मासिक चार हजार रुपैयाँ दिएर ज्येष्ठ नागरिकका समस्या समाधान हुँदैनन् : कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
1.4k
Shares
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को परिभाषाअनुसार ६० वर्ष उमेर माथिका व्यक्तिलाई ज्येष्ठ नागरिक भनिएको छ । यो उमेर समूह अन्तर्गत नेपालमा २७ लाख बढी ज्येष्ठ नागरिक छन् । तर यी समुदायका व्यक्तिहरूको अवस्था दयनीय छ । राज्यको उपेक्षामा परेको छ । कानुनी र नीतिगत प्रावधानको प्रभावकारी कार्यान्वयन नहुँदा हेपिनु परेको छ । सम्मानजनक व्यवहार र सहज जीवनयापन गर्न पाइरहेका छैनन् ।
स्वास्थ्य सेवा, यातायात सेवालगायत अन्य सार्वजनिक सेवामा प्रदान गरिने सहुलियतको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । ज्येष्ठ नागरिकलाई घर, परिवार एवं समाजबाट आदर, सम्मान र संरक्षण सुनिश्चित गर्न राज्यले नै प्रभावकारी काम गर्न नसक्दा समस्याहरू देखिएका छन् । मातृदेवो भवः पितृदेवो भवः भनी आफ्नो परिवारले ज्येष्ठ नागरिकको मर्यादित, सम्मानित र सुखी जीवनतर्फ प्रेरित गर्न सकेको छैन । हरेक वर्ष साढे तीन प्रतिशतका दरले ज्येष्ठ नागरिकको सङ्ख्या वृद्धि हुँदै गइरहे पनि यसतर्फ राज्यको ध्यान पुग्न सकेको छैन ।
हुन त नेपाल सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नै स्थापना गरेर काम गर्दै आए पनि त्यो प्रभावकारी देखिएको छैन । मन्त्रालयले ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरी सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकका लागि दुई वटा सिट आरक्षण गरिएको, भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयन भएको, सार्वजनिक स्थानमा ज्येष्ठ नागरिकले राजस्व तिर्दा वा मठ–मन्दिरमा लाइन बस्नु नपर्ने व्यवस्था कार्यान्वयन हुँदै आएको, सरकारी अस्पतालमा ज्येष्ठ नागरिकलाई उपचार गर्दा औषधोपचारमा सहुलियत प्रदान गर्ने कार्य कार्यान्वयनमा आएको दाबी गरे पनि त्यो प्रभावकारी देखिएको छैन । यसै विषय बस्तुमा केन्द्रित रही ज्येष्ठ नागरिकहरूको क्षेत्रमा एक दशकदेखि काम गर्दै आइरहेको एजिङ नेपालका संस्थापक अध्यक्ष कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’सँग हाम्राकुरा डटकमका युवराज गौतमले गरेको छोटो कुराकानी :
एक दशकको तपाईँको अध्ययनले नेपालमा ज्येष्ठ नागरिकहरूको अवस्था कस्तो पाउनुभयो ?
ज्येष्ठ नागरिकको अवस्था अन्य सामान्य नागरिकको अवस्था जस्तै छ । ज्येष्ठ नागरिक भनेका देशका विशेष नागरिक हुन भन्ने परिपाटीको विकास हुनै सकेको छैन । देशमा विकासका संवाहकका रूपमा ज्येष्ठ नागरिकलाई लिन सकिए पनि त्यो अवस्था नेपालमा छैन । राज्यले आफ्नो कर्तव्य सम्झेर भूमिका निर्वाह गर्न सकिरहेको छैन । उनीहरूले योगदान पुर्याएबापत उचित सम्मान गर्न सकेको छैन । ज्येष्ठ नागरिकलाई दया र दानका रूपमा मात्र हेरिरहेको पाइन्छ । किनकि बृद्धभत्ता वृद्धि गरेर मात्र यी नागरिकहरूको सम्मान हुँदैन ।
बृद्धभत्ता बढाउनु भनेको त राज्यको दायित्व हो । कर्तव्य हो । र त्यो प्राप्त गर्ने ज्येष्ठ नागरिकहरूको अधिकार हो । यसरी दान द्रव्यका रूपमा मात्र हेर्न मिल्दैन । मासिक चार हजार रुपैयाँ दिएर ज्येष्ठ नागरिकका समस्या समाधान हुँदैनन् । नेपालमा वाल अस्पताल, महिला अस्पताल छन् तर प्रौढ अस्पताल छैनन् । बेग्लै अस्पताल व्यवस्था नै छैन । यसमा सरकार चुकेको छ । ज्येष्ठ नागरिक भनेका विशेष शारीरिक अवस्थाका भएकाले सोही किसिमका डाक्टर अभाव छ । भएका अस्पतालमा विशेषज्ञ स्वास्थ्यकर्मी र डाक्टर छैनन् । विशेष: जेरीयाट्रिक डाक्टर नै छैनन् । जेरीयाट्रिक डाक्टर त नेपालमा पाँच जना मात्र रहेछन् । ती पनि कोही विदेश पलायन हुने तरखरमा छन् । अस्पताल र विशेषज्ञ डाक्टर अभाव हुँदा ज्येष्ठ नागरिक त्यही पीडित हुनुपरेको छ । सरकार मात्र होइन नागरिक पनि सचेत नहुँदा समस्या आउने गरेको छ । नेपालमा अस्पतालमा वार्ड मात्र व्यवस्था छ तर डाक्टर छैनन् । यहाँ नै राज्य चुकेको छ । ऐन कानून बनाए पनि पूर्ण कार्यान्वयन छैन । यी विविध समस्याका कारण ज्येष्ठ नागरिकहरू प्रताडित बन्नु परिरहेको छ ।
नेपालमा ज्येष्ठ नागरिकहरूले धेरै घरेलु हिंसा सहनुपरेको खबरहरू आइरहेका छन् । यहाँको अध्ययनले के देखाउँछ ?
