arrow

मुचुकुन्द प्रति कृपा

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७८ पुष १ बिहिबार
muchukund.jpg

भगवान् विष्णुको दश अवतार मध्ये सप्तम अवतार श्री रामचन्द्रलाई मानिन्छ । यिनी इक्ष्वाकुको कूलमा अवतरित भएका थिए । राजा मान्धाता पनि यिनको कूलमा नै जन्मेका थिए । मान्धाताको छोराको नाम थियो मुचुकुन्द । यिनी बल पराक्रमले पूर्ण थिए । पृथ्वीका राजाले यिनको प्रशंसा त गर्दथे नै स्वयं इन्द्र पनि यिनलाई सहायता गर्न तत्पर भइरहन्थे । 

एक पटकको कुरा हो राक्षसहरूले देवताहरूलाई अति नै दबाएका थिए । उनीहरूलाई सहायता दिने कोही पनि नभएकाले सबै देवता मिलेर मुचुकुन्दलाई सहायताका लागि अनुरोध गरे । उनले पनि देवताहरुको पक्षबाट रात दिन निद्रा माया मारेर असुरहरूसँग हजारौँ वर्षसम्म लडिरहे । 

यसरी लडी रहँदा स्वामी कार्तिकेयले जन्म लिए । यिनी शिवजीका छोरा थिए । यिनी योग्य भएपछि देवताहरुको सेनापति भए । उनी सेनापति भएपछि इन्द्रले मुचुकुन्दलाई उनले आफ्नो शरीरको, परिवारको कुनै पनि वास्ता नगरी देवताहरुको सेवामा लागेको कामको सराहना गर्दै मोक्ष बाहेक आफूले चाहेको अरू वर माग्न आग्रह गरे किनभने मोक्ष भनेको कुरा कसैले दिएर मात्र हुने होइन । 

इन्द्रले यति आग्रह गरे पनि मुचुकुन्दलाई पनि सांसारिक मायाको झल्को आएकोले इन्द्रको आग्रह स्वीकार गर्दै आफू यतिका वर्ष सम्म नसुतेकोले मस्त निद्रा आउने र कसैले निद्रा बिगार्न आयो भने ऊ भष्म भएर जाओस् भन्ने वर मागे ।
 
इन्द्रले उनको वर स्वीकार गरेर पृथ्वीमा गएर निदाउन आग्रह गरे । उनी एउटा गुफामा गएर मज्जासँग निदाउन लागे । उनलाई युग बितेको पत्तै भएन । द्वापर युग पनि आयो । उनी सुती रहे । यादवहरूले उसलाई जित्ने सम्भावना नै थिएन । उसले मथुरालाई घेरा हाल्यो । श्रीकृष्णको लीला नै ठहरियो, श्रीकृष्णलाई मुचुकुन्द माथि दया गर्नु थियो । उहाँले कालयवनलाई लखेट्दै जानु भयो । कालयवन ज्यान बचाउन गुफा भित्र पस्यो जुन गुफामा मुचुकुन्द निदाइ रहेका थिए ।
 
श्रीकृष्ण पनि त्यसै गुफामा पस्नु भयो र उसले नदेख्ने गरेर आफ्नो पीताम्बर मुचुकुन्दलाई ओढाइ दिनु भयो । कालयवनले भगवान् नै त्यसरी बसेको सम्झेर पीताम्बर उघाय्रो । मुचुकुन्दको निद्रा खलबली हाल्यो । उनको दृष्टि कालयवनमा पर्‍यो । ऊ तुरुन्त भष्म भई हाल्यो । 

श्रीकृष्णको तेजले गुफा उज्यालो भई नै रहेको हुनाले उनको आँखा तिरमिरायो, उनको वचन पनि रोकिन गयो । श्रीकृष्णले उनको उद्धार गर्ने उद्देश्यले नै यी सब रचना गर्नु भएको थियो । उनी कृष्णको चरणमा परे । कृष्णले उनलाई आफूले चाहेको वर माग्न आग्रह गर्नुभयो । 

मुचुकुन्द सांसारिक विषय वस्तुहरूबाट पर भइसकेका थिए । उनले सांसारिक वर मागेनन् । भगवान्सँग उनले मुक्ति मिल्ने वर माग्नु पर्ने थियो किनभने परमात्माको दर्शन पाएपछि त जन्म मरणको चक्करबाट मुक्त हुनु नै थियो तर उनले भक्तिको मात्र माग गरे । 

भगवान्‌ले उनको माग पूरा गरिदिनु भयो र उनी ब्राह्मण कूलमा जन्म लिएर अन्तमा परमात्माको उपासना गर्दा गर्दै परमात्मा नै विलीन भए । 
(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।) इमेल :aamodita@gmail.com   



नयाँ