- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
श्री शिवपुरी बाबाले आफ्नो उपदेशको क्रममा आज्ञा भएको थियो - 'मृत्यु जहिले पनि आइपुग्छ भन्ने भावना लिएर स्वधर्म पालना गर्दै जति सकेको चाँडो परमात्मा दर्शन गर्न उनकै चिन्तन, मनन गरिरहनुपर्छ ।'
उहाँले यस प्रसङ्गमा राजा खट्वांगको उदाहरण दिनु भएको थियो । जसरी राजा खट्वांगले सांसारिक माया मोहको वास्ता नगरीकन २ मुहूर्त परमात्मा चिन्तन गरेर उनको साक्षात्कार गरे त्यसरी नै तिमीहरूले पनि लगन भएर परमात्मा कै चिन्तन गर । आज यी नै राजा खट्वांगको छोटो प्रसङ्ग उल्लेख गर्न लागिएको छ ।
राजा खट्वांग सगर वंशमा पैदा भएका थिए । यिनको बाबुको नाम विश्वसह थियो । खट्वांग चक्रवर्ती राजा थिए । देवता र असुरहरूको लडाई बारम्बार परि नै रहन्थ्यो । जब दैत्यहरूले देवताहरूमा विजय प्राप्त गर्दथे तब देवताहरू यी राजाको आश्रयमा जान्थे । यिनी आफूमा आश्रितहरूलाई आफ्नो शक्तिले भ्याएसम्म शरण दिन तत्पर भइरहन्थे ।
एक पटक देवताहरुको प्रार्थना स्वीकार गरेर दानवहरूमा विजय प्राप्त गर्न यिनी स्वर्गमा गएका थिए । देवताहरू यिनीसँग खुसी भए अनि पृथ्वी लोकमा फर्कने वेलामा देवताहरूले आफूले चाहेको वर माग्न आग्रह गरे । यिनी परम ज्ञानी थिए ।
यिनलाई देवताहरूले नश्वर भोग मात्र दिन सक्ने तर परमार्थ सम्बन्धी विषय दिन सक्ने कुरा थाहा थियो । उनले आफ्नो आयु कति हुने हो, मृत्यु कहिले आउने हो, केही ठेगाना छैन, त्यसैले आफ्नो आयु बुझेर त्यही अनुसार वर माग्ने विचार गरे । उनले देवताहरूलाई आफ्नो आयु कति हुने हो, बताइदिनु पर्यो भनी आग्रह गरे ।
देवताहरूले उनको आग्रह सुनेर आयु हिसाब गर्दा जम्मा दुई घडी मात्र बाँकी रहेको कुरा बताए । दुई घडी मात्र बाँकी समयमा के कसरी कति भोग्ने त्यसैले अव पृथ्वी लोकमा गएर परमात्मा चिन्तनमै आफूलाई डुबाउने पक्का गरे ।
खट्वांगको सोचाइ ठिक नै भयो । उनी नदीमा स्नान गर्न गए अनि नदी किनारमा बसेर उनी समाधिमा मग्न भए, कुन वेलामा उनको शरीरबाट प्राण पखेरु उडेर गयो पत्तै पाएनन् र उनी यसरी संसारबाट पार तरेर गए । (तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।) इमेल :aamodita@gmail.com