हामीले गरेको अध्ययनले घरेलु हिंसा विभिन्न प्रकृतिले हुने गरेको पाएका छौं । ज्येष्ठ नागरिकलाई कहीँ काम नलाग्ने बनाएर राखिएको छ । ज्येष्ठ सम्बन्धी नागरिक शिक्षा नै छैन । वाल शिक्षा भएजस्तै ज्येष्ठ नागरिक शिक्षा छैन । ज्येष्ठ नागरिक शिक्षा नहुँदा निरक्षर रहनुपर्ने र हिंसा सहनुपर्ने बाध्यता छ । परनिर्भर भएर बाँच्नुपर्दा हेपिनु परेको छ । घर वा भान्सामा नयाँ प्रविधिहरू भित्रिएका छन् तर ती नयाँ प्रविधिहरूबारे तालिम दिने गरिएको छैन । उनीहरूका सन्तानले नै प्रविधि चलाउन नजान्ने भनेर हेप्ने गरेको पाइन्छ ।
परनिर्भर हुँदा गाली खानुपर्ने र मन दुखाउनु पर्ने अवस्था । अक्षर चिन्न सक्ने अवस्था सिर्जना नहुँदा अशिक्षाका कारण हेपिनुपर्ने अवस्था छ । सन्तान साथै समाजले नै अपहेलित गरेकाले परनिर्भर भएर बाँच्नु पर्ने अवस्था छ । त्यस्तै ज्येष्ठ नागरिकलाई शारीरिक, मानसिक, आर्थिक दुर्व्यवहार व्यापक छ । ६० नाघेका महिलाहरूमाथि यौन दुर्व्यवहार हुने गरेको छ भन्दा अचम्म लाग्छ तर यौन हिंसा व्यापक छ । यौन दुर्व्यवहारबाट प्रताडित प्रौढ महिलाहरू । यस्तो घटना दिनहुँ बढ्दो छ । बेवारिसे लाशको तथ्याङ्क बढ्दो छ । १० वर्ष अघि मासिक २ देखि ६ जनाको बेवारिसे लाश भेटिन गरेको भए पनि अहिले २०–२२ जनासम्म भेटिने गरेको पाइन्छ । यसले पनि दुर्व्यवहार बढेको देखाउँछ ।
अहिलेका ज्येष्ठ नागरिक भन्दा पनि अब हुने ज्येष्ठ नागरिकहरूको अवस्था झनै भयावह हुने अवस्था छ । यसका लागि समाजमा परिवर्तन गर्नु जरुरी देखिसकेको छ । त्यसैले समाज सचेत हुनु जरुरी छ । सरकारको मात्र भर परेर बस्दा अवस्था झनै जटिल बन्ने देखिँदै छ । हरेक नागरिक सचेत र जागरूक भएर काम गर्नुपर्ने अवस्था आएको छ । ज्येष्ठ नागरिकहरू पत्रकारिता क्षेत्रबाट नै अपहेलित छन् । उनीहरूको क्षेत्रमा काम गर्ने वा विधागत पत्रकारिता गर्ने पत्रकारको अभाव छ । मिडिया हाउसहरूको प्राथमिकतामा यी नागरिकहरू पर्न सकिरहेका छैनन् । साँच्चै भन्ने हो भने राज्यको हरेक तह र तप्काबाट हेपिएका छन् । समाज विकासका काममा पनि ज्येष्ठ नागरिक विकास कार्यक्रम छैनन् । प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ज्येष्ठ नागरिकहरू हेपिनु परेको छ ।
स्थानीय तहले संविधानले दिएको अधिकार कार्यान्वयन गर्दै र नयाँ योजनाहरू त ल्याइरहेका छन् नि ?
केही केही स्थानीय तहले सकारात्मक काम शुरु गरेका छन् । तर ती पर्याप्त होइनन् । ज्येष्ठ नागरिकलाई भेला गराएर र फुलमाला लगाएर सम्मान गर्ने अनि त्यसलाई ठुलो उपलब्धि मान्ने प्रचलन छ । यसरी हुँदैन ठोस कामहरू चाहिन्छ । सम्मानजनक रूपमा समाजमा बाँच्न सक्ने अवस्था निर्माण गर्नुपर्छ । नागरिकहरूलाई सचेत गराइनुपर्छ र ज्येष्ठ नागरिकलाई हुने गरेका दुर्व्यवहार लाई न्यूनीकरण गरिनुपर्छ । स्थानीय तहका योजना र नीतिहरू ज्येष्ठ नागरिकमैन्त्री हुनुपर्छ । गाउँ शहरमा खुलेका कतिपय वृद्धाश्रमहरू पनि व्यापार केन्द्रित भएका छन् । व्यवस्थित र मर्यादित छैनन् । आधारभूत आवश्यकता नै पूर्ति गर्न सक्दैनन् । ज्येष्ठ नागरिकलाई वृद्ध आश्रम पुर्याउनु नै हेपिनु हो । झन् आश्रमहरूको अवस्था दयनीय छ ।