मेसिन किन्ने प्रक्रियाले सार्थकता पाएको छ। वासिङ मेसिनमा चक्की साबुन प्रयोगमा नआउने हुनाले लिक्विड तथा पाउडर साबुन उत्पादनमा केन्द्रित भएर अगाडि बढेको छु। मागअनुसार सबै किसिमको साबुन उत्पादन गर्ने योजना बनाएर उद्योग शुरू गरेको हुँ। साबुन बनाउनका लागि आववश्यक पर्ने धेरै जसो कच्चा पदार्थ भारतबाटै आउने गरेको छ। नेपालमै कच्चा पदार्थ उत्पादन भइदिए हुन्थ्यो भन्ने चाहन्छु र भविष्यमा यस्ले सार्थकता पाउनेमा आशावादी छु। 

मेरो विचारमा नेपालमा व्यवसाय गर्नका लागि बैंकहरुले सहुलियत दरमा ऋण प्रवाह गरेमा उद्योग गर्न चाहने धेरै व्यक्तिलाई सकारात्मक सन्देश जाने थियो भन्ने लाग्छ। हालको आर्थिक मन्दीले पनि व्यवसायमा नकारात्मक असर गरेको छ। सरकारको तर्फबाट साना तथा मझौला व्यवसायीलाई सहयोग पुग्ने किसिमको निति नियम बनाएमा व्यवसाय गर्न थप हौशला मिल्ने थियो भन्ने लाग्छ।

अन्त्यमा, विदेशमा रोजगारीका लागि जानु भएका साथीहरुले मातृभूमि फर्किएर स–साना व्यवसायका माध्यमबाट रोजगारी सृजना गरिदिनु भएमा तपाईं हाम्रा सन्ततीलाई कामको खोजीमा विदेश जानु पर्ने बाध्यता हुने थिएन भन्ने लाग्छ। आज मैले विकट क्षेत्र कणार्लीमा साबुनको व्यवसायमा भविष्य खोज्दैछु। यस क्षेत्रमा व्यवसाय गर्नका लागि परामर्श चाहने वैदेशिक रोजगारीको अनुभव भएका साथीहरुलाई हाम्रो उद्योग भ्रमण गर्न पनि आग्रह गर्दछु। आज म साबुनले कर्णाली सफा गर्दैछु। तपाईं पनि कर्णाली क्षेत्रमा व्यवसायको माध्यमबाट रोजगारी सृजना गर्न सक्नु हुनेछ।   
(‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ नामक पुस्तकबाट । गणतन्त्र कोरिया र नेपालबीच कूटनीतिक सम्बन्धको ५० औं वर्षगाँठको अवसरमा नेपालमा रहेको गणतन्त्र कोरियाली दूतावासले कोरियामा रोजगारको अनुभवमा आधारित २६ वटा व्यवसायिक कथाहरु समावेश गरी ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ नामक पुस्तक प्रकाशन गरेको हो ।)
 



नयाँ