arrow

सुन आयातमा सुविधा कटौंती गर्दा कसलाई कति फाईदा ?

तस्करीमा कमि

logo
प्रकाशित २०७३ साउन १३ बिहिबार
airport-cargo.jpg.jpeg
काठमाडौंं । सरकारले आर्थिक वर्ष २०७३-७४ को सुरूवात अर्थात् साउन १ गतेदेखि विदेशबाट आउने व्यक्तिले ल्याउन पाउने सुनको परिणाममा भारी कटौती गर्‍यो । काँचो सुन त राजश्व तिरेर पनि ल्याउन नपाउने व्यवस्था ग¥यो । यसरी लागू गरेको १२ दिनपछि पुग्दा सुरूका तीन दिनमा ६ जनालाई नयाँ नियम विपरित सुन चाँदी ल्याएको आरोपमा पक्राउ पनि गरिसकेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ । 
 
यसरी ल्याएको नयाँ नियमबारे व्यवसायीहरू भने सन्तुष्ट छैनन् । यो नियम राजपत्रमा प्रकाशित भएकै भोलिपल्ट हाम्रा कुरा डटकमसँग कुराकानी गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले यो प्रणालीले सुनमा झनै तस्करी बढाउने भन्दै यसरी यात्रुलाई दिईने सुविधामा कटौंतीगर्न नहुने दाबी गरे । 
 
तर, यसमा सरकारी पक्ष भने सहमत छैन । विमानस्थल भन्सार कार्यालयका प्रमुख योगेन्द्र गौचन पहिलेको प्रक्रियाले गर्दा सरकारी राजश्वमा पनि कमि आएको र तस्करी पनि बढेकोले नयाँ नियम बनाउनु परेको दाबी गर्छन् । उनले काँचो सुन प्रतिबन्ध लगाउँदा यात्रुको सुविधा रोक्ने कोशिस गरेको सम्झिनु भन्दा पनि तस्करी रोक्ने नयाँ काइदाको रूपमा यसलाई लिनुपर्ने बताए । 
 
कसरी हुन्छ तस्करीमा कमि ?
 
विमानस्थल भन्सार कार्यालयका प्रमुख गौचनले उदाहरण दिँदै भने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक औषतमा ४० वटा अन्तराष्ट्रिय उडान हुने गर्दछ । प्रतिउडानमा औषत ८ सय जनाको दरमा मान्छेहरू आवतजावत गर्छन् । यसरी दैनिक ८ सय जनाले सुन आयात गर्दा ५० ग्रामको दरमा १० केजी काँचो सुन नै भन्सार छुटमा मासिक नेपाल भित्रिने गरेको छ । जबकी औषतमा ३५ केजी सुन मासिक नेपालमा माग भईरहेको हुन्छ । 
 
यसरी मागको एक चौथाई भन्दा बढी माग त भन्सार छुटमा नै आउने र बाँकी ४ सय ५० ग्राम सुन समेत समेटिँदा सबैभन्दा बढी मारमा बैंकहरू र राज्य स्वयं परिरहेको थियो । यस्तो नियमबाट राज्य र बैंकहरूलाई पनि केही फाइदा हुनसक्ने भन्सारले जनाएको छ । 
 
यात्रुहरूले यसरी धेरै सुन चाँदी आफैं ल्याउँदा गत असार र चैत महिनामा त बैंकहरूको लागि सुन आयात हुन नै नसकेकोले पनि यसमा सरकारले कडाई गरेको हुनसक्ने कार्यालयले अनुमान गरेको छ । यद्यपि भन्सार नीति निर्माण गर्ने नभई कार्यान्वयन गर्ने निकाय मात्रै रहेकोले यस विषयमा स्पष्ट बोल्न नसकिने उनको भनाई थियो ।  
 
अर्काे तर्फ तस्करहरूले नयाँ बाटो अपनाउन थालेकोले पनि काँचो सुन ल्याउन प्रतिबन्ध लगाउनु परेको कार्यालयको बुझाई छ । तस्करहरूले विदेशबाट आउने सोझा यात्रुहरूलाई नेपाल आएपछि होटलमा बस्ने व्यवस्था मिलाउने र केही रकम पनि दिने प्रलोभनमा पारी सुन ल्याउने गरिरहेका छन् ।
 
 हामीले पक्राउ गरेकाहरूबाट बुझ्दा उनीहरूले उता पनि पैसा लिँदै गर्दा फोटो खिचेर नेपाली एजेण्टलाई पठाउने गरेका छन् । र त्यही फोटोको आधारमा नेपाली एजेण्डले विमानस्थलमा पुगेर सुन संकलन गर्ने र विक्री गर्ने गरेको पनि भेटिएको छ । 
 
कतिपय यस्ता घटनाहरूमा विमानस्थलमा नै संकलन गर्दै गर्दा एजेण्ट पक्राउ गरिएको घटना पनि रहेकोले पनि यसलाई बन्द गर्नु आवश्यक रहेको कार्यालयले जानकारी दिएको छ । त्यसैले यसरी काँचो सुन प्रतिबन्ध लगाउँदा विशेषगरी माफियाहरूको मनोमानी कम हुने विश्वास सरकारी पक्षको छ । यद्यपी सरकार यात्रुले प्राप्त गरेको अधिकार खोज्ने पक्ष्मा भने नरहेको पनि कार्यालयले स्पष्ट पारेको छ । 
 
समग्रमा भन्ने हो भने यसरी काँचो सुन प्रतिबन्ध लगाउँदा सबैभन्दा बढी फाईदा नेपाली बैंक र नेपाल सरकारलाई नै फाइदा हुने कार्यालयको दाबी छ । र सुन तस्करहरू यसबाट निरूत्साहित हुने पनि उनको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